बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी
बिराटनगर, २० असोजः बिराटनगर महानगरपालिकामा अघि बढाइएको बृहत्तर खानेपानी परियोजना सञ्चालन भएपछि दैनिक एक करोड लिटर खानेपानी उपलब्ध हुनेछ । परियोजना सम्पत्र भएपछि बिराटनगरवासीले दसैँअघि नै नयाँ प्रणालीमार्फत दैनिक एक करोड लिटरभन्दा बढी खानेपानी पाउने भएका हुन् ।
जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)को करिब रु दुई अर्ब ५४ करोड अनुदानमा सञ्चालित परियोजनाको मुख्य निर्माणकार्य सम्पत्र भइसकेको नेपाल खानेपानी संस्थान बिराटनगरले जनाएको छ । परियोजना हस्तान्तरणका लागि अब करिब २५ दिन मात्र बाँकी रहेको संस्थानले जनाएको छ ।
परियोजनाको निर्माण अवधि सन् २०२६ अक्टोबरसम्म तोकिएको थियो । अधिकांश निर्माणकार्य निर्धारित समयभन्दा अगावै सम्पत्र भएको हो । अहिले विद्युत् जडानलगायत केही प्राविधिक काम मात्र बाँकी छन् । ती काम पनि तत्काल सम्पत्र गरी दसैँअघि नै नयाँ प्रणाली सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
खानेपानी संस्थान बिराटनगरका प्रमुख सन्तोष रौनियारका अनुसार परियोजनाको मुख्य निर्माणकार्य पूरा भइसकेको छ । उहाँले भत्रुभयो, “तोकिएको समयभन्दा अगावै अधिकांश काम सम्पन्न भएको छ । अहिले विद्युत् जडानलगायत केही प्राविधिक काम मात्र बाँकी छन् । ती काम पनि छिट्टै सक्नेगरी काम भइरहेको छ । दसैँअघि नै नयाँ प्रणालीबाट उपभोक्ताको घरघरमा पानी पुर्याउने तयारी छ ।”
परियोजना सञ्चालनमा आएपछि बिराटनगरको खानेपानी उत्पादन तथा वितरण क्षमता उल्लेख्य रूपमा बढ्नेछ । हाल दैनिक करिब ९० लाख लिटर पानी वितरण हुँदै आएकामा नयाँ प्रणाली सञ्चालनमा आएपछि दैनिक एक करोड लिटरभन्दा बढी पानी वितरण गर्न सकिने संस्थानले जनाएको छ ।
परियोजनाअन्तर्गत खानेपानी उत्पादन, प्रशोधन र वितरण प्रणालीको क्षमता विस्तार गरिएको छ । पुराना संरचनाको सुधारसँगै नयाँ ‘ओभरहेड’ ट्याङ्की निर्माण, पाइपलाइन विस्तार तथा विद्युत् आपूर्ति क्षमता वृद्धि गरिएको छ । बिराटनगरका देवकोटा चोक, तीनपैनी, मुनालपथ तथा बिराटनगर–५ को कोचाखाल पश्चिममा रहेका संरचनाबाट खानेपानी वितरण गर्ने व्यवस्था मिलाइएको छ । कोचाखाल पश्चिममा परियोजनाअन्तर्गत नयाँ ओभरहेड ट्याङ्की निर्माण गरिएको छ ।
पाइपलाइन र फिल्टर प्रणालीको क्षमता विस्तारसँगै खानेपानी वितरणमा देखिँदै आएको समस्या कम हुने र उपभोक्ताले नियमित तथा गुणस्तरीय पानी पाउने संस्थानको अपेक्षा छ । हाल विराटनगरमा नेपाल खानेपानी संस्थानका करिब १३ हजार २०० ग्राहक छन् । परियोजना सञ्चालनमा आएपछि थप उपभोक्तालाई खानेपानीको पहुँचमा ल्याउन तथा तीव्र रूपमा बढिरहेको जनसङ्ख्याको माग धात्र सहज हुने संस्थानले जनाएको छ ।
बिराटनगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने आफ्नो प्रतिबद्धता रहेको प्रमुख नागेश कोइरालाले बताउनुभयो । उहाँले परियोजना सञ्चालनको अन्तिम चरणमा पुगेसँगै आफ्नो प्रतिबद्धता पूरा हुने विश्वास व्यक्त गर्नुभयो । लामो समयदेखि खानेपानीको अपर्याप्तता एवं अनियमितता झेल्दै आएका बिराटनगरवासीका लागि परियोजना सञ्चालनसँगै ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ ।
