Tuesday 13th of October | २०८३ असोज २७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जर्मनी र बेलायतका विदेशमन्त्रीद्वारा रुसमाथि थप प्रतिबन्ध लगाउन माग

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २७ मंगलबार | (रासस/एएफपी)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी डिजेलमाथिको अमेरिकी प्रतिबन्ध खुकुलो पार्ने घोषणा गरेपछि जर्मनी र बेलायतका विदेशमन्त्रीले युक्रेनमाथि रुसको आक्रमणको जवाफमा मस्कोमाथि थप प्रतिबन्ध लगाउनुपर्नेमा जोड दिएका छन् ।

    जर्मन विदेशमन्त्री जोहान वाडेफुलले वार्सा सुरक्षा मञ्च (डब्लुएसएफ)मा आयोजित कार्यक्रममा प्रतिबन्ध खुकुलो पार्ने नभई थप कडा बनाउनुपर्ने बताउनुभएको छ । 

    अमेरिकालाई आपूर्ति गर्ने सम्झौताअन्तर्गत रुसी डिजेलमाथिको प्रतिबन्ध खुकुलो पार्ने ट्रम्पको गत साताको निर्णयले युक्रेन र उसका युरोपेली समर्थकलाई निराश बनाएको छ ।

    यसैबीच, रुसमाथि दबाब कायम राख्ने उद्देश्यले युरोपेली सङ्घ (ईयू) ले सोमबार करिब एक हजार ६०० रुसी व्यक्ति तथा संस्थालाई आफ्नो प्रतिबन्ध सूचीमा थपेको छ ।

    “हामी आफ्नो अडानमा कायम छौँ,” वाडेफुलले भन्नुभयो । उहाँले युरोपले अमेरिकालाई पनि रुसमाथि दबाब बढाउन आग्रह गरिरहेको बताउनुभयो । 

    ट्रम्पको निर्णयले रुसलाई विश्व बजारमा ठूलो परिमाणमा डिजेल आपूर्ति गर्ने अवसर दिनेछ ।

    बेलायतका विदेशमन्त्री एड मिलिबान्डले ईयूको पछिल्लो कदमको स्वागत गर्दै प्रतिबन्ध थप कडा बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    “हामीले सही सन्देश दिन आवश्यक छ,” उहाँले वार्सा सुरक्षा मञ्चमा भन्नुभयो ।

    रुसी डिजेलमाथिको प्रतिबन्ध खुकुलो पार्ने अमेरिकी निर्णयको आलोचना गरे पनि युक्रेनका पश्चिमी सहयोगीले ऊर्जा पूर्वाधारमा हुने आक्रमण रोक्न ट्रम्पले अघि सारेको युद्धविरामको प्रस्तावलाई समर्थन गरेका छन् ।

    सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि आक्रमण सुरु गरेयता रुसले त्यहाँको ऊर्जा पूर्वाधारलाई निरन्तर निशाना बनाउँदै आएको छ । ती आक्रमणका कारण जाडोयाममा लाखौँ मानिस विद्युत् र ताप सुविधाबाट वञ्चित भएका छन् । त्यसको जवाफमा युक्रेनले रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण गर्दै आएको छ ।

    “राष्ट्रपति ट्रम्पले चर्चा गर्नुभएको ऊर्जा युद्धविरामको प्रस्तावलाई हामीले गम्भीरतापूर्वक लिनुपर्छ,” मिलिबान्डले भन्नुभयो । 

    उहाँले युद्धविराम तेल प्रशोधन केन्द्रमा हुने आक्रमणमा मात्र सीमित नभई समग्र ऊर्जा पूर्वाधारलाई समेट्ने गरी लागू हुनुपर्नेमा जोड दिनुभयो ।

    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार आफ्नो देशमा एउटा मात्र तेल प्रशोधन केन्द्र रहेको बताउनुभएको थियो । 

    “गत साता मात्रै हामीले युक्रेनको ऊर्जा पूर्वाधारमा रुसका २०० वटा आक्रमण देख्यौँ,” मिलिबान्डले भन्नुभयो ।

    उहाँले अमेरिकी राष्ट्रपति ट्रम्पसँग मिलेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ऊर्जा क्षेत्रमा पूर्ण युद्धविराम पालना गर्न दबाब दिनुपर्ने बताउनुभयो । उहाँका अनुसार जेलेन्स्की पनि यस्तो प्रस्तावको पक्षमा हुनुहुन्छ ।
    जर्मन विदेशमन्त्री वाडेफुलले पनि ऊर्जा क्षेत्रमा पूर्ण युद्धविरामका लागि समर्थन जुटाउन आग्रह गर्नुभयो । उहाँले यसको दायरा विस्तार गरी कालो सागरमा हुने आक्रमणलाई समेट्नुपर्ने बताउनुभयो । 

    युक्रेन युद्ध सुरु भएको पाँचौँ वर्ष नजिकिँदै गर्दा युरोपले दोस्रो विश्वयुद्धयताकै सबैभन्दा घातक द्वन्द्वमध्ये एकको सामना गरिरहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan