Friday 7th of August | २०८३ श्रावण २२ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

डेङ्गीविरुद्ध ‘खोज र नष्ट गर’ अभियान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २१ बिहीबार | (रासस)

गण्डकी, २१ साउनः साउन लागेयता बागलुङमा डेङ्गी सङ्क्रमितको सङ्ख्या २४१ पुगेको छ । डेङ्गी सङ्क्रमण तीव्र भएपछि आजदेखि जिल्लामा ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको हो ।

    डेङ्गी फैलाउने लामखुट्टेको बासस्थान नष्ट गरी जीवनचक्र खल्बल्याउन उक्त अभियान सुरु गरिएको गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले बताउनुभयो । “टोल र समुदायस्तरमा डेङ्गीको सङ्क्रमण नियन्त्रणका लागि सचेतना जगाउन अभियान सुरु गरिएका हो”, उहाँले भन्नुभयो, “डेङ्गी नियन्त्रण तथा रोकथामका लागि हरेक व्यक्ति र परिवार जिम्मेवार हुनुपर्छ ।” 

    जनस्वास्थ्य कार्यालयको अगुवाइ तथा बागलुङ नगरपालिकाको स्वास्थ्य शाखालगायत विभिन्न सङ्घसंस्था र नागरिक समूहको संयुक्त पहलमा उक्त अभियान सञ्चालन हुने जनाइएको छ । 

    डेङ्गी सार्ने ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टे जमेको सफा पानीमा बस्ने हुँदा घर, कार्यालय र सार्वजनिक स्थलमा पानी जम्न दिन नहुने प्रमुख शर्माको भनाइ छ । 

    डेङ्गीको भाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, भाँडाकुँडा, ड्रम आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गनुपर्ने जनस्वास्थ्य प्रमुख शर्माले बताउनुभयो । डेङ्गी सङ्क्रमण नियन्त्रणका लागि स्थानीय समुदायकै बढी भूमिका हुने उहाँको भनाइ छ । 

    डेङ्गीको सङ्क्रमणबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सकको सुझाव छ । सङ्क्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुनसक्ने भएकाले उक्त रोग सार्ने लामखुट्टेको टोकाइबाट बच्नु डेङ्गीबाट बच्ने उत्तम उपाय भएको उहाँहरूको भनाइ छ । 

    डेङ्गी सङ्क्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकानजस्ता लक्षण देखिए चिकित्सकको विशेष निगरानीमा उपचार गर्नुपर्ने प्रमुख शर्माले बताउनुभयो । डेङ्गी भएमा आराम गर्ने, पानीलगायत झोलिलो प्रशस्त पदार्थ पिउने र जथाभावी औषधि सेवन गर्न नहुने प्रमुख चिकित्सक बताउँछन् । 

    असारदेखि कात्तिकसम्म डेङ्गीको सङ्क्रमण बढी फैलने गर्छ । समयमा जोखिम न्यूनीकरण र नियन्त्रण गर्न नसके डेङ्गीले महामारीको रुप लिनसक्ने शर्माले बताउनुभयो । “चार प्रकारको भाइरसबाट मानिसमा डेङ्गी सङ्क्रमण हुने गरेको छ । डेङ्गी सार्ने ‘एडिस एजिप्टाई’ जातको लामखुट्टले जम्मा भएको सफा पानीमा फूल पार्ने र लार्भा जन्माउने गर्छ । यो लामखुट्टेले दिनमा मात्र टोक्ने भएकाले आवश्यक सर्तकता अपनाउन जरुरी छ”, उहाँले भन्नुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan