आईजीपी डा. मनोजकुमार केसीलाई गृहमन्त्री गुरुङद्वारा दर्ज्यानी चिह्न प्रदान
काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङले दर्ज्यानी चिह्न प्रदान गरेका छन्। बुधबार गृह मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा गृहमन्त्री गुरुङले नवनियुक्त आईजीपी केसीलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) डा. केसीलाई नेपाल प्रहरीको सर्वोच्च नेतृत्वदायी पदमा नियुक्त गर्ने निर्णय गरेको थियो। सरकारको निर्णयसँगै उनले नेपाल प्रहरीको ३४औँ महानिरीक्षकका रूपमा संगठनको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका हुन्।
दर्ज्यानी चिह्न प्रदान कार्यक्रममा गृह मन्त्रालयका उच्च अधिकारी तथा नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकारीहरूको उपस्थिति रहेको थियो। दर्ज्यानी चिह्न ग्रहण गरेसँगै डा. केसीले औपचारिक रूपमा प्रहरी संगठनको सर्वोच्च कमाण्ड सम्हाल्ने जिम्मेवारी प्राप्त गरेका छन्।
नेपाल प्रहरीको इतिहासमा पहिलो पीएचडी उपाधिधारी प्रहरी महानिरीक्षकका रूपमा समेत डा. केसीको नियुक्तिलाई विशेष रूपमा हेरिएको छ। प्रहरी सेवामा लामो अनुभव, प्रशासनिक दक्षता र शैक्षिक योग्यतासमेत हासिल गरेका केसीको नेतृत्वमा संगठनले नयाँ कार्यदिशा लिने अपेक्षा गरिएको छ।
पछिल्लो समय प्रहरी संगठनभित्र संस्थागत सुधार, सुशासन, व्यावसायिकता, अनुशासन र जनविश्वास अभिवृद्धिको विषय चुनौतीका रूपमा रहँदै आएको छ। यस्तो अवस्थामा नयाँ आईजीपीका लागि संगठनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्दै कानुनको निष्पक्ष कार्यान्वयन गराउनु प्रमुख जिम्मेवारी हुनेछ।
त्यसैगरी अपराध अनुसन्धानलाई प्रभावकारी बनाउने, प्रहरी कर्मचारीको मनोबल उच्च राख्ने, बढुवा तथा सरुवामा पारदर्शिता कायम गर्ने र नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्ने विषय पनि उनको नेतृत्वको प्राथमिकतामा पर्ने अपेक्षा गरिएको छ।
विशेषगरी भ्रष्टाचार, संगठित अपराध, साइबर अपराध, लागुऔषध कारोबार, मानव बेचबिखन तथा सीमा अपराध नियन्त्रणमा प्रहरीको कार्यक्षमता थप सुदृढ बनाउनुपर्ने आवश्यकता छ। अनुसन्धान प्रक्रियालाई प्रमाणमुखी र निष्पक्ष बनाउँदै पहुँच तथा प्रभावका आधारमा कसैलाई उन्मुक्ति नदिने प्रणाली स्थापित गर्नु नयाँ नेतृत्वको अग्निपरीक्षा हुनेछ।
प्रहरी महानिरीक्षकको जिम्मेवारी केवल संगठनको प्रशासनिक नेतृत्वमा सीमित हुँदैन। संविधान र कानुनको परिधिभित्र रहेर नागरिकको सुरक्षा, मानवअधिकारको संरक्षण र शान्ति सुव्यवस्था कायम गर्नु पनि उनको मुख्य दायित्व हो।
नवनियुक्त आईजीपी डा. केसीसामु अब संगठनको साख उकास्ने, प्रहरीको व्यावसायिक क्षमता बढाउने र आम नागरिकमा प्रहरीप्रतिको विश्वास थप मजबुत बनाउने चुनौती र अवसर दुवै छन्।


