Monday 2nd of November | २०८३ कार्तिक १६ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

यारी भन्सारको राजस्व लक्ष्यभन्दा तीन गुणा बढी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १६ सोमबार | (रासस)

हुम्ला, १६ कात्तिक  : चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाका हिल्सास्थित यारी भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३ मा कर्मचारी अभाव, इन्टरनेट, सञ्चार, सडक र मौसम प्रतिकूलताबीच  लक्ष्यभन्दा तीन गुणाभन्दा बढी राजस्व सङ्कलन गरेको छ । 

उक्त कार्यालयका प्रमुख रामराज जैसीका अनुसार त्यस आवमा रु छ लाख द्ई हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकोमा लक्ष्यको तुलनामा तीन गुणाभन्दा बढी अर्थात रु १९ लाख छ हजार सङ्कलन भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार चालु आर्थिक वर्ष २०८३÷८४ मा रु छ लाख ४३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएमा हालसम्म रु दुई लाख राजस्व सङ्कलन भएको छ । त्यस नाकाबाट आयात सिमेन्ट, छड तथा अन्य विलासिताका सामग्री आयात हुँदा अन्तःशुल्कसमेत उठ्ने गरेको पाइएकोे छ ।

भन्सारसम्बन्धी अनलाइन प्रणाली सञ्चालन गर्न आवश्यक इन्टरनेट सेवा प्रभावकारी नहुँदा दैनिक कामकाजमै रेकर्ड राख्नुपर्ने बाध्यता रहेको उहाँले जानकारी दिनुभयो । उक्त भन्सार कार्यालयमा भौगोलिक विकटता र प्रतिकूल मौसमका कारण कर्मचारीको  समेत अभाव रहेको बताइएको छ । 

त्यस क्षेत्रमा पुग्ने सडक पहुँचको असहज अवस्था र बारम्बार हुने हिमपातले कर्मचारीलाई स्थायी रुपमा टिकाउन समस्या परेको जानकारी दिइएको छ  । त्यहाँ खटिएका कतिपय जनशक्तिलाई भन्सार प्रक्रिया र करसम्बन्धी जानकारी कमीले पनि राजस्व सङ्कलन र भन्सार सेवा व्यवस्थापनमा चुनौती रहेको प्रमुख जैसीले बताउनुभयो ।

हिल्सा नाकामा आवश्यक क्वारेन्टाइनको व्यवस्था नहुँदा विशेषगरी कृषि तथा पशुजन्य वस्तुको निर्यातमा समस्या हुने गरेको छ । त्यस क्षेत्रमा आवश्यक पूर्वाधार र प्राविधिक व्यवस्थापन नहुँदा नाकाबाट सम्भावित व्यापारिक गतिविधिलाई थप विस्तार गर्न कठिनाइ भइरहेको कार्यालयले जनाएको छ ।

पश्चिम नेपालबाट चीनसँगको व्यापारिक सम्बन्ध र सीमावर्ती व्यापारका दृष्टिले महत्त्वपूर्ण मानिने हिल्सा नाकामा भन्सार पूर्वाधार, दक्ष जनशक्ति, भरपर्दो सञ्चार तथा इन्टरनेट सेवा र क्वारेन्टाइन व्यवस्थापन गर्न सके व्यापारिक गतिविधि विस्तारसँगै राजस्व सङ्कलनमा समेत वृद्धि हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan