दुरुपयोगपछि चिनियाँ एआई उपकरण बन्द
दक्षिण कोरियाका सातभन्दा बढी वित्तीय संस्थामा भएको साइबर आक्रमणमा प्रयोग भएको आशङ्कापछि चिनियाँ कृत्रिम बौद्धिकता (एआई) उपकरण आर्टेक्सका विकासकर्ताले यसको स्रोत कोडमा सार्वजनिक पहुँच बन्द गर्ने निर्णय गरेका छन् । डेभलपर ‘अटम–२७’ ले उपकरणको दुरुपयोग भएको स्वीकार गर्दै अब नयाँ संस्करण सार्वजनिक नगर्ने र मर्मतसम्भार सेवा पनि नदिने जनाएको छ ।
साइबर सुरक्षाका कमजोरी पत्ता लगाउन विकास गरिएको आर्टेक्स खुला स्रोतमा आधारित उपकरण थियो । यसबाट प्रोग्रामरहरूले मूल कोड डाउनलोड गरी आवश्यकताअनुसार परिमार्जन गर्न सक्थे । तर दक्षिण कोरियाली सरकारले यसै साता प्रमुख बैंकसहित सातभन्दा बढी वित्तीय संस्थामा तथ्याङ्क चोरी गर्न यसको प्रयोग भएको उच्च सम्भावना रहेको जनाएको थियो ।
दक्षिण कोरियाको वित्तीय सेवा आयोगका अनुसार आक्रमणबाट ६८ हजारभन्दा बढी व्यक्ति प्रभावित भएका छन् । सिनहान बैंकका करिब २५ हजार ग्राहकका ऋण आवेदनसँग सम्बन्धित नाम, फोन नम्बर र वार्षिक आम्दानीजस्ता विवरण चुहिएका छन् ।
यसैबीच, जापानमा पनि यस्तै साइबर आक्रमणबाट करिब २० कम्पनीका तथ्याङ्क प्रभावित भएको आशङ्का गरिएको छ । ती घटनाले लाखौँ ग्राहकलाई असर पार्न सक्ने बताइएको छ । जापानका प्रहरी प्रमुख योसिनोबु कुसुनोकीले घटनाको पृष्ठभूमि र तिनबीचको सम्बन्धबारे स्पष्ट भइनसकेको बताउनुभएको छ ।
दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले एआईका कारण ह्याकिङ थप जटिल बनेको र त्यसबाट हुने क्षति विगतसँग तुलना गर्न कठिन भएको बताउनुभएको थियो । एआईका शक्तिशाली प्रणालीले कम्प्युटरमा आक्रमण गर्ने नयाँ विधि पत्ता लगाउन सक्ने क्षमताले विश्वव्यापी चासो बढाएको छ ।
अमेरिकी साइबर सुरक्षा कम्पनी क्राउडस्ट्राइकले सार्वजनिक गरेको अनुसन्धानमा आर्टेक्स प्रयोग गर्ने आक्रमणकारी सम्भवतः चीनमा आधारित २६ वर्षीय व्यक्ति रहेको उल्लेख छ । उनी चिनियाँ भाषी र आर्थिक लाभबाट प्रेरित भएको कम्पनीको अनुमान छ ।
विशेषज्ञहरूका अनुसार आर्टेक्सको स्रोत कोडमा सार्वजनिक पहुँच बन्द गर्दा नयाँ प्रयोगकर्तालाई यसको कोड प्राप्त गर्न कठिन हुनेछ । तर यसअघि डाउनलोड गरिएका प्रतिलिपिको प्रयोग रोक्न सकिने छैन । ‘हेलो चाइना टेक’ का संस्थापक पो झाओले खुला स्रोतको कोड डाउनलोड र परिमार्जन गर्न सकिने भएकाले डेभलपरको नियन्त्रण सीमित हुने बताउनुभएको छ ।
‘फाउन्ड्री ल्याब्स’ की प्रमुख कार्यकारी अधिकृत इल्या कुल्यातिनले पनि प्रयोगकर्ताले उपकरणमा राखिएका दुरुपयोग रोक्ने प्रतिबन्ध हटाउन सक्ने बताउनुभएको छ । यद्यपि, खुला स्रोतले सुरक्षा अनुसन्धानकर्तालाई कोड जाँच्न, कमजोरी पहिचान गर्न र प्रणालीको सुरक्षा सुधार गर्नसमेत सहयोग पु¥याउने उहाँको भनाइ छ ।
