Monday 5th of October | २०८३ असोज १९ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १९ सोमबार |
newsabhiyan

पोखरा, १९ असोजः दसैँ नजिकिँदै गर्दा हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगेको छ ।  

बडादसैँलाई लक्षित गरी डोल्पाको जगदुल्ला गाउँपालिकाबाट भेडाच्याङ्ग्रा पोखरा ल्याइएको व्यापारी बुद्धिराम बोहराले बताउनुभयो ।

भेडाच्याङ्ग्रा लिएर हिँडेको २३ दिनपछि शनिबार पोखरा आइपुगेको उहाँले जानकारी दिनुभयो । यहाँ ल्याइएको भेडाच्याङ्ग्रा पोखरा महानगरपालिका–१ स्थित जौबारी, याम्दी क्षेत्रमा आइतबार बिहानदेखि नै बिक्रीका लागि राखिएको उहाँले बताउनुभयो । 
    
तीन जना व्यवसायी मिलेर २००  भेडाच्याङ्ग्रा पोखरा ल्याएको व्यापारी बोहराले जानकारी दिनुभयो । “यो पटक हामी तीन जना साथीहरु मिलेर डोल्पाको जगदुल्ला गाउँपालिकाको विभिन्न ठाउँबाट खरिद गरेर ल्याएका छौँ,” उहाँले भन्नुभयो, “हामीले भेडाच्याङ्ग्राको मूल्य रु २१ हजार देखि ४३ हजारसम्म तोकेका छौँ ।” ल्याउँदै गर्दा बाटोमा नै २० वटा भेडाच्याङ्ग्रा बिक्री भइसकेको उहाँले जानकारी दिनुभयो । 

छिटो ल्याए छिट्टै बिक्री हुने भएकाले दसैँको घटस्थापनाअघि नै भेडाच्याङ्ग्रा बिक्रीका लागि पोखरा ल्याइएको अर्का व्यापारी मीनप्रसाद बोहराले बताउनुभयो ।

“गत वर्ष हामीले ढिला ल्याउँदा बेच्ने ठाउँ पनि पाइएन । अनि ढिला बिक्री भयो । दसैँ मनाउनै पाइएन्,” उहाँले भन्नुभयो, “अघिल्लो वर्षका अनुभवले यो पटक छिट्टै ल्याए छिटो बिक्री गरेर दसैँ मनाउन छिटो घर जाने योजना हो ।”

हरेक वर्ष दसैँको समयमा हिमाली भेगका भेडाच्याङ्ग्रा बिक्रीका लागि पोखरा ल्याउने चलन छ । लेकाली क्षेत्रमा चरिचरन गरेका भेडाच्याङ्ग्राको दसैँमा पोखरा आसपासमा विशेष माग हुने गरेको छ ।

लेकको जडीबुटी तथा वनस्पति खाएर हुर्किएका भेडाच्याङ्ग्राको मासु स्वादिलो र स्वास्थ्यका लागि लाभदायक हुने जनविश्वास रहेको पोखरा–४ गैह्रपाटनका स्थानीय नरबहादुर क्षेत्रीले बताउनुभयो ।

यही जनविश्वास र दसैँमा भेडाच्याङ्ग्राको मासु खाने परम्पराका कारण वर्षमा एकपटक सहरी उपभोक्ताहरु भेडाच्याङ्ग्राको मासुका लागि आकर्षित हुने गरेको स्थानीय क्षेत्रीले बताउनुभयो । 

यस वर्ष घटस्थापना अघि नै डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइसकेको अवस्थामा मुस्ताङ, मुगु, बझाङलगायत जिल्लाबाट आउन बाँकी छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan