Friday 27th of November | २०८३ मङ्सिर ११ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

शान्तिरक्षक फर्कंदै, दक्षिणी लेबनानको सुरक्षा अन्योलमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ११ शुक्रबार | (रासस-एपी)

नकौरा (लेबनान), ११ मङ्सिर : दक्षिणी लेबनानमा करिब पाँच दशकदेखि तैनाथ संयुक्त राष्ट्रसङ्घीय अन्तरिम शान्ति सेना (युनिफिल) आगामी डिसेम्बरको अन्त्यदेखि फिर्ता हुने भएपछि क्षेत्रको सुरक्षा व्यवस्थाबारे अन्योल बढेको छ ।

इजरायली सेनाको कब्जा, हिजबुल्लाहको निःशस्त्रीकरण विवाद र लेबनानी सेनाको सीमित क्षमताका कारण शान्तिरक्षकको बहिर्गमनपछि सुरक्षा रिक्तता उत्पन्न हुने चिन्ता छ ।

युनिफिलले जनवरी १ देखि आफ्ना सात हजार पाँच सय शान्तिरक्षकलाई चरणबद्ध रूपमा फिर्ता लैजाने तयारी गरेको छ ।

कमान्डर मेजर जनरल डियोडाटो अबग्नाराका अनुसार युनिफिलको जिम्मेवारी हिजबुल्लाहलाई निःशस्त्रीकरण गर्नु नभई लेबनानी सेनालाई दक्षिणी क्षेत्रमा नियन्त्रण स्थापित गर्न सहयोग गर्नु हो ।

उहाँले शान्तिरक्षक गएपछि सुरक्षा रिक्तता हुन नदिनु महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।

लेबनानले युनिफिलको उपस्थिति कायम राख्न चाहे पनि राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले गत वर्ष सन् २०२६ को अन्त्यमा यसको कार्यादेश समाप्त गर्ने निर्णय गरेको थियो । पछिल्ला युद्धमा द्वन्द्व रोक्न नसके पनि दक्षिणी लेबनानका बासिन्दाले शान्तिरक्षकको उपस्थितिले सुरक्षा अनुभूति गराएको बताएका छन् ।

इजरायलले दक्षिणी लेबनानको ठूलो भूभाग कब्जा गरेको र दर्जनौँ गाउँ ध्वस्त पारेको छ । कब्जामा रहेका क्षेत्रमा करिब ११ हजार मानिस अझै बसोबास गरिरहेका छन् ।

उनीहरूलाई अन्य क्षेत्रसँग जोड्न युनिफिलको सुरक्षा अनुरक्षण आवश्यक पर्ने गरेको छ । हिजबुल्लाहलाई निःशस्त्रीकरण गरेपछि इजरायली सेना फिर्ता गर्ने लेबनान र इजरायलबीचको सहमति पनि कार्यान्वयन हुन सकेको छैन ।

लेबनानी राष्ट्रपति जोसेफ आउनले युनिफिलको कार्यादेश विस्तार गर्नुपर्ने बताउनुभएको छ । फ्रान्सले नयाँ अन्तर्राष्ट्रिय सुरक्षा बल गठन गर्ने प्रस्ताव तयार गरिरहेको छ भने अमेरिकाले नागरिक सुरक्षा बल वा निजी सुरक्षा ठेकेदार परिचालन गर्ने विकल्प अघि सारेको छ । लेबनानले भने निजी सुरक्षा बल र इजरायली सेनासँग प्रत्यक्ष सैन्य समन्वयको विरोध गरेको छ ।

यसैबीच, हिजबुल्लाहको निःशस्त्रीकरण पनि चुनौतीपूर्ण बनेको छ । लेबनानी सेनाले गत जनवरीमा लिटानी नदीको दक्षिणी क्षेत्रमा हिजबुल्लाहका हतियार हटाउने काम पूरा भएको घोषणा गरे पनि समूहले देशका अन्य क्षेत्रमा रहेका हतियार त्याग्न अस्वीकार गर्दै आएको छ । बलपूर्वक निःशस्त्रीकरण गर्न खोजिए प्रतिरोध गर्ने चेतावनीसमेत उसले दिएको छ ।

हिजबुल्लाहले राष्ट्रसङ्घबाट स्वीकृत अन्तर्राष्ट्रिय सुरक्षा बलको उपस्थितिलाई स्वीकार गर्न सकिने बताए पनि निजी सुरक्षा ठेकेदार वा इजरायली कब्जालाई सहयोग गर्ने शक्तिको विरोध गरेको छ ।

इजरायलको सैन्य उपस्थिति र हिजबुल्लाहको हतियारसम्बन्धी विवाद समाधान नभएकाले युनिफिलको बहिर्गमनपछि दक्षिणी लेबनानको सुरक्षा कसले सम्हाल्ने भन्ने प्रश्न अनुत्तरित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan