Wednesday 28th of October | २०८३ कार्तिक १२ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सहकारीले गाउँमै दूध सङ्कलन गरेपछि किसानलाई सहज

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १२ बुधबार | (रासस)

घोराही (दाङ), ११ कात्तिकः घोराही उपमहानगरपालिका–१ सुकाखोलाका बमबहादुर थापाले दैनिक ९५ लिटर दूध उत्पादन गर्नुहुन्छ । उहाँलाई पछिल्लो समय दूध कहाँ बिक्री गर्ने भन्ने चिन्ता छैन ।

यहीँ कात्तिक १ गतेबाट घोराही उपमहानगरपालिका–२ रामपुरमा रहेको साना किसान कृषि सहकारी संस्थाले दूध किनेर बिक्रीको प्रबन्ध मिलाएको छ । जसले गर्दा संस्थाका सदस्य तथा वडा नं १, २ र ४ का पशुपालक किसानलाई सहज भएको उहाँ बताउनुहुन्छ ।
 
थापालाई मात्र होइन उहाँजस्तै धेरै किसानलाई दूध बिक्रीका लागि घोराही आउनुपर्ने बाध्यता हटेको छ । “आफू नै आवद्ध भएको सहकारी संस्थामा दिन्छौँ”, थापाले भन्नुभयोे, “सहकारीमार्फत दूध बेच्न निकै सजिलो भएको छ ।” मासिक करिब रु दुई लाखको दूध घरनजिकैबाट बिक्री गर्न पाउँदा उहाँ खुसी हुनुहुन्छ । मासिक रूपमा एक एक लाख ८० हजारदेखि दुई लाखसम्मको कारोकार गर्दै आएको र त्यसबाट आधा रकम बचत गर्ने गरेको उहाँले बताउनुभयो ।
 
विसं २०७७ बाट सुकाली गाई फार्म सञ्चालन गरेर गाईपालन गर्दै आउनुभएका थापाको फार्ममा अहिले सानाठूला गरेर २१ वटा गाई छन् । उमेरले ४२ वर्ष पुग्नुभएका उहाँले दूध बिक्रीका लागि घोराही आउनुपर्ने बाध्यता अन्त्य हुँदा पैसा र समयको बचत भएकाले यो कार्यलाई सहकारीले आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने उहाँको भनाइ छ ।

पछिल्लो समय गाउँमै सहकारीले दूध सङ्कलन गर्न थालेपछि बजारका डेरीहरूले दूध नपाइने चिन्ताले पशु सुत्केरी भत्ताबापत रु दुई हजार ५०० दिने कार्य यहीँ कात्तिक १ गतेबाट सुरु गरेको हुँदा यसले अन्य किसानलाई फाइदा पुगेको उहाँले बताउनुभयो । 

हाल सहकारीले किसानबाट दैनिक ७५० लिटर बढी दूध सङ्कलन गर्दै आएको संस्थाका अध्यक्ष गुरुप्रसाद खनाले बताउनुभयो । संस्थाका सदस्यलाई अनिवार्य र अन्य किसानले लिए राख्ने गरिएको उहाँको भनाइ छ । अध्यक्ष खनाल स्वयंले पनि पशुपालन गर्दै आउनुभएको छ । उहाँले दैनिक १०० लिटरभन्दा बढी दूध उत्पादन गर्दै आएको बताउनुभयो । उहाँको फार्ममा अहिले सानाठूला गरेर २० वटा गाई छन् ।
 
“किसानबाट भैँसीको ८० रुपैयाँ र गाईको दूध ७० रुपैयाँ लिटर खरिद गर्दै आएका छौँै”, अध्यक्ष खनालले भन्नुभयोे, “आफूहरूले होलसेलमा भैँसीको ८५ रुपैयाँ र गाईको दूध भने ७५ रुपैयाँ लिटर बिक्री गर्ने गरिएको उहाँले बताउनुभयो । यसअघि किसानले भैँसीको ७५ र गाईको ६३ रुपैयाँ लिटरमा बिक्री गर्दै आएका थिए । किसानबाट खरिद गरिएको दूध सहकारीमा आवद्ध सदस्यले सञ्चालन गरेको डेरीमै दिने र बाँकी अन्य डेरीलाई पनि दिने गरिएको उहाँको भनाइ छ । 

चैतदेखि तिहारसम्म डेरीहरूले जति पनि दूध सङ्कलन गरिदिने र त्यसपछि दूध बिक्री गर्न समस्या हुने भएकाले सहकारीमार्फत यो कार्यक्रमको थालनी गरिएको उहाँ बताउनुहुन्छ । भोलिका दिनमा सहकारीकैै डेरी सञ्चालन गरी बिक्री गर्ने योजनासमेत रहेको उहाँको भनाइ छ । 

अझै पनि किसानले पर्याप्त मूल्य नपाएको हुँदा भविष्यमा किसानलाई फाइदा हुने हिसाबले काम गर्ने बताउनुभयो । दूध एनालाइजर मेसिन लिएर त्यसअनुसारको किसानलाई मूल्य दिने योजना रहेको सुनाउनुभयो ।

हाल यस सहकारी संस्थामा एक हजार ३०० सदस्य रहेका छन् । जसमा ४०० सदस्यले सहकारीबाट दूध बिक्री गर्ने गरेका छन् । घरैपिच्छेका किसान दूध बेच्न घोराही बजार आउँदा समस्या भएपछि सहकारीले दूध सङ्कलन गेरर बिक्री गर्दा सहज भएको किसान बताउँछन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan