नागरिकको मन र मत जित्नेगरी जागरण अभियान चलाउँछौँः महामन्त्री डा सङ्ग्रौला
काठमाडौँ, १२ कात्तिकः नेपाली कांग्रेसकी महामन्त्री डा डिला सङ्ग्रौला पन्तले पार्टीले नागरिकको मन र मत जित्नेगरी जागरण अभियान चलाउने बताउनुभएको छ । पार्टीको १५औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित हुनुभएकी उहाँले आज शपथग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै आगामी निर्वाचनमा नागरिकको मन र मत जित्नेगरी नागरिक केन्द्रित अभियानमा कांग्रेस लाग्ने बताउनुभएको हो ।
डा सङ्ग्रौलाले नेपाली कांग्रेससामु आन्तरिक तथा बाह्य रूपमा थुप्रै चुनौती रहेको भन्दै उक्त चुनौतीलाई चिर्दै पार्टीलाई आमनागरिकको आशा र भरोसाको केन्द्र बनाउने बताउनुभयो । विगतमा मत परिवर्तन गरेका नागरिकको मन र मत दुवै पुन कांग्रेसतर्फ फर्काउने सङ्कल्पका साथ पार्टीले विशेष निर्णय गर्ने उल्लेख गर्नुभयो । उहाँले पार्टीको १५औँ महाधिवेशनबाट पारित नीतिलाई जनताको माझसम्म पुर्याउन एकमहिने जागरण अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो । अभियानले नेपाली कांग्रेसलाई बृहत् रूपमा एकताबद्ध बनाउन र जोड्न महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ ।
महामन्त्री डा सङ्ग्रौलाले पार्टीको १५औँ महाधिवेशनमा बाहिर रहेका सबै नेता-कार्यकर्तालाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । लोकतन्त्रको सुदृढीकरण र पार्टीलाई आजको अवस्थासम्म पुर्याउन योगदान पुर्याएका सहिद तथा अग्रज नेताहरूप्रति उच्च सम्मान प्रकट गर्दै पार्टीले उहाँहरुलाई एकताबद्ध बनाएर लैजाने निर्णय गरिसकेको महामन्त्री डा सङ्ग्रौलाको भनाइ थियो । उहाँले लामो समयदेखि पार्टीमा सक्रिय योगदान पुर्याएर पनि केन्द्रीय समितिमा पुग्न नपाएका निष्ठावान् महिला दिदीबहिनीको पहिचान गरी उनीहरूलाई मनोनयनमार्फत उल्लेख्य सङ्ख्यामा अवसर दिलाउन आफूले विशेष पहल गर्ने बताउनुभयो ।

