Tuesday 6th of October | २०८३ असोज २० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मौलिक भजनः कतै पुस्तान्तरण, कतै सङ्कटमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २० मंगलबार | सनम सुवाल/रासस
newsabhiyan

बनेपा (काभ्रे), २० असोजः साँझ ढल्किँदै गर्दा काभ्रेपलाञ्चोकको ऐतिहासिक सहर पनौतीका पुराना गल्लीमा परम्परागत बाजाका धुन गुञ्जिन थाल्छन् । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीसम्मको चार महिना अर्थात् चतुर्मासमा यहाँका टोल–टोलमा धार्मिक तथा सांस्कृतिक रौनक देखिन्छ ।

साँझ परेपछि स्थानीयवासी भेला हुन्छन्, बाजागाजा बज्छन् र पुस्तौँदेखि चलिआएका भजनका धुनले पुराना बस्तीलाई जीवन्त बनाउँछन् । तर, पनौतीसँगै जोडिएको धुलिखेल नगरपालिका–५ श्रीखण्डपुरतर्फ पुग्दा दृश्य फरक देखिन्छ । त्यहाँका आँगनमा पहिलेझैँ भजनका समूह भेटिँदैनन् ।

पुराना मन्दिरका पर्खाल उभिएकै छन्, गुठीका परम्परा पनि कायमै छन्, तर ती मन्दिरमा गुञ्जिने कतिपय पुराना भजनका स्वर भने क्रमशः हराउँदै गएका छन् ।

काभ्रेपलाञ्चोकका मौलिक भजन परम्पराले अहिले यस्तै दुई फरक अवस्था देखाइरहेका छन् । कतै नयाँ पुस्ताको सहभागिताले पुरानो परम्परालाई निरन्तरता दिने आशा देखिएको छ भने कतै पुस्तान्तरणको अभावमा भजन परम्परा नै लोप हुने अवस्थामा पुगेको छ ।

पनौतीमा ‘ढल्चा हालेगु’ : पुस्तान्तरणको आशा

पनौतीका बलाछेटोल, पमाडिटोल, कोलाछेंलगायतका पुराना टोलमा पुग्दा यहाँको सांस्कृतिक जीवन अझै पनि परम्परासँग जोडिएको देखिन्छ । चतुर्मासभर स्थानीयवासी १० देखि १५ जनाको समूहमा भेला भएर परम्परागत बाजागाजासहित भजन गाउने गर्छन् । स्थानीय नेवारी भाषामा यसलाई ‘ढल्चा हालेगु’ भनिन्छ ।

‘ढल्चा हालेगु’ धार्मिक अभ्यास सँगै सामुदायिक सहभागिताको माध्यम पनि बनेको छ । अग्रज पुस्ताले बाजा बजाउने र भजन गाउने क्रममा बालबालिका तथा युवाहरू पनि सहभागी हुन्छन् । उनीहरूले भजनका शब्द, धुन, ताल र बाजा बजाउने तरिका सिक्ने अवसर पाउँछन् ।

“भजनमा नयाँ पुस्ताको सहभागिताले उनीहरूलाई अग्रजबाट भजनका शब्द, धुन, बाजा बजाउने तरिका तथा धार्मिक संस्कार र स्थानीय परम्पराबारे प्रत्यक्ष रूपमा सिक्ने अवसर मिलेको छ”, पनौती नगरपालिका–७ का वडा सदस्य राम भुजु भन्नुहुन्छ ।

स्थानीय प्रमेश घुल्नुका अनुसार यस्ता सांस्कृतिक गतिविधिले धार्मिक आस्थालाई निरन्तरता दिनुका साथै पनौतीको मौलिक पहिचान र सामुदायिक एकतालाई पनि बलियो बनाएको छ । “यस्ता परम्परामा नयाँ पुस्ताको सहभागिता बढाउन सकेमा संस्कृति पुस्तौँसम्म जीवित रहन सक्छ”, उहाँ भन्नुहुन्छ ।

पनौतीका टोलमा देखिने यो अभ्यासले मौलिक संस्कृति संरक्षणका लागि केवल भौतिक संरचना पर्याप्त नहुने देखाउँछ । त्यसका लागि समुदायको निरन्तर सहभागिता र नयाँ पुस्ताको संलग्नता आवश्यक हुन्छ । अग्रज पुस्ताले जानेका भजन, बाजा र संस्कार युवापुस्ताले सिक्दै गएमा परम्पराले स्वाभाविक रूपमा निरन्तरता पाउने देखिन्छ ।

श्रीखण्डपुरमा हराउँदै गएको भजन परम्परा

पनौतीका केही टोलमा भजनका धुन गुञ्जिरहेका बेला नजिकैको धुलिखेल नगरपालिका–५ श्रीखण्डपुरमा भने परिस्थिति फरक छ । श्रीखण्डपुरको पहिचानसँग जोडिएका ‘चतुर्मास भजन’ र ‘लालमोहर भजन’ अहिले लोप हुने सङ्घारमा पुगेका छन् ।

विशेषगरी ‘लालमोहर भजन’ श्रीखण्डपुरको ऐतिहासिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको परम्परा मानिन्छ । स्थानीयका अनुसार मल्लकाल वा प्रारम्भिक शाहकालमा दरबारले मन्दिरको पूजाआजा, सांस्कृतिक निरन्तरता तथा भजन मण्डली सञ्चालनका लागि जग्गा–जमिन वा विशेष अधिकार प्रदान गर्ने र त्यससम्बन्धी लालमोहर जारी गर्ने गरेको थियो। दरबारिया मान्यता तथा संरक्षण प्राप्त गरी गुठीमार्फत पुस्तौँदेखि सञ्चालन हुँदै आएको भजन भएकाले यसलाई ‘लालमोहर भजन’ भनिएको स्थानीयको भनाइ छ ।

ऐतिहासिक महत्व बोकेको भनिएको यो भजन परम्परा अहिले गाउने व्यक्तिको अभावमा सङ्कटमा परेको छ । “पहिले म आफैँ पनि लालमोहर भजन गाउँथेँ ।

धेरै पुस्तादेखि निरन्तर चलिआएको यो परम्परा अहिले भने हराइसकेको छ”, श्री श्वेतभैरव भजन मण्डलका सल्लाहकार पूर्ण कर्माचार्य सम्झिनुहुन्छ, “अहिले भजन मण्डल गठन गरिएको छ र गुठी संस्थानको ब्याजबाट प्राप्त रकम मण्डलीलाई दिएर पूजाआजा चलाउने गरिएको छ तर लालमोहर भजन गाउने मान्छे नै नहुँदा यो भजन अहिले अस्तित्वमा छैन ।” भौतिक संरचना बाँकी रहे पनि त्यससँग जोडिएको सांस्कृतिक अभ्यास कमजोर हुँदै गएको उहाँको भनाइ छ । 

श्रीखण्डपुरमा पुस्तान्तरणको चुनौती

श्रीखण्डपुरमा पुरानो पुस्तासँग भजन र संस्कृतिको ज्ञान रहे पनि नयाँ पुस्तामा त्यसको हस्तान्तरण कमजोर हुँदै गएको स्थानीय बताउँछन् । रोजगारी तथा अध्ययनका लागि युवाहरू बाहिरिने क्रम बढेको छ । बालबालिका र युवाको दैनिकी पनि बदलिएको छ ।

प्रविधिको बढ्दो प्रयोग, रोजगारीका लागि बसाइँसराइ तथा बदलिँदो सामाजिक जीवनशैलीका कारण परम्परागत सामूहिक गतिविधिमा सहभागिता घट्दै गएको स्थानीयको अनुभव छ । “डर लाग्छ, कतै भोलि हाम्रो संस्कृति किताबका पानामा मात्र सीमित नहोस् ।

कतै चतुर्मास भजन र लालमोहर भजन हाम्रा सन्तानका लागि ‘पहिले गाउँमा गाइन्थ्यो रे’ भन्ने कथा मात्र नबनोस्”, श्रीखण्डपुरका स्थानीय भव सागर रञ्जित भन्नुहुन्छ । उहाँका अनुसार पुरानो पुस्ताले संरक्षण गरेको संस्कृति नयाँ पुस्ताले सिक्न र अभ्यास गर्न नपाएमा केही वर्षपछि त्यसको मौलिक स्वरूप नै हराउन सक्छ ।

परम्पराको संरक्षणमा पुस्तान्तरण आवश्यक

समयसँगै समाजको जीवन शैली परिवर्तन हुनु स्वाभाविक हो । प्रविधिको विकास र नयाँ पुस्ताको फरक रुचिलाई रोक्न सकिँदैन तर परिवर्तनसँगै मौलिक संस्कृति र परम्परालाई कसरी निरन्तरता दिने भन्ने प्रश्न अहिले महत्वपूर्ण बनेको छ ।

भजन परम्परा केवल गीत वा धार्मिक अभ्यास मात्र होइन । यसमा स्थानीय इतिहास, भाषा, बाजागाजा, धार्मिक संस्कार, सामुदायिक सम्बन्ध र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको ज्ञान जोडिएको हुन्छ । कुनै भजन परम्परा हराउनु भनेको एउटा गीत हराउनु मात्र नभई त्यससँग जोडिएको सांस्कृतिक अभ्यास र सामुदायिक स्मृतिको एउटा हिस्सा हराउनु पनि हो ।

पनौतीको ‘ढल्चा हालेगु’ र श्रीखण्डपुरको ‘लालमोहर भजन’ले मौलिक संस्कृति संरक्षणका दुई फरक अवस्था देखाएका छन् । पनौतीमा नयाँ पुस्ताको सहभागिताले परम्परालाई निरन्तरता दिने आधार तयार गरेको छ भने श्रीखण्डपुरमा भजन गाउने पुस्ता घट्दै जाँदा परम्परा नै संकटमा परेको छ ।

स्थानीय तह, समुदाय, गुठी तथा सांस्कृतिक संस्थाले मौलिक भजनका शब्द, धुन, बाजा र इतिहासको अभिलेखीकरण सँगै नयाँ पुस्तालाई त्यसमा सहभागी गराउनसके यस्ता परम्परा संरक्षणमा सहयोग पुग्न सक्छ । विद्यालय तथा समुदायस्तरमा स्थानीय संस्कृतिबारे जानकारी गराउने, अग्रजबाट युवापुस्तालाई सीप हस्तान्तरण गराउने र नियमित सांस्कृतिक गतिविधिलाई निरन्तरता दिने प्रयासले पनि परम्परा जोगाउन भूमिका खेल्न सक्छ ।

मौलिक संस्कृति संरक्षणका लागि केवल विगत सम्झिएर पुग्दैन, त्यसलाई वर्तमान पुस्ताले अभ्यास गर्न र आगामी पुस्तालाई हस्तान्तरण गर्नुपर्छ । मन्दिर, गुठी र पुराना संरचना जोगिए पनि तिनमा जोडिएका जीवित परम्परा हराए भने संस्कृतिको एउटा महत्वपूर्ण पक्ष गुम्न सक्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan