ग्रिनल्याण्डमा अमेरिकी सैन्य उपस्थिति विस्तार गर्ने सम्झौता अनुमोदन
नुक (ग्रिनल्याण्ड), १८ कात्तिक : ग्रिनल्याण्डको संसद्ले अमेरिका र डेनमार्कसँग भएको सुरक्षा सम्झौता अनुमोदन गरेको छ । रणनीतिक रूपमा महत्त्वपूर्ण आर्कटिक क्षेत्रस्थित यस टापुमा सुरक्षा सहकार्य विस्तार गर्ने र अमेरिकी सैन्य उपस्थिति बढाउने उद्देश्यले गरिएको सम्झौतालाई संसदीय समर्थन प्राप्त भएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, डेनमार्कका प्रधानमन्त्री मेटे फ्रेडरिक्सन र ग्रिनल्याण्डका प्रधानमन्त्री जेन्स फ्रेडरिक निल्सनले गत सेप्टेम्बर २२ मा हस्ताक्षर गर्नुभएको सम्झौतामा टापुमा अमेरिकी सैन्य उपस्थिति विस्तार गर्ने व्यवस्था छ । साथै, सम्झौताले ग्रिनल्याण्डमाथि डेनमार्कको सार्वभौमिकता र त्यहाँका जनताको आत्मनिर्णयको अधिकारलाई समेत पुनः पुष्टि गरेको छ ।
मङ्गलबार भएको संसदीय मतदानमा १६ सांसदले सम्झौताको पक्षमा मतदान गरेका थिए भने विपक्षमा कसैले पनि मत दिएनन् । सात जना सांसद मतदानमा अनुपस्थित रहे । अधिकांश सांसदले गत महिना भएको प्रारम्भिक छलफलमै सम्झौताको समर्थन गर्ने सङ्केत गरिसकेका थिए ।
ग्रिनल्याण्डका विदेशमन्त्री मुट इगेडले अन्तर्राष्ट्रिय परिस्थिति थप अनिश्चित बन्दै गएको अवस्थामा टापुको सुरक्षा र भविष्यको संरक्षणका लागि सम्झौताको अनुमोदन महत्त्वपूर्ण कदम भएको बताउनुभएको छ ।
ग्रिनल्याण्ड र डेनमार्क दुवैमा आवश्यक संसदीय प्रक्रिया पूरा भएपछि सम्झौता कार्यान्वयनमा आउनेछ । डेनमार्कको संसद्मा नोभेम्बर ११ मा विधेयकमाथि पहिलोपटक छलफल हुने र दोस्रोपटक छलफलपछि नोभेम्बर १९ मा मतदान गर्ने कार्यतालिका रहेको छ ।

