सडक सुधारका लागि एडिबीको ३०५ मिलियन डलर सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं । सरकारले सडक सुधारका लागि एसियाली विकास बैंक (एडिबी) बाट प्राप्त हुने २८५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण र २० मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा उक्त सहायता स्वीकार गर्ने निर्णय गरेको हो।
बैठकले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा नेपाल सरकारको थप हकप्रद शेयर लगानी गर्न पनि सहमति प्रदान गरेको छ।
त्यसैगरी, कृषि, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा नानो फर्टिलाइजर, बायोस्टिमुलेन्ट तथा व्यावसायिक रूपमा उत्पादन र बिक्री वितरण हुने जैविक एवं प्राङ्गारिक मललाई आवश्यक पदार्थको सूचीमा समावेश गर्ने निर्णय गरेको छ। साथै, ‘मल नियन्त्रण आदेश, २०८३’ स्वीकृत गर्ने निर्णयसमेत भएको छ।
परराष्ट्र मन्त्रालयको प्रस्तावमा तुर्किए (टर्की) को आन्ताल्यामा आगामी कात्तिक २३ देखि मङ्सिर ४ गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन उच्चस्तरीय प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ।
यसैगरी, मोही लागेको जग्गाको जग्गावाला र मोहीले जग्गा बाँडफाँट गरी लिन निवेदन दिनुपर्ने अवधि २०८५ कात्तिक मसान्तसम्म थप गर्ने निर्णय भएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा यस्तो जग्गाको बाँडफाँटसम्बन्धी कारबाही २०८६ असार मसान्तसम्म टुङ्ग्याइसक्नुपर्ने गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्न स्वीकृति दिने निर्णय गरिएको हो।
मन्त्रिपरिषद् बैठकले प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णयसमेत गरेको छ।

