Saturday 15th of August | २०८३ श्रावण ३० शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

धुलिखेल अस्पतालमा स्वास्थ्य बिमा सेवा पुनः सञ्चालन हुने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २९ शुक्रबार | रासस

काभ्रेपलाञ्चोक, २९ साउनः जिल्लाको धुलिखेल सामुदायिक अस्पतालले आगामी भदौ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत बहिरङ्ग (ओपिडी) सेवा पुनः सञ्चालन गर्ने भएको छ । ओपिडीबाहेकका अन्य सेवा भने तत्काल बिमाअन्तर्गत सञ्चालन नहुने अस्पताल प्रशासनले जनाएको छ ।

    धुलिखेल अस्पतालले सङ्घीय सरकारको स्वास्थ्य बिमा बोर्डबाट निर्धारित स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत सेवा प्रदान गर्दै आएको थियो । तर, बोर्डबाट सेवा प्रदान गरेवापत पाउनुपर्ने भुक्तानी लामो समयदेखि प्राप्त नभएपछि अस्पतालले गत असार १५ गतेदेखि स्वास्थ्य बिमा सेवा पूर्णरूपमा स्थगित गरेको थियो ।

    अस्पतालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा स्वास्थ्य बिमा बोर्डबाट प्राप्त हुनुपर्ने रकममध्ये रु आठ करोड भुक्तानी प्राप्त भएको जनाउँदै आगामी भदौ १ गतेदेखि ओपिडी सेवा पुनःसञ्चालन गर्न लागेको उल्लेख गरेको छ । 

    अस्पतालका अनुसार स्वास्थ्य बिमा बोर्डबाट करिब रु १७ देखि २० करोड भुक्तानी प्राप्त गर्न बाँकी रहेको धुलिखेल अस्पतालका स्वास्थ्य बिमा कार्यक्रमका स्रोतव्यक्ति प्रा डा बलराम मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी बक्यौता रकम आगामी भदौ मसान्तसम्म भुक्तानी हुने आश्वासन प्राप्त भएको छ ।

    स्वास्थ्य बिमा सेवा लिन आउने सेवाग्राहीले यसअघि जस्तै आफू आबद्ध भएको साबिकको प्रथम सेवा बिन्दुबाट जारी गरिएको प्रेषण (रिफरल) पूर्जी अनिवार्य रूपमा ल्याउनुपर्नेछ । ओपिडीअन्तर्गतको स्वास्थ्य बिमा सेवा आइतबार तथा सार्वजनिक बिदाका दिन सञ्चालन नहुने अस्पतालले जनाएको छ ।

    बोर्डबाट अस्पतालले पाउनुपर्ने रकम नियमित रूपमा भुक्तानी भएमा सेवा सञ्चालनमा सहजता आउने स्रोतव्यक्ति प्रा डा मल्लले बताउनुभयो । लामो समयदेखि रोकिएको स्वास्थ्य बिमा सेवा पुनःसञ्चालन भएपछि बिरामीको स्वास्थ्य सेवामा पहुँच सहज हुने अपेक्षा गरिएको छ ।

    यसैबीच स्वास्थ्य बिमामार्फत ओपिडी सेवा लिन आउने बिरामीका लागि रु २५ हजारसम्मको अधिकतम सीमा रहेको उहाँले जानकारी दिनुभयो । उक्त सीमाभित्र रहेर मात्र उपचार सेवा लिन अस्पतालले सेवाग्राहीलाई अनुरोध गरेको छ ।

    स्रोतव्यक्ति प्रा डा मल्लका अनुसार हाल दैनिक एक हजार २०० बिरामीलाई सेवा दिँदै आएको अस्पतालले स्वास्थ्य बिमाका सेवाग्राही थपिएपछि दैनिक एक हजार ५०० भन्दा बढी बिरामीलाई सेवा दिन सकिने गरी तयारी गरिरहेको छ । अन्य सेवा सञ्चालनका लागि बोर्डसँग बिमा दाबी भुक्तानीका विषयमा छलफल भइरहेकाले सोपश्चात टुङ्गो लाग्ने उहाँले बताउनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan