Friday 9th of October | २०८३ असोज २३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दिगो प्याकेजिङ र हरित व्यवसायका पाँच उद्यमी पुरस्कृत

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २३ शुक्रबार |

काठमाडौँ, २३ असोजः युरोपेली सङ्घको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल परियोजनाअन्तर्गत दिगो प्याकेजिङ र हरित व्यवसाय प्रवर्द्धन कार्यक्रमका पाँच उद्यमी तथा नवप्रवर्तक पुरस्कृत भएका छन् । 

    वातावरणमैत्री व्यवसाय, दिगो प्याकेजिङ र चक्रीय अर्थतन्त्रको प्रवर्द्धनमा नवीन समाधान प्रस्तुत गर्ने उद्यमीलाई आज यहाँ आयोजित समारोहमा उहाँहरूलाई पुरस्कृत गरिएको हो । पुरस्कार वितरण समारोहमा हरित व्यवसाय प्रवर्द्धन कार्यक्रम (जिबिएपी) अन्तर्गत तीन र दिगो प्याकेजिङ कार्यक्रम (एसपिपी) अन्तर्गत दुई उद्यमी विजेता घोषित हुनुभएको हो ।

    हरित व्यवसाय प्रवर्द्धन कार्यक्रमअन्तर्गत बागमतीबाट रिअप स्टुडियो, लुम्बिनीबाट इकोदोस्ती प्रालि र मधेस प्रदेशबाट कुशवाहा बहुउद्देश्यीय कृषि तथा पशुपालन फार्म विजेता बनेका छन् । कार्यक्रममा सम्बन्धित संस्थाका प्रतिनिधिहरूले जनही रु पाँच लाख ७४ हजार बराबरको अनुदान प्राप्त गर्नुभएको हो ।

    दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत एबी बायोडिग्रेडेबल प्रडक्ट प्रालि र छाहारी फार्म प्रालि विजेता बनेका छन् । दुवै संस्थाले जनही रु सात लाख बराबरको अनुदान प्राप्त गरेका छन् ।

    चक्रीय अर्थतन्त्रलाई व्यवहारमा उतार्नुपर्नेमा जोड

    पुरस्कार वितरण समारोहमा क्रिएसन नेपालका अध्यक्ष अरुणा कार्कीले विजेता उद्यमी तथा नवप्रवर्तकलाई बधाई दिँदै चक्रीय अर्थतन्त्रलाई व्यवहारमा उतार्न उहाँहरूले देखाएको प्रतिबद्धता नेपालको दिगो आर्थिक विकासका लागि महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले वातावरणमैत्री व्यावसायिक अभ्यासलाई प्राथमिकता दिँदै आगामी दिनमा पनि यस अभियानलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

    क्रिएसन नेपालका कार्यक्रम निर्देशक सुजाता कोइरालाले व्यवसाय सञ्चालन गर्दा लागतलाई मात्र प्राथमिकता दिने प्रवृत्तिबीच सहभागी उद्यमीले वातावरण र पृथ्वीका लागि लाभदायक विकल्प रोज्नु सकारात्मक भएको बताउनुभयो ।

    हरित अर्थतन्त्रको प्रवर्द्धन र दिगो व्यवसायलाई एकै ठाउँमा जोड्ने उद्देश्यले सुरु गरिएको पहललाई निरन्तरता दिँदै कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । प्याकेजिङजन्य फोहरले वातावरणमा पार्ने असर न्यूनीकरण गर्न दिगो प्याकेजिङलाई प्राथमिकता दिन आवश्यक रहेको उहाँको भनाइ छ ।

    एक्काइस सहभागीबीच प्रतिस्पर्धा

    पुरस्कार वितरण समारोहअघि अक्टोबर ६ र ७ मा छनोट भएका उद्यमी तथा नवप्रवर्तकका लागि दुई दिने आवासीय ‘बुटक्याम्प’ सञ्चालन गरिएको थियो । बुटक्याम्पमा सहभागीलाई व्यावसायिक अवधारणा परिष्कृत गर्न, प्रभावकारी प्रस्तुति तयार पार्न तथा लगानी र बजारका सम्भावनासँग जोडिन आवश्यक प्रशिक्षण प्रदान गरिएको थियो ।

    दुवै कार्यक्रमका अन्तिम चरणमा पुगेका २१ सहभागीले निर्णायक मण्डल तथा आमन्त्रित सरोकार भएका निकायका प्रतिनिधिसमक्ष आफ्ना व्यावसायिक अवधारणा, उत्पादन र समाधान प्रस्तुत गर्नुभएको थियो । तीमध्ये हरित व्यवसाय प्रवर्द्धन कार्यक्रमका १३ र दिगो प्याकेजिङ कार्यक्रमका आठ सहभागी थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan