ऊर्जामन्त्रीसँग भारतका विदेश सचिवको शिष्टाचार भेट
काठमाडौँ, १८ कात्तिकः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठसँग भारतको विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेट गर्नुभएको छ ।
ऊर्जा मन्त्रालयमा आज भएको भेटमा दुई देशबीच ऊर्जा व्यापार, जलविद्युत् आयोजनाहरूको निर्माण, विपद् प्रतिकार्य, पूर्वसूचना प्रणालीलगायत विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा मन्त्री श्रेष्ठले नेपालले हालै भोगेका शृङ्खलाबद्ध विपद्मा सहयोग गरेकामा भारत सरकारलाई धन्यवाद दिनुभयो । उहाँले विद्युत् व्यापारलाई बढाउन, नेपालमा सञ्चालित परियोजनाहरू सम्पन्न गर्न र निजी क्षेत्रलाई लगानी अभिवृद्धि गर्न अनुरोध गर्नुभयो ।
विदेश सचिव मिश्रीले भारत ऊर्जा क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताउनुभयो । भेटमा ऊर्जा सचिव डा जगदिश्वर कर्माचार्यसहित ऊर्जा मन्त्रालयका अधिकारीहरू सहभागी हुनुहुन्थ्यो ।
यसैगरी भारतका तर्फबाट भारतीय राजदूत सुधाकर दलेला, भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मनु महावरलगायत सहभागी हुनुहुन्थ्यो ।


