Saturday 28th of November | २०८३ मङ्सिर १२ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विवाहपञ्चमीको निम्तो बोकेर जनकपुरधामबाट अयोध्या प्रस्थान गर्‍यो टोली

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १२ शनिबार | (रासस)

जनकपुरधाम, १२ मङ्सिरः त्रेतायुगीन राम–सीता विवाहको पौराणिक परम्परालाई पुनःजीवन्त बनाउँदै जनकपुरधाममा मनाइने विवाह पञ्चमी महोत्सवको निम्तो दिन यहाँबाट आज एक टोली भगवान् श्रीरामको जन्मभूमि अयोध्या प्रस्थान गरेको छ ।

    जानकी मन्दिर, जनकपुरधाम उपमहानगरपालिका, विश्व हिन्दू परिषद् तथा नागरिक समाजका प्रतिनिधि सम्मिलित टोली अयोध्या–जनकपुरधाम सञ्चालन भएको सरयू–कमला एक्सप्रेस रेलमार्फत अयोध्या गएको हो ।

    टोलीले अयोध्या पुगेर विवाह पञ्चमी महोत्सवमा सहभागी हुन भगवान् श्रीरामको जन्मभूमिका बासिन्दा तथा धार्मिक अगुवालाई औपचारिक निमन्त्रणा दिने कार्यक्रम रहेको विश्व हिन्दू परिषद् धनुषाका अध्यक्ष सन्तोष साहले जानकारी दिनुभयो । निमन्त्रणासँगै विवाह पञ्चमीमा जनकपुरधाममा हुने धार्मिक तथा सांस्कृतिक कार्यक्रमबारे जानकारी गराइने उहाँले बताउनुभयो ।

    जनकपुरधामका नगरप्रमुख मनोजकुमार साहले विवाहपञ्चमी महोत्सवले जनकपुरधाम र अयोध्याबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने बताउनुभयो । उहाँले राम–सीताको वैवाहिक सम्बन्धसँग जोडिएका यी दुई पवित्रस्थलबीचको ऐतिहासिक सम्बन्धलाई निरन्तरता दिन निमन्त्रणा टोली अयोध्या प्रस्थान गरेको जानकारी दिनुभयो ।

    त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको विवाहका लागि अयोध्याका राजा दशरथलाई निमन्त्रणा पठाएको पौराणिक मान्यतासँग जोडिएको परम्परालाई पुनःजीवन्त बनाउने उद्देश्यले टोली अयोध्या गएको उहाँको भनाइ छ ।

    टोलीले विवाह पञ्चमी महोत्सवको निमन्त्रणासँगै फलफूल, गरगहना, भाँडाकुँडालगायतका सामग्री समावेश गरिएको भारसमेत लिएर गएको छ । मिथिलाको वैवाहिक संस्कारमा बेहुलापक्षलाई सम्मानपूर्वक भार तथा उपहार पठाउने परम्परा रहिआएको छ । 

    जनकपुरधाममा प्रत्येक वर्ष मङ्सिर शुक्ल पञ्चमीका दिन राम–सीताको विवाहको स्मरणमा सप्ताहव्यापी रूपमा विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ । महोत्सवका क्रममा राम–सीताको स्वयंवर, तिलकोत्सव, मटकोर, शुभविवाह, रामकलेवा लगायतका धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुँदै आएका छन् ।

    विवाह पञ्चमी महोत्सवमा नेपाल तथा भारतका हजारौँ श्रद्धालु सहभागी हुने गरेका छन् । विशेषगरी अयोध्याबाट जन्ती आउने र जनकपुरधाममा मिथिलाको परम्पराअनुसार स्वागत तथा विवाह उत्सव मनाउने चलनले यस महोत्सवलाई विशिष्ट धार्मिक तथा सांस्कृतिक महत्व प्रदान गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan