Tuesday 17th of November | २०८३ मङ्सिर १ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दुई तिहाई विरूद्ध प्रचण्ड क्रान्ति

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १ मंगलबार |
newsabhiyan

काठमाडौं, १ मंसिर । कांग्रेस थकित छ, पार्टीभित्रै एक दोस्रालाई खुइल्याउने आक्रोश मत्थर हुन सकेको छैन ।

बुद्धले संघम शरणम् गच्छामी भनेर एकतामा बल हुन्छ भन्ने सन्देश दिएका थिए, नेपाली कांग्रेसभित्र विवाद र बिखण्डनको आगो दन्किएको छ, आगोले काग्रेसलाई शक्तिबाट सडकमा पुर्यायो, पाहा पछारेझैं पछार्यो ।

स्थानीय निर्वाचनमा कांग्रेसको जनविश्वास अझै कमजोर भएर जान सक्नेछ । एमाले रास्वपा र बालेन सरकार विरूद्ध बिद्रोह गर्नुपर्ने भनिरहेको छ । विद्रोहको आवाज एकातिर, संगठन मजबुत बनाएर स्थानीय निर्वाचन जित्ने रणनीति अर्कोतिर आन्तरिक बहस र तयारीमा जुटेको छ ।

सबैभन्दा आक्रोशित माओवादको भारी बिसाएर नेकपा निर्माण गर्दै अध्यक्ष बनेका प्रचण्ड देखिन्छन् । छठ सकियो, अब सडक क्रान्ति गर्ने हो भनेर प्रचण्ड भयानक तयारीमा जुटेको अनुमान गरिदैछ । तर, यिनै जनताले प्रचण्डलाई साथ देलान् र ? संशय बलियो छ ।

किनकि तीन पल्ट प्रधानमन्त्री बन्दा परिवारवाद र भ्रष्टाचारमा अलमलिएका प्रचण्डलाई जनताले गत फागुन २१ को चुनावका लागि चितवन, गोर्खा हुँदै रूकुम पूर्व पुर्यायो । उनको पार्टीको हैसियत पनि बलियो छैन ।

फेरि प्रचण्ड क्रान्तिको डढेलो सल्काउने साहस कुन सामेल र कसको समर्थनमा गरिरहेका छन्, कसले पनि बुझन सकेको देखिदैन । बालेन सरकारलाई जनताले ५ वर्षको म्याण्डेत दिएका छन् ।

बालेनका लागि पार्टीको बिरासतको दायित्व छैन, उनका सामु देश र जनताको काम गर्ने जिम्मेवारी छ । सायद यही कारण कार्यकारी प्रधानमन्त्रीको हैसियतमा उनले पुराना नेताहरूको अनुहार नै हेरेनन्, संसदलाई दिनुपर्ने सम्मान दिएनन्, कतिपय प्रश्नमा जवाफ पनि दिंदैनन् ।

उनको शक्तिको स्रोत अथवा सुदर्शन चक्र भनेको बेदाग अनुहार, इमानदारीता र नैतिकता नै हो । बालेनले गुमाउनुपर्ने केही छैन, कमाउनु पर्ने जनताको सम्मान हो । आजसम्म बालेनप्रति जनविश्वास कायमै देखिन्छ । विश्लेषकहरू भन्छन्–प्रतिपक्षमा देखिनैपर्ने सशक्त अनुहार नै छैन ।

यसकारण बालेनको विकल्प नहुँदा बालेन अझ शक्तिशाली बनेका हुन् । तर, डाइनामिक मानिएका प्रचण्ड थाकेका छैनन् । हाम्रो अनुहार नै हेर्नु नहुने, संसदमा उभिनै नहुने, एक्लै चलाउँछु भन्नेको हैसियत हेरौंला भनेर प्रचण्डमा गजबको छटपटी देखिन्छ र प्रचण्ड क्रान्तिको कुरा गरिरहेका छन् ।

प्रचण्डले क्रान्ति छेडे भने यो नेपालको इतिहासमा अर्को दुर्भाग्य हुनेछ । दुई तिहाईको सरकारलाई सय दिन पनि काम गर्न नदिई बिरोधको आवाज घन्काउने प्रतिपक्षीले ८ महिना पुग्दा के गर्यौ खोई भन्दै क्रान्ति छेड्ने ?

यो क्रान्तिले स्थिरतामा अस्थिरता, शान्तिमा अराजकता घोलिने छ, जुन सुशासन र सुव्यवस्थाका लागि चुनौति बन्नेछ । अब हेर्नुछ, दुई तिहाईको रास्वपा र बालेन सरकाविरूद्ध नेकपाले कस्तो क्रान्ति गर्ने हो ?

नेकपालाई कांग्रेस, एमाले, राप्रपा, मधेशवादी, श्रम संस्कृित पार्टीले कस्तो प्रकारको साथ दिने हुन् । हिजो भारतको संरक्षण साधन, स्रोतमा माओवादीले १० वर्षे जनयुद्ध चलाएको थियो, १७ हजार मारिएका थिए ।

राजतन्त्र समाप्त पारेपछि र ३ पल्ट प्रचण्ड, एकपल्ट बाबुराम र एकपल्ट माधव नेपालको सरकारलाई साथ दिएर भारतले उठाउनुपर्ने सावाँ ब्याज चुक्ता गरेपछि साथ छाडिदियो, जसका कारण अध्यक्ष प्रचण्डले माओवादलाई बिसाएर नेकपा गठन गर्नुपरेको बिगत छ ।

राजतन्त्र किनारा लगाएपछिका १८ वर्षमा बागमतीमा धेरै पानी बग्यो, राजनीतिमा धेरै घटनाक्रमहरू घटित हुन पुग्यो । जनता निराश हुँदै आक्रोसित हुनपुगे, जनताको कुरा हिजोका ठूला पार्टीहरूले नसुन्दा, जनतामाथि अत्याचार र राष्ट्रिय ढुकुटीमा लूट मच्चाउँदा अमेरिकी राष्ट्रपतिले नेताहरूलाई फ्रड नै भनिदिए ।

१८ वर्षे लोकतन्त्रको अवधिका ठूला, मझ्यौला नेताहरू भ्रष्टाचारमा डामिएका छन्, नागरिकलाई शरणार्थी बनाएर बेचेको दाग लागेको छ राष्ट्रिय सम्पत्तिको बिचलन गरेको र लोकतन्त्रलाई लूटतन्त्रका रूपमा चलाएकोमा जनता रूष्ठ छन् । संघीयता जनताले मन पराएनन्, धर्मनिरपेक्षता पनि जनताको चाहना थिएन ।

जनताले खोजेको सुशासन पाएनन्, निरंकूशता झेल्नपुर्यो । यसकारण जेनजी विद्रोह उठ्यो । जेनजीलाई जनताले साथ दिए, विश्वमै जेनजी विद्रोहले लोकतन्त्र, झूठतन्त्र, लूटतन्त्र, सत्ता र शक्तिमा रहेकाहरू सबैलाई लखेटिदिएको उदाहरण नेपाल बन्नपुग्यो ।

संविधानलाई बगर बनाएको जेनजी विद्रोहले ल्याएको परिवर्तनको स्वरूप हो, रास्वपाले पाएको दुई तिहाई र बालने सरकारको निर्माण । जनताले ५ वर्ष काम गर भनेर जुद्ध शमशेरपछिको पहिलो स्थिर सरकारको जनादेशलाई हिजोका भ्रष्ट, असफल शासकहरू फाल्नैपर्छ भनेर क्रान्ति छेड्ने कुरा गरिरहेका खबर गोरखा एक्सप्रेसमा उल्लेख छ ।

क्रान्ति होला कि क्रान्ति गर्नेहरू पाखा लाग्लान् ? बालेन सरकार ढाल्न सक्लान् कि बालेनले यिनलाई ठेगान लगाउलान् ? कतै हिजा आफूले गरेका भ्रष्टाचारको फाइल नखुलोस्, जेल जान नपरोस् भनेर लेनदेनका लागि गरिएको साजिस त होइन, यो क्रान्ति गर्छु भनेर दिएका धमास ?

सरकारको बिरोध गर्नपाइन्छ, तर लोकतान्त्रिक हुँ भन्नेहरूले जनादेशको अवमान्ना गर्नु कति उचित हुन सक्ला ? प्रचण्डले गर्ने क्रान्तिमा ऐतिहासिक धोका पाइसकेको ऐतिहासिक पार्टीहरूले साथ देलान् कि नदेलान् ? तिनको सिद्धान्त पनि अब देखिएला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan