वर्षाले प्रभावित एनपिएलमा विराटनगर र सुदूरपश्चिमबीच पाँच ओभरको प्रतिस्पर्धा
काठमाडौँ । वर्षाका कारण प्रभावित नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ अन्तर्गत विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीचको खेल पाँच–पाँच ओभरमा हुने भएको छ। वर्षा रोकिएपछि मैदानको अवस्था अनुकूल बनाउँदै आयोजकले खेल सञ्चालन गर्ने तयारी गरेको हो।
खेल तालिकाअनुसार दुवै टोलीबीचको प्रतिस्पर्धाका लागि साँझ ७ः२५ बजे टस हुने र ७ः४१ बजे खेल सुरु हुने जानकारी दिइएको छ। वर्षाका कारण निर्धारित समयमा खेल सञ्चालन हुन नसकेपछि ओभर घटाएर प्रतिस्पर्धा गराउन लागिएको हो।
यसअघि शनिबार नै हुने तालिका रहेको साविक विजेता लुम्बिनी लायन्स र चितवन राइनोजबीचको पहिलो खेल भने वर्षाका कारण रद्द भएको थियो। खेल रद्द भएपछि दुवै टोलीले एक–एक अंक बाँडेका छन्। यससँगै लुम्बिनी र चितवनको समान तीन अंक पुगेको छ। दुवै टोलीले प्रतियोगिताको आफ्नो पहिलो खेलमा जित निकालेका थिए।

