कोशी प्रदेशस्तरीय प्रथम गोदावरी प्रदर्शन मेला सुरु
इलाम, १९ कात्तिकः पुष्पखेती तथा व्यवसायको प्रवद्र्धन, स्थानीय उत्पादनको बजारीकरण र व्यावसायिक सम्भावना उजागर गर्ने उद्देश्यले ‘कोशी प्रदेशस्तरीय प्रथम गोदावरी प्रदर्शन मेला–२०८३’ यहाँ सुरु भएको छ । कोशी प्रदेश सरकारको सहयोगमा फ्लोरिकल्चर एसोसिएसन नेपाल इलामले मेला आयोजना गरेको हो ।
मेलाको उद्घाटन गर्दै प्रदेशसभा सदस्य रामबहादुर मगरले इलाममा पुष्प व्यवसायको प्रवद्र्धन र स्थानीय उत्पादनको बजारीकरणमा यस्ता कार्यक्रमले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । मेला यही कात्तिक २१ गतेसम्म सञ्चालन हुने फ्लोरिकल्चर एसोसिएसन नेपाल इलामका अध्यक्ष रञ्जिता याख्खाले जानकारी दिनुभयो ।
‘फूलैफूलमा गोदावरी, पर्यटन र व्यापारको तयारी’ मूल नाराका साथ सुरु भएको मेलामा कोशी प्रदेशका विभिन्न जिल्लाका ३० वटा स्टलमा ४०० बढी फूलका प्रजाति प्रदर्शनमा राखिएका छन् ।
“इलामसहित कोशी प्रदेशका विभिन्न जिल्लाबाट आएका पुष्प व्यवसायीको ३० वटा स्टलमा ४०० बढी प्रजातिका फूल प्रदर्शनीमा राखिएका छन्,” अध्यक्ष याख्खाले भन्नुभयो ।
उहाँका अनुसार प्रदर्शनी मेलामा गोदावरी फूल मुख्य आकर्षणका रुपमा रहे पनि सयपत्री तथा विभिन्न मौसमी फूल, सुनगाभा, विभिन्न वनस्पति, परम्परागत बिरुवा, बोन्साइका बिरुवाको प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् ।
मेलामा करिब पाँच हजार दर्शकले अवलोकन गर्ने र रु ६० लाखसम्म व्यापारिक कारोबार गर्ने लक्ष्य आयोजकको छ ।
पहिलोपटक आयोजना गरिएको मेलाले जिल्लामा पुष्प व्यवसायको सम्भावना र बजार विस्तारलाई थप प्रोत्साहन गर्ने भ्युटावर फूल नर्सरीकी सञ्चालक बुद्धमाया सोङ्मीले बताउनुभयो ।
इलाममा २०० बढी प्रजातिका फूलको व्यावसायिक उत्पादन हुँदै आएको छ । जिल्लाभरि ७० वटा पुष्प नर्सरी व्यावसायिक रुपमा दर्ता भई सञ्चालनमा छन् । इलाम नगरपालिका, सूर्योदय नगरपालिका, सन्दकपुर गाउँपालिका, माङसेबुङ गाउँपालिकालगायत क्षेत्रमा व्यावसायिक पुष्पखेती हुँदै आएको छ ।


