गौरती पूर्णिमामा क्यौरानीमा बृहत् सांस्कृतिक कार्यक्रम हुँदै, सहयोगका लागि युवा समाजको हार्दिक अपिल
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–८ क्यौरानीस्थित ऐतिहासिक भिमेश्वर मन्दिरमा लाग्दै आएको गौरती मेलाको अवसरमा यस वर्ष पनि बृहत् सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। गौरती पूर्णिमाको पावन अवसरमा क्यौरानी युवा समाजको आयोजनामा आगामी २०८३ मंसिर ८ गते विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम हुन लागेको हो।
गाउँको धार्मिक आस्था, मौलिक संस्कृति, परम्परा र सामाजिक एकतालाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। गत वर्षदेखि गौरती मेलाको अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दै आएको क्यौरानी युवा समाजले यस वर्ष पनि कार्यक्रमलाई थप व्यवस्थित, आकर्षक र सहभागितामूलक बनाउने तयारी गरेको छ। गत वर्षसमेत समाजले भव्य रूपमा कार्यक्रम सम्पन्न गरेको थियो।
कार्यक्रममा राष्ट्रिय तथा स्थानीय स्तरमा परिचित कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति रहनेछ। लोकगायक सानु केसी, लोकगायिका सबिता ढुंगाना, रेनुका खतिवडा, सेलो गायक सुक्री दोङ मायकलगायत कलाकारले आफ्ना चर्चित गीत तथा सांगीतिक प्रस्तुतिमार्फत दर्शक तथा भक्तजनलाई मनोरञ्जन प्रदान गर्नेछन्।
त्यसैगरी दुवाचौर भारतीशोक समूहको विशेष सांस्कृतिक प्रस्तुति बालनसमेत रहने आयोजकले जनाएको छ। धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको बालन प्रस्तुतिले कार्यक्रमलाई थप मौलिक र परम्परासँग जोड्ने अपेक्षा गरिएको छ। लोकसंगीत, मौलिक संस्कृति र परम्परागत प्रस्तुतिको संगमका रूपमा कार्यक्रमलाई अघि बढाउन लागिएको हो।
गौरती मेला क्यौरानीवासीको धार्मिक आस्था, विश्वास र पुस्तौँदेखि चल्दै आएको सांस्कृतिक परम्परासँग जोडिएको महत्त्वपूर्ण पर्व हो। भिमेश्वर मन्दिरसँग सम्बन्धित यस ऐतिहासिक मेलाले स्थानीय समुदायलाई एकै ठाउँमा जोड्ने, आपसी सद्भाव बढाउने र आफ्नो मौलिक पहिचानलाई जीवन्त राख्ने काम गर्दै आएको छ। मेलाको अवसरमा आयोजना हुने सांस्कृतिक कार्यक्रमले नयाँ पुस्तालाई गाउँको कला, संस्कृति र परम्परासँग जोड्नुका साथै स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने विश्वास गरिएको छ।
कार्यक्रम सफल बनाउन सहयोगको अपिल
यसैबीच, बृहत् सांस्कृतिक कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न क्यौरानी युवा समाजले देश तथा विदेशमा रहेका सम्पूर्ण क्यौरानीवासी, आमाबुबा, दाजुभाइ, दिदीबहिनी तथा शुभेच्छुक महानुभावहरूसँग आर्थिक, भौतिक र नैतिक सहयोगको हार्दिक अपिल गरेको छ।
समाजले भिमेश्वर मन्दिरमा लाग्दै आएको ऐतिहासिक गौरती मेलाको गरिमा र महत्त्वलाई थप उचाइमा पुर्याउँदै यसलाई व्यवस्थित, आकर्षक र निरन्तरता दिन सबैको साझा सहभागिता आवश्यक रहेको जनाएको छ।
‘यो मेला हाम्रो आस्था हो, हाम्रो संस्कृति हो र हाम्रो साझा पहिचान हो’ भन्ने भावनासहित अघि बढाइएको अभियानमा सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग र योगदान गर्न समाजले आग्रह गरेको छ। आफ्नो गाउँको धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै आयोजकले सानो सहयोगले पनि अभियानलाई ठूलो ऊर्जा र हौसला प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।
गाउँको एकता, आस्था र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने उद्देश्यसहित आयोजना हुन लागेको कार्यक्रममा स्थानीयवासी, स्वदेश तथा विदेशमा रहेका क्यौरानीवासी र सम्पूर्ण शुभेच्छुकलाई उपस्थित भई कार्यक्रमको शोभा बढाउनसमेत आयोजकले अनुरोध गरेको छ।


