Monday 12th of October | २०८३ असोज २६ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख आतिथ्यतामा प्रहरी निरीक्षक आधारभूत तालिम दीक्षान्त समारोह सम्पन्न

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २६ सोमबार |
newsabhiyan

काठमाडौं, २६ असोज : प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा सोमबार आयोजित विशेष समारोहबीच सोही प्रतिष्ठानमा संचालित प्रहरी निरीक्षक आधारभूत तालिम १-१८४औं समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ ।

सो अवसरमा प्रधानमन्त्री शाहले तालिममा सर्वप्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी निरीक्षक चोपबहादुर ढेंगालाई पुरस्कार प्रदान गर्नुभयो । 

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले प्रहरी निरीक्षक आधारभूत तालिम सफलतापुर्वक सम्पन्न गरी दीक्षित हुने सम्पूर्ण प्रशिक्षार्थीहरूलाई हार्दिक बधाई तथा व्यावसायिक सफलताको शुभकामना व्यक्त गर्दै आफ्ना छोराछोरीलाई यो चुनौतीपूर्ण पेशामा आबद्ध गर्न निरन्तर प्रेरित गर्ने आदरणीय अभिभावक र परिवारजनहरूप्रति पनि विशेष आभार व्यक्त गर्नुभयो ।

दीक्षित हुनु भएका प्रहरी निरीक्षकहरूले यस तालिममा प्रहरी निरीक्षकको पदीय जिम्मेवारी निर्वाह गर्नका लागि आवश्यक ज्ञान, सीप पूर्णरूपमा हासिल गरेको र यसलाई व्यवहारमा उतार्न समेत दीक्षित प्रहरी अधिकृतहरू पूर्णरूपमा सक्षम हुने अपेक्षा गरेको उहाँले बताउनुभयो । 

जिम्मेवारी प्रति जवाफदेहीता पनि महत्वपूर्ण पक्ष भएको र प्रहरी सेवामा आबद्ध सबैका लागि यी कुराहरू लागु हुने उल्लेख गर्दै प्रधानमन्त्री शाहले भन्नुभयो, ‘सधैँ अग्रभागमा खटिएर देशमा निरन्तर शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने र कुनै पनि संकट आउँदा नागरिकको जीवनको रक्षा गर्ने मुख्य जिम्मेवारी नेपाल प्रहरीको रहेकोले यो महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दा कुनै पनि किसिमको अनुचित प्रभावमा नपरी, भेदभाव नगरी आफ्नो कर्तव्यमा अडिग रही नेपाल प्रहरीले सदैव आफ्नो भूमिका कुशलतापूर्वक निर्वाह गर्नेछ भन्ने विश्वास आम नागरिकहरूमा अनुभूत हुने गरी काम गर्न आग्रह गर्दछु ।’

दीक्षित हुनुभएका प्रहरी अधिकृतहरूको असल कर्मले असल भविष्य निर्माण हुने विश्वास व्यक्त गर्दै कुनै पनि किसिमको दबाब वा प्रभावमा नपरी संगठनको मर्यादा विपरित व्यक्तिगत स्वार्थका गतिविधिमा संलग्न नहुन समेत उहाँले आग्रह गर्नुभयो । 

प्रधानमन्त्री शाहले समयको बदलावसँगै अपराधका स्वरूप र प्रवृत्तिहरू पनि बद्लिएको सन्दर्भमा अपराधको निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रमाणमुखी अनुसन्धानको लागि सूचना र प्रविधिको सही सदुपयोग गर्न जरूरी रहेको बताउँदै नेपाल सरकार यसका लागि आवश्यक पर्ने स्रोतसाधन उपलब्ध गराउन तथा आफ्नो जिम्मेवारी पूरा गर्न सदैव प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो । 

समारोहमा नेपाल सरकारका मुख्य सचिव गोविन्द बहादुर कार्कीले तालिममा सर्वद्वितीय हुन सफल प्रशिक्षार्थी प्रहरी निरीक्षक बालकृष्ण पोख्रेल, सर्वतृतीय प्रशिक्षार्थी प्रहरी निरीक्षक विशाल पौडेल, शारीरिक क्षमता तथा आत्मबल अभिवृद्धि प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक गोपाल राई, प्रहरी युक्ति तथा कारवाही प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक राज कुमार जिटी, चाँदमारी प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक विकास कुमार धामीलाई पुरस्कार प्रदान गर्नुभयो ।

साथै उहाँले कवाज तथा अध्ययन प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक चोपबहादुर ढेंगालाई ‘कुलानन्द विद्या पुरस्कार” समेत प्रदान गर्नुभयो । 

समारोहमा स्वागत मन्तव्य व्यक्त गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले दीक्षित हुन लाग्नुभएका प्रहरी निरीक्षकहरूलाई हार्दिक बधाई तथा सफल व्यावसायिक जीवनको शुभकामना व्यक्त गर्नुभयो ।

