आठौँ पश्चिम म्याग्दी कपको उपाधि आयोजकलाई
म्याग्दी, ११ कात्तिकः म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा बुधबार सम्पन्न आठौँ पश्चिम म्याग्दी कप ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिताको उपाधि आयोजकले जितेको छ ।
पश्चिम म्याग्दी युवा क्लबले बडादसैँ पर्वको अवसरमा आयोजना गरेको प्रतियोगिताको फाइनलमा आयोजकको ‘ए’ टोली विजेता र ‘बि’ उपविजेता भएका हुन् । ‘ए’ टिमले ‘बि’लाई शून्यका विरुद्ध दुई गोल गरेर विजयी भएको क्लवका सचिव विमल शर्माले जानकारी दिनुभयो ।
दसैँ पर्वको अवसरमा पाँच दिनसम्म सञ्चालन भएको प्रतियोगितामा २५ समूहले सहभागिता जनाएका थिए । प्रतियोगिताको विजेता र उपविजेताले ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद रु एक लाख ११ हजार १११ र रु ७७ हजार ७७७ नगद पुरस्कार प्राप्त गरेका क्लबका सचिव शर्माले जानकारी दिनुभयो ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठ, मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोका, समितिका सचिव नगेन्द्र मल्ल, सदस्य सोहन श्रेष्ठलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

