डब्ल्यूएचओ प्रमुखले भेनेजुएलाको पहिलो भ्रमणमा स्वास्थ्य सहयोगको प्रतिबद्धता
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस अधानोम घेब्रेयससले शुक्रबार भेनेजुएलाका अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजसँग भेट गर्नुभएको छ।
यो संयुक्त राष्ट्रसङ्घीय निकाय डब्ल्यूएचओका प्रमुखको भेनेजुयलामा भएको पहिलो आधिकारिक भ्रमण हो । डब्ल्यूएचओले भनेजुयलामा देशभित्रै औषधि र खोप उत्पादनलाई सहयोग गर्ने तथा सार्वजनिक स्वास्थ्य प्रणाली सुदृढ पार्ने प्रयासलाई समर्थन गर्ने जनाएको छ ।
अस्पतालहरूमा चिकित्सा सामग्रीको अभाव र पूर्वाधार बिग्रिएका कारण स्वास्थ्य प्रणाली सङ्कटमा छ । “यो विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशकले भेनेजुएला भ्रमण गरेको पहिलो पटक हो, र उहाँलाई यहाँ पाएर हामी निकै खुसी छौँ,” भेनेजुएलाका स्वास्थ्य मन्त्री कार्लोस अल्वाराडोले राष्ट्रपतीको कार्यालयमा पत्रकारहरूसँग बताउनुभयो ।
डब्ल्यूएचओ वा भेनेजुएलाका अधिकारीहरूले कुनै निश्चित रकम वा लगानीको उल्लेख भने गरेनन् ।
गत बर्ष अमेरिकी कब्जामा पुगेपछि पदच्युत राष्ट्रपति निकोलस मादुरोको डब्ल्यूएचओसँग वर्षौँदेखि तनावपूर्ण सम्बन्ध थियो ।
स्वास्थ्य तथ्याङ्कसम्बन्धी असहमति र देशमा कुनै स्वास्थ्य सङ्कट स्वीकार्न अस्वीकार गरेका कारण यस्तो भएको थियो । मादुरोलाई जनवरीमा अमेरिकी सैन्य अपरेसनमा पक्राउ गरिएको थियो र त्यसयता वासिङ्टन समर्थित अन्तरिम सरकारले विभिन्न अन्तर्राष्ट्रिय सङ्गठनहरूसँग सम्बन्ध पुनः सुरु गरेको छ ।
सम्बन्ध पुनः स्थापनाका लागि डब्ल्यूएचओका प्रतिनिधिहरू बिहीबार आइपुगेका थिए र सरकारी अधिकारीहरूसँगै काराकासको एउटा खोप प्लान्ट तथा अस्पतालहरूको भ्रमण गरेका थिए । डब्ल्यूएचओले भनेजुयलालाई स्थानीय खोप उत्पादनमा सहकार्यका अतिरिक्त वैज्ञानिक अनुसन्धानमा पनि सहयोग गर्ने जनाएको छ । अधिकारिहरूले क्षेत्रीय ‘प्यान अमेरिकन हेल्थ अर्गेनाइजेसन (पाहो)’ सँगको संयुक्त प्रयासअन्तर्गत अर्को सातादेखि राष्ट्रिय खोप तालिकामा नयाँ खोपहरू थपिने र केही पुराना खोपहरू पुनः सुरु गरिने घोषणा गरेका छन् ।