दीक्षित हुनुभएका प्रहरी अधिकृतहरूले नेपाल प्रहरीको गौरवशाली विरासतलाई आत्मसात् गर्दै सक्षम, व्यावसायिक, प्रविधिमैत्री, निष्पक्ष र नागरिक केन्द्रित प्रहरी सेवाको विकासमा महत्वपूर्ण योगदान पुर्यााउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

प्रहरी महानिरीक्षक कार्कीले प्रहरी निरीक्षक पद केवल एउटा दर्जा मात्र नभई यो नेतृत्व क्षमता, निर्णय गर्ने सामर्थ्य र उत्तरदायित्व बहन गर्ने योग्यताको महत्वपूर्ण परीक्षा भएको चर्चा गर्दै दीक्षित प्रहरी अधिकृतहरूले आफ्नो पदीय मर्यादा, व्यावसायिक निष्ठा, इमानदारिता र अनुशासनमा कुनै पनि सम्झौता नगरी व्यक्तिगत स्वार्थ, बाह्य प्रभाव र अनुचित दवाबबाट माथि उठेर कानुनको निष्पक्ष कार्यान्वयन गर्न दीक्षित प्रहरी अधिकृतहरूलाई आग्रह गर्नुभयो ।

विशेषगरी महिला बालबालिका, जेष्ठ नागरिक, फरक क्षमता भएका व्यक्ति तथा अन्य संवेदनशील समूहसँग सम्बन्धित घटनामा संवेदनशीलता, गोपनीयता र पीडित केन्द्रित दृष्टिकोणलाई सदैव प्राथमिकता राखी कार्य गर्न समेत उहाँले आग्रह गर्नुभयो । 

प्रहरी महानिरीक्षक कार्कीले समयसँगै समाज, प्रविधि र सुरक्षा परिवेशमा आएको परिवर्तनले प्रहरी सेवाको स्वरूप र जिम्मेवारीमा पनि परिवर्तन ल्याएको उल्लेख गर्दै  नेपाल प्रहरीले यी बदलिदा चुनौतीहरू अनुरूप आफ्नो कार्यशैली, क्षमता र प्रविधिलाई निरन्तर अध्यावधिक गर्दै आएको बताउनुभयो ।

साइबर तथा डिजिटल अपराध देखि अन्तरदेशीय अपराध र विपद् व्यवस्थापन लगायतका नयाँ चुनौतीहरूको प्रभावकारी सामना गर्नु प्रमुख जिम्मेवारीको रूपमा रहेको बताउँदै नेपाल प्रहरीलाई सक्षम, सुदृढ, पारदर्शी, प्रविधिमैत्री तथा नागरिकप्रति उत्तरदायी संगठनका रूपमा रूपान्तरण गर्न निरन्तर प्रयासरत रहेको बताउनुभयो ।

सूचना प्रविधि, डिजिटल प्रणाली र कृत्रिम वुद्धिमत्ताको विवेकपूर्ण प्रयोग सँगै मानवअधिकार, कानुनी प्रकृया र व्यावसायिक विवेकलाई केन्द्रमा राख्दै सेवा प्रवाह र कार्यसम्पादनलाई थप प्रभावकारी, पारदर्शी, परिणाममुखी बनाउनु संगठनको प्राथमिकता रहेको उहाँले बताउनुभयो ।  

समारोहमा उक्त प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीहरूलाई सपथ ग्रहण गराउनु भएको थियो भने सोही प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै २०८२ जेठ २३ गतेबाट शुरू भएको उक्त तालिममा ८ महिला सहित कुल ७९ जना प्रहरी निरीक्षकहरू सहभागी भएकोमा सबैजनाले सफलतापूर्बक तालिम सम्पन्न गरेको जानकारी दिनुभयो । 

प्रशिक्षार्थीहरूले कवाज प्रदर्शन तथा नेपाल प्रहरी संगीत विद्यालयद्वारा सांगीतिक धुन प्रस्तुत गरिएको उक्त समारोहमा दीक्षित प्रहरी निरीक्षकहरूलाई आ-आफ्ना अभिभावकहरूले दर्ज्यानी चिन्ह सुशोभन गर्नुभएको थियो ।

दीक्षान्त समारोहमा सर्वोच्च अदालतका मुख्य रजिष्टार, नायव महान्यायाधिवक्ता, नेपाली सेनाका रथी, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, पूर्व प्रहरी महानिरीक्षकहरू, प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक तथा समादेशकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरू, संचारकर्मीहरू, प्रशिक्षार्थीहरूका अभिभावकहरू तथा अन्य आमन्त्रित महानुभावहरूको उपस्थिति रहेको थियो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan