Tuesday 17th of November | २०८३ मङ्सिर १ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

वित्तीय अपराध नियन्त्रणमा प्रविधि र वैज्ञानिक अनुसन्धानलाई प्राथमिकता दिनुपर्छ : आईजीपी डा. के.सी.

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १ मंगलबार |
newsabhiyan

अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसमा एकदिने कार्यशाला, चर्चित अनुसन्धानका घटनासम्बन्धी पुस्तकको तेस्रो भाग लोकार्पण

काठमाडौं, १ मंसिर ।  नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) डा. मनोज कुमार के.सी.ले वित्तीय अपराधको बदलिँदो स्वरूप र प्रविधिको तीव्र विकाससँगै थपिएका अनुसन्धानका चुनौती सामना गर्न आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान पद्धतिलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसको अवसरमा आयोजित एकदिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै आईजीपी डा. के.सी.ले वित्तीय अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी, विश्वसनीय र परिणाममुखी बनाउन परम्परागत अनुसन्धान पद्धतिलाई समयानुकूल परिमार्जन गर्नुपर्नेमा जोड दिएका हुन्।

‘आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान : वित्तीय अपराध रोकथाम नेपाल प्रहरीको मूल अभियान’ भन्ने नाराका साथ आयोजित कार्यशालाको मुख्य विषयवस्तु ‘वित्तीय अपराध अनुसन्धान : प्रमाण सङ्कलनदेखि फैसलासम्म’ रहेको छ। वित्तीय अपराधका जटिलता, अनुसन्धानका प्राविधिक पक्ष तथा न्यायिक प्रक्रियालाई एउटै साझा मञ्चमा छलफल गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको हो।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी), प्रहरी नायव महानिरीक्षक (डीआईजी), अपराध अनुसन्धानमा संलग्न प्रहरी अधिकारी, अभियोजनकर्ता, वित्तीय नियामक

कार्यशालाको उद्घाटनसँगै आईजीपी डा. के.सी.ले ‘नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाहरूको सङ्ग्रह–भाग ३’ पुस्तकसमेत लोकार्पण गरेका छन्।

नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाहरूको अभिलेखीकरण, अनुसन्धान अनुभवको संरक्षण तथा आगामी पुस्ताका अनुसन्धानकर्तालाई ज्ञान हस्तान्तरण गर्ने दृष्टिले पुस्तकलाई महत्त्वपूर्ण सामग्रीका रूपमा हेरिएको छ।

अपराध अनुसन्धानका क्रममा प्राप्त अनुभव, चुनौती र सफल अनुसन्धानका दृष्टान्तलाई दस्तावेजीकरण गर्दा प्रहरी संगठनको संस्थागत स्मरण बलियो बन्ने अपेक्षा गरिएको छ।

यस्ता प्रकाशनले अनुसन्धानमा संलग्न अधिकारीलाई विगतका घटनाबाट सिक्ने अवसर प्रदान गर्नुका साथै अनुसन्धानको व्यावसायिक क्षमता विकासमा समेत योगदान पुर्‍याउन सक्छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै आईजीपी डा. के.सी.ले पछिल्लो समय वित्तीय अपराधको प्रकृति, स्वरूप र कार्यशैलीमा व्यापक परिवर्तन भइरहेको उल्लेख गरे।

प्रविधिको प्रयोगसँगै आर्थिक कारोबार, डिजिटल माध्यम र वित्तीय प्रणालीमार्फत हुने अपराध थप जटिल बन्दै गएको अवस्थामा अनुसन्धानका परम्परागत विधि मात्र पर्याप्त नहुने उनको भनाइ थियो।

उनले वित्तीय अपराध अनुसन्धानमा प्रमाणको पहिचान, सङ्कलन, सुरक्षित भण्डारण, वैज्ञानिक विश्लेषण र कानुनी रूपमा पुष्टि गर्ने प्रक्रियालाई विशेष महत्त्व दिनुपर्ने बताए।

अनुसन्धानका क्रममा सङ्कलित प्रमाण विश्वसनीय र कानुनी मापदण्डअनुरूप हुन नसके अपराध अनुसन्धानले अपेक्षित परिणाम दिन नसक्ने भएकाले अनुसन्धानदेखि अदालतको फैसलासम्मका प्रत्येक चरण प्रभावकारी हुनुपर्नेमा उनले जोड दिए।

आईजीपी डा. के.सी.ले कार्यशालाले वित्तीय अपराध अनुसन्धानका विद्यमान चुनौतीहरूको वस्तुनिष्ठ समीक्षा गर्दै प्रमाण सङ्कलन, विश्लेषण, अभियोजन तथा न्यायिक निरूपणसम्मका प्रक्रियालाई थप प्रभावकारी बनाउने उपाय पहिचान गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

उनका अनुसार वित्तीय अपराध नियन्त्रण प्रहरीको एकल प्रयासबाट मात्र सम्भव छैन। यसका लागि सरकारी निकाय, वित्तीय नियामक संस्था, बैंक तथा वित्तीय संस्था, दूरसञ्चार सेवा प्रदायक र अन्य सरोकारवाला निकायबीच निरन्तर समन्वय, सहकार्य र सूचनाको प्रभावकारी आदानप्रदान आवश्यक छ।

विशेषगरी वित्तीय कारोबारसँग सम्बन्धित सूचना समयमै प्राप्त गर्ने, प्रविधिजन्य प्रमाणको वैज्ञानिक परीक्षण गर्ने र अनुसन्धानका क्रममा सम्बन्धित निकायबीच सहकार्य बढाउने विषयलाई प्राथमिकतामा राख्नुपर्ने उनको धारणा थियो।

कार्यशालामा सहभागी विभिन्न क्षेत्रका विज्ञ तथा प्रतिनिधिबीच वित्तीय अपराध अनुसन्धानका व्यावहारिक समस्या, कानुनी जटिलता, प्रविधिको उपयोग र अनुसन्धानलाई अभियोजन तथा न्यायिक प्रक्रियासँग जोड्ने विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसका अवसरमा आयोजित यस कार्यक्रमले नेपाल प्रहरीको अनुसन्धान क्षमतालाई आधुनिक प्रविधिसँग जोड्दै वित्तीय अपराध नियन्त्रणमा संस्थागत सहकार्य र वैज्ञानिक अनुसन्धान संस्कृतिको विकास गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan