Tuesday 27th of October | २०८३ कार्तिक ११ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जोर्डनको चर्च आक्रमणमा तीन जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १० सोमबार | (रासस/एएफपी)

जोर्डनको ग्रीक अर्थोडक्स चर्चमा भएको आक्रमणमा नौ जनाको मृत्यु र २५ जना घाइते भएपछि सुरक्षा अधिकारीहरूले घटनामा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेका छन् । सरकारी टेलिभिजनका अनुसार सोमबार विशेष अनुसन्धान तथा छापा टोलीले संयुक्त सुरक्षा अभियान सञ्चालन गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउका क्रममा भएको सशस्त्र झडपमा तीनै जना घाइते भएका छन् ।

    जोर्डनका अधिकारीहरूका अनुसार शुक्रबार काराक प्रान्तको हम्मौद गाउँस्थित सेन्ट जर्ज चर्च परिसरमा अन्त्येष्टि जुलुस चलिरहेका बेला बन्दुकधारीहरूले आक्रमण गरी गोली चलाएका थिए । सरकारी प्रसारकले सामाजिक सञ्जाल एक्समा पक्राउ परेका तीनै जनालाई आक्रमणका लागि जिम्मेवार आतङ्ककारीका रूपमा उल्लेख गरेको छ ।

    मुस्लिम बहुल जोर्डनमा काराक इसाई समुदायको महत्त्वपूर्ण बसोबास क्षेत्र हो । देशको कुल जनसङ्ख्यामा इसाईहरूको हिस्सा दुईदेखि तीन प्रतिशत रहेको छ ।

    जोर्डनका गृहमन्त्री माजेन अल–फरायाले सोमबार एक्समा लेख्दै आक्रमणकारी पक्राउ परिसकेको र युवाहरूलाई चरमपन्थतर्फ धकेल्ने परिस्थितिबारे अनुसन्धान भइरहेको बताउनुभयो । घटनामा संलग्न भएको पाइने सबैलाई जवाफदेही बनाइने उहाँले उल्लेख गर्नुभयो ।

    आक्रमणपछि पीडित परिवारसँग भेट गर्नुभएका राजा अब्दुल्लाह द्वितीयले शनिबार राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा नागरिकको सुरक्षा राष्ट्रिय प्राथमिकता भएको बताउनुभएको थियो । उहाँले जोर्डनका नागरिकको सुरक्षामा कुनै सम्झौता नगरिने स्पष्ट पार्दै आक्रमणमा संलग्न प्रत्येक आतङ्ककारीलाई कानुनी कारबाहीको दायरामा ल्याइने बताउनुभयो । शुक्रबारको गोलीकाण्डमा संलग्नलाई कठोर कारबाही गरिने उहाँको भनाइ थियो ।

    प्रधानमन्त्री जाफर हसनले घटनाप्रति शोक व्यक्त गर्दै सरकारी तथा सार्वजनिक संस्थामा राष्ट्रिय झण्डा आधा झुकाउन र शुक्रबारदेखि तीन दिन राष्ट्रिय शोक मनाउन आदेश दिनुभएको थियो ।

    आइतबार मृत्यु भएका नौ जनामध्ये आठ जनाको चर्च नजिकै अन्त्येष्टि गरिएको थियो । अन्त्येष्टिमा ठूलो सङ्ख्यामा मानिस सहभागी भएका थिए । एएफपीका तस्बिरमा धार्मिक अगुवाहरूको उपस्थिति र कडा सुरक्षा व्यवस्थाबीच झण्डाले ढाकिएका शवपेटिका शोकाकुल भीडको बीचबाट लगिएको देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan