Monday 24th of August | २०८३ भदौ ८ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ८ सोमबार | (रासस)

काभ्रेपलाञ्चोक, ८ भदौः काभ्रेलाई नसर्ने रोगको सिकाइ केन्द्र बनाइने भएको छ । यसका लागि प्राथमिक स्वास्थ्य सेवा सुदृढ गर्दै जिल्लालाई राष्ट्रिय नमूना तथा सिकाइ केन्द्रका रुपमा विकास गर्ने विषयमा यहाँ प्रतिबद्धता जनाइएको छ । 

    सो विषयमा संवाद तथा नीतिगत छलफलमा जिल्लाका १३ वटै स्थानीय तहका प्रमुखले यस्तो प्रतिबद्धता पनि जनाएका छन् । स्वास्थ्य सेवा विभाग, नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखा प्रमुख डा पोमावती थापाले काभ्रेपमा नसर्ने रोगको रोकथाम तथा व्यवस्थापनका क्रममा हालसम्म प्राप्त उपलब्धि, अनुभव र सिकाइबारे कार्यपत्र प्रस्तुत गर्दै यसबाट उच्च रक्तचापबाट उत्पन्न हुनसक्ने जटिलता न्यूनीकरणमा सहयोग पुगेको बताउनुभयो । 

    विसं २०७९ भदौ १७ गतेदेखि सुरु गरिएको अभियानअन्तर्गत जिल्लाका १३ वटै स्थानीय तहका १६७ स्वास्थ्य संस्थाबाट उच्च रक्तचापका बिरामीको पहिचान, उपचार र निगरानी भइरहेको जनाइएको छ । स्थानीय सरकार र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को सहयोगमा ६१८ स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिसकिएको छ भने जिल्लाका करिब १० हजार व्यक्ति नियमित रुपमा उच्च रक्तचापको औषधि सेवन गरिरहेका छन् । 

    जिल्लामा सुरु गरिएको यस नमूना कार्यक्रम नेपालमै पहिलो भएको र त्यसको अनुभवका आधारमा हाल पर्सा, बारा, कैलाली र इलाममा पनि विस्तार गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । आगामी दिनमा यस्तो कार्यक्रम क्रमशः अन्य जिल्लामा बिस्तार गर्ने तयारी रहेको विभागले जनाएको हो । 

    एक तथ्याङ्कअनुसार प्रत्येक वर्ष एक लाख ३७ हजारभन्दा बढी मानिसको मृत्यु नसर्ने रोगका कारण हुने गरेको र करिब ४७ लाख व्यक्ति उच्च रक्तचापको जोखिममा रहेका छन् । दक्ष स्वास्थ्यकर्मीमा आधारित सेवा, प्रोटोकलअनुसार उपचार, प्रभावकारी बिरामी प्रेषण प्रणाली, बिरामीको ‘ट्र्याकिङ’ तथा बिरामीको ‘फलोअप’, औषधिको नियमितता र आपूर्ति सुनिश्चिततालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ । 

    यस्तै, सङ्गठनका वरिष्ठ स्वास्थ्य नीति सल्लाहकार डा ग्याम्पो दोर्जीले काभ्रेको अनुभव अन्य जिल्लाका लागि महत्वपूर्ण हुने उल्लेख गर्दै बिरामीको नियमित रेखदेख तथा औषधिको निरन्तरतामा विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभएको छ । बाग्मती स्वास्थ्य मन्त्रालयका सचिव डा सुमित्रा गौतमले काभ्रेको सिकाई देशभर नमूना हुने तर्क गर्नुभएको छ ।

    छलफलमा उच्च रक्तचापको उपचारबाट लाभ लिइरहेका दुई सेवाग्राहीले स्वास्थ्यकर्मीको नियमित सेवा र आफूहरुको नियमित औषधि सेवनले आफूहरुले नयाँ जीवन पाएको सुनाउनुभयो । उहाँहरुले उच्च रक्तचापसम्बन्धी कार्यक्रमलाई प्रभावकारी बनाउन जनचेतनामूलक प्रचार–प्रसार अघि बढाउनसमेत सुझाउनुभएको छ । 

    ‘गोलमेच नीतिगत संवाद’ नामकरण गरिएको कार्यक्रममा नौबुँदे प्रतिबद्धतापत्रसमेत सार्वजनिक गरियो । प्रतिबद्धतापत्रमा नागरिकलाई स्वास्थ्य सेवाको केन्द्रमा राखिने, नसर्ने रोगसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिँदै सेवा बिस्तार गर्ने तथा तीन तह सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय–सहकार्य सुदृढ गर्ने र दिगो प्राथमिक स्वास्थ्य सेवा प्रणाली विकास गर्ने उल्लेख गरिएको छ ।

    यस्तै, काभ्रेलाई प्राथमिक स्वास्थ्य सेवाको राष्ट्रिय सिकाइ केन्द्रका रूपमा विकास गर्ने, स्रोत परिचालन तथा समन्वयमार्फत कार्यक्रमको दिगोपन सुनिश्चित गर्ने, तथ्य र परिणामका आधारमा जवाफदेहिता कायम गर्ने, राष्ट्रिय स्वास्थ्य–प्रणाली रुपान्तरणमा स्थानीय तहको नेतृत्व स्थापित गर्ने तथा जिल्लालाई राष्ट्रिय र अन्तरराष्ट्रिय सिकाइ तथा नमूना केन्द्रका रुपमा विकास गर्ने प्रतिबद्धता जनाइएको छ । प्रतिबद्धतापत्रमा काभ्रेपलाञ्चोकका १३ वटै स्थानीय तहका प्रमुखले हस्ताक्षर गरेका छन् ।

    विश्व स्वास्थ्य सङ्गठन, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, स्वास्थ्य तथा बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, काभ्रेका १३ स्थानीय तह र जिल्लस्थित जनस्वास्थ्य कार्यालयले स्वामित्व ग्रहण गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan