Monday 19th of October | २०८३ कार्तिक ३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रुसी आक्रमणमा युक्रेनको ऊर्जा पूर्वाधारमा क्षति, पूर्वचेतावनी नपाएको जेलेन्स्कीको भनाइ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ३ सोमबार | किएभ, २ कात्तिक (रासस/एपी):

रुसले युक्रेनको ऊर्जा पूर्वाधारमा ब्यालिस्टिक मिसाइल र जेट इन्जिनयुक्त ड्रोनमार्फत आक्रमण गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसपटक आक्रमणबारे साझेदार मुलुकहरूबाट कुनै पूर्वचेतावनी नपाएको बताउनुभएको छ ।

    जेलेन्स्कीका अनुसार, रुसी आक्रमणबाट देशभरका १० भन्दा बढी ऊर्जा संरचनामा क्षति पुगेको छ । पाँच लाखभन्दा बढी मानिस विद्युत्, ताप सुविधा र खानेपानीको पहुँचबाट वञ्चित भएका छन् । किएभ र आसपासको क्षेत्रलाई लक्षित गरी रुसले १६ वटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको उहाँले बताउनुभयो । आक्रमणमा २१ वर्षीया एक महिलाको मृत्यु भएको राजधानीका अधिकारीले जनाएका छन् ।

    पश्चिमा मुलुकहरूबाट प्राप्त गुप्तचर सूचनाले युक्रेनलाई रुसी मिसाइल आक्रमणको सामना गर्न सहयोग गर्दै आएको थियो । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनले किएभलाई गुप्तचर सूचना दिन बन्द नगरेको बताउनुभएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि सोमबार यही धारणा दोहो¥याउँदै अघिल्लो रातको रुसी आक्रमणबारे आफूलाई जानकारी नभएको बताउनुभयो । 

    यसैबीच, अमेरिकी कम्पनी स्पेसएक्सको स्टारलिङ्क स्याटेलाइट इन्टरनेट सेवामा लगाइएका सीमितताले युक्रेनको ड्रोन सञ्चालन प्रभावित भएको जेलेन्स्कीले बताउनुभएको छ । अमेरिकी निर्मित प्याट्रियट हवाई प्रतिरक्षा प्रणालीको अभावले पनि युक्रेनको सुरक्षा चुनौती बढाएको छ । 

    रुसी रक्षा मन्त्रालयले युक्रेनभित्रका विभिन्न सैन्य तथा औद्योगिक लक्ष्यमा ठूलो आक्रमण गरेको जनाएको छ । ती लक्ष्यमा डाटा सेन्टर, ड्रोन तथा क्रुज मिसाइलका पार्टपुर्जा भण्डारण गर्ने केन्द्र, औद्योगिक उत्पादन केन्द्र र मिसाइल भण्डारणसँग सम्बन्धित रेल डिपो रहेको मन्त्रालयको दाबी छ ।

    युद्ध अन्त्यका लागि युक्रेनले कूटनीतिक प्रयास जारी राखेको जेलेन्स्कीले बताउनुभएको छ । उहाँका अनुसार, किएभले युद्धविरामका प्रस्तावहरूलाई सकारात्मक रूपमा लिएको छ । तर, रुसी आक्रमण र युद्ध लम्ब्याउने मस्कोको चाहनाका कारण युद्ध जारी रहेको उहाँको भनाइ छ । ऊर्जा पूर्वाधारमा आक्रमण रोक्ने उद्देश्यले अघि सारिएको पछिल्लो युद्धविराम प्रयास पनि सफल हुन सकेन ।

    यता, युक्रेनले रुसको भित्री भू–भागसम्म प्रहार गर्न सक्ने लामो दूरीका हतियार प्रयोग गर्दै तेल प्रशोधन केन्द्रहरूलाई निशाना बनाइरहेको छ । आइतबार युक्रेनले रुसतर्फ एक हजारभन्दा बढी ड्रोन प्रहार गरेको जनाएको छ । ती आक्रमणका कारण सेन्ट पिटर्सबर्गस्थित तेल निर्यात टर्मिनल र भण्डारण केन्द्रमा आगलागी भएको विवरण सार्वजनिक भएको छ ।

    पश्चिमा विश्लेषक तथा अधिकारीहरूका अनुसार, युक्रेनलाई प्राप्त हुने विदेशी सहयोग कमजोर हुने समयसम्म पर्खेर आफ्नो सैन्य शक्तिको बलमा अघि बढ्न सकिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आकलन छ । युक्रेनमा भने अमेरिकी सहयोग घट्न सक्ने चिन्ता बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan