उर्लाबारी गट ट्यालेन्ट–२ को उपाधि ग्रिष थापालाई
उर्लाबारी । ग्रिष थापाले ‘उर्लाबारी गट ट्यालेन्ट सिजन–२’को उपाधि जितेका छन्। रोजी डान्स सेन्टरको आयोजनामा शनिबार उर्लाबारी–४ आइतबारेस्थित बशिष्ठ रिसोर्टमा सम्पन्न फाइनलमा थापा टाइटल विजेता बनेका हुन्।
उपाधिसँगै थापाले २५ हजार रुपैयाँ नगद, ट्रफी, मेडल, प्रमाणपत्र तथा ‘टोकन अफ लभ’ प्राप्त गरे।
नृत्य, गायन र मोडलिङ विधालाई समेटेर आयोजना गरिएको प्रतियोगितामा उर्लाबारी तथा आसपासका क्षेत्रबाट पाँच सयभन्दा बढी प्रतियोगी सहभागी भएका थिए। विभिन्न चरणको प्रतिस्पर्धापछि सिनियर र जुनियरतर्फ गरी ५९ जना प्रतियोगी फाइनलमा पुगेका थिए।
सिनियर नृत्यतर्फ सालिना श्रेष्ठ विजेता, सुजता घिसिङ उपविजेता र लमु डोल्मा तामाङ तेस्रो भए। जुनियर नृत्यतर्फ वोङ मो तामाङ विजेता, अंकिता राई उपविजेता र इस्तुति दियाली तेस्रो भए।
सिनियर मोडलिङतर्फ लोइस्मा राई विजेता, साइना खरेल उपविजेता र समीक्षा अधिकारी तेस्रो भए। जुनियर मोडलिङतर्फ साम्यम श्रेष्ठ विजेता, रियान्श सेनचुरी उपविजेता र अंशिया धिमाल तेस्रो भए।
त्यस्तै, सिनियर गायनतर्फ जेनिसा गहत राज विजेता, अनमोल परियार उपविजेता र एलिना पोख्रेल तेस्रो भए। जुनियर गायनतर्फ श्रेयन पोख्रेल विजेता, इस्मारिका शेर्मा उपविजेता र युगल दर्जी तेस्रो भए।
प्रतियोगिताका विभिन्न विधाका विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रो हुने प्रतियोगीले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। आयोजकका अनुसार प्रतियोगितामा सिनियर र जुनियरतर्फ गरी करिब २ लाख ५ हजार रुपैयाँ नगद पुरस्कार वितरण गरिएको थियो।
फाइनल कार्यक्रममा १ हजार ५ सयभन्दा बढी दर्शक तथा अतिथिको उपस्थिति रहेको आयोजकले जनाएको छ। प्रतियोगितामा १३ वर्षभन्दा माथिका प्रतियोगीलाई सिनियर र १२ वर्षमुनिका प्रतियोगीलाई जुनियर समूहमा विभाजन गरिएको थियो।
कार्यक्रममा उर्लाबारी नगरपालिकाकी उपप्रमुख मीना खतिवडा पौडेल प्रमुख अतिथि थिइन्। कार्यक्रमको अध्यक्षता रोजी डान्स सेन्टरका सञ्चालक रुपेन मग्रान्तिले गरेका थिए। गायनतर्फ सुरेश धिमाल, मोडलिङतर्फ शृष्टिना क्षेत्री तथा नृत्यतर्फ महेश गोदार निर्णायक थिए। कार्यक्रम सुरज शाहले सञ्चालन गरेका थिए भने मोडलिङ प्रशिक्षकका रूपमा दिया दाहाल रहेकी थिइन्।
समापन कार्यक्रममा सञ्चालक मग्रान्तिले प्रतियोगिताबाट आएका प्रतिभालाई राष्ट्रिय मञ्चमा पुर्याउने योजना सार्वजनिक गरे। उनका अनुसार सिजन–२ का नृत्य विधाका सात जना विजेता तथा उपविजेतालाई ‘नेपाल डान्स आइडल’को टिभी राउन्डमा प्रवेश गराउने तयारी गरिएको छ।
सिजन–१ का टाइटल विनर, फर्स्ट रनरअप र सेकेन्ड रनरअपलाई समेत नेपाल डान्स आइडलको टिभी राउन्डमा सिधै प्रवेश गराउने योजना रहेको मग्रान्तिले बताए। मोडलिङ र गायन विधाका प्रतिभाका लागि पनि आगामी दिनमा विशेष अवसर घोषणा गरिने उनले जानकारी दिए।
स्थानीयस्तरमा रहेका प्रतिभाको पहिचान गरी उनीहरूलाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर उपलब्ध गराउने उद्देश्यले प्रतियोगितालाई निरन्तरता दिइएको रोजी डान्स सेन्टरले जनाएको छ। स्थानीय मञ्चबाट राष्ट्रिय स्तरका अवसरसँग प्रतिभालाई जोड्ने योजनासहित प्रतियोगिताको दोस्रो संस्करण सम्पन्न भएको हो।
