Tuesday 27th of October | २०८३ कार्तिक ११ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

फुकेटमा बाढी, करिब एक सय परिवार प्रभावित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १० सोमबार | (रासस/एपी)

भारी वर्षापछि थाइल्यान्डको दक्षिणी टापु प्रान्त फुकेटका तीनवटै जिल्लामा बाढी आएको छ । बाढीबाट राजधानी फुकेट सहरसहित विभिन्न क्षेत्र प्रभावित भएका छन् भने करिब एक सय परिवार समस्यामा परेका छन् । अधिकारीहरूका अनुसार बाढीबाट मानवीय क्षति भएको खबर छैन ।

    प्रान्तीय उपगभर्नर रोम्डन हयावेले सोमबार राति परेको भारी वर्षापछि आएको बाढीको पानी सोमबार बिहान ढिलोसम्म घट्न थाले पनि केही तल्लो क्षेत्र अझै डुबानमा रहेको बताउनुभयो । उहाँले साना सवारीसाधनलाई बाढी प्रभावित क्षेत्रबाट टाढा रहन आग्रह गर्नुभएको छ ।

    उहाँका अनुसार प्रान्तका केही भागमा पहिरोसमेत गएको छ । अधिकारीहरूले पहिरोबाट खसेको माटो र ढुङ्गा नहरमा पुग्न तथा जलमार्ग अवरुद्ध हुन नदिन काम गरिरहेका छन् ।

    सामाजिक सञ्जालमा सार्वजनिक तस्बिर र भिडियोमा बाढीको पानी आवासीय क्षेत्रमा पसेको र सडकहरू डुबानमा परेर आवागमन अवरुद्ध भएको देखिन्छ । बाढीले बगाएर ल्याएको माटो र चट्टानमा केही सवारीसाधन आंशिक रूपमा पुरिएका छन् ।

    थाइल्यान्डको मौसम विभागले बुधबारसम्म दक्षिणी क्षेत्रमा भारी तथा निरन्तर वर्षा हुने चेतावनी दिएको छ । यसले थप आकस्मिक बाढी र पहिरो निम्त्याउन सक्ने विभागले जनाएको छ ।

    विपद् रोकथाम तथा न्यूनीकरण विभागका अनुसार मध्य सेप्टेम्बरदेखि थाइल्यान्डका विभिन्न भागमा बाढी आएको छ । सोमबारसम्म बाढीका कारण कम्तीमा ८३ जनाको मृत्यु भएको छ । सेप्टेम्बरको अन्त्यमा केही दिनसम्म परेको भारी वर्षाले राजधानी बैङ्ककसमेत डुबानमा परेको थियो । त्यसबाट हजारौँ मानिसलाई सुरक्षित स्थानमा सार्नुपरेको थियो भने जनजीवनमा गम्भीर अवरोध उत्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan