बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल
राँझा (बाँके), ११ कात्तिकः वर्षायाममा रोकिएको जङ्गल सफारी पुनःसुरु भएसँगै बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल सुरु भएको छ ।
मनसुन सकिएसँगै हरियालीले सजिएको निकुञ्जका कच्ची बाटा मर्मत गरी पर्यटकका लागि जङ्गल सफारी पुनः खुला गरिएको गाभर भ्याली सामुदायिक घरबास ‘होमस्टे’का अध्यक्ष कृष्ण चौधरीले बताउनुभयो ।
उहाँका अनुसार, नेपालको सबैभन्दा कान्छो राष्ट्रिय निकुञ्जका रूपमा चिनिने बाँके राष्ट्रिय निकुञ्ज जैविक विविधतले भरिपूर्ण छ । यहाँ पाइने दुर्लभ र संरक्षित वन्यजन्तु ‘चौसिङ्गा’ (चारवटा सिङ भएको मृग) यस निकुञ्जको मुख्य आकर्षण हो । चौसिङ्गासँगै पाटेबाघ, हात्ती, गैँडा, चितुवा, र विभिन्न प्रजातिका चराचुरुङ्गीको अवलोकन गर्न पाउँदा यहाँ पुग्ने जो कोही रोमाञ्चित हुन्छन् ।
यसपटक पर्यटकलाई आकर्षित गर्न निकुञ्ज र स्थानीय पर्यटन व्यवसायीले विशेष छुटसहित मात्र रु एक हजारको नयाँ प्याकेज समेत सार्वजनिक गरेका छन् । जसले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउन थालेको छ । योे प्याकेजले मध्यमवर्गीय र युवा पर्यटकलाई निकै आकर्षित गरेको छ । यस प्याकेजले कम खर्चमै जङ्गल सफारी र वन्यजन्तु अवलोकनको अनुभव दिलाउने चौधरीले बताउनुभयो ।
“वर्षातपछि जङ्गलको रूप नै फेरिएको छ । चारैतिर हरियाली र ताजा हावा छ,” गाभर भ्यालीका अध्यक्ष चौधरीले भन्नुभयो, “जङ्गल सफारी पुनः सुरु भएसँगै पर्यटकको आगमन बढ्न थालेको छ । हामी उहाँहरूलाई स्थानीय परिकार र संस्कृतिले स्वागत गर्न आतुर छौँ ।”
पश्चिम नेपालमा सुलभ मूल्यमा साहसिक र प्राकृतिक यात्रा गर्न चाहनेका लागि बाँके राष्ट्रिय निकुञ्ज र गाभर भ्याली अहिले उत्कृष्ट गन्तव्य बनेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष चिरञ्जीवी वलीले बताउनुभयो ।
“सहरी कोलाहलबाट मुक्त भई प्रकृति र स्थानीय संस्कृतिको नजिक पुग्न चाहने पर्यटकका लागि यो मौसम उपयुक्त अवसर हो,” उहाँले भन्नुभयो, “वर्षायामको हरियाली र ओसिलो जङ्गलको आफ्नै आकर्षण हुन्छ भने हिउँदमा जङ्गलको दृश्य, वन्यजन्तको गतिविधि नियाल्ने अवसर र खुला मौसमले सफारीलाई फरक अनुभव दिन सक्छ ।”
जीपमा बसेर जङ्गलका घुमाउरा बाटा पार गर्दै वन्यजन्तुको खोजी गर्नु, चराचुरुङ्गीको आवाज सुन्नु, प्राकृतिक वनस्पति नियाल्नु र जङ्गलको विशालतालाई महसुस गर्नु आपैmँमा एउटा विशेष अनुभव हुने अध्यक्ष वलीले बताउनुभयो ।
बाँके राष्ट्रिय निकुञ्जप्रति पर्यटकको आकर्षण बढ्न थालेको छ् । आर्थिक वर्ष २०८२÷०८३ मा निकुञ्जमा एक हजार ४६६ पर्यटक पुगेका थिए । अघिल्लो आर्थिक वर्ष यो संख्या ६२० र २०८०÷०८१ मा ४४४ थियो । बाँके राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवद्र्धनको लागि निजी क्षेत्रसँग समन्वय गरेर विशेष योजनाका साथ अगाडि बढेको निकुञ्जका प्रमुख वार्डेन वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिनुभयो ।

