Wednesday 18th of November | २०८३ मङ्सिर २ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हुलाकी सडकले फेरिँदै दुर्गम गाउँको मुहार

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर २ बुधबार | रासस
newsabhiyan

 राँझा (बाँके), २ मङ्सिरः हुलाकी सडक निर्माणसँगै बाँकेका दुर्गम गाउँको आवागमन सहज भएको छ । सडक सञ्जाल विस्तार भएपछि राप्ती सोनारी गाउँपालिकाका बैजापुर, बिनौना र फत्तेपुर तथा नरैनापुर क्षेत्रका बासिन्दालाई सदरमुकाम नेपालगञ्ज आउजाउ गर्न सहज भएको छ ।

    हुलाकी सडकले राप्ती सोनारीको बैजापुरदेखि नरैनापुरको सुइया बघौडासम्मका क्षेत्रलाई नेपालगञ्जसँग सिधा जोडेको छ । विगतमा दुर्गम मानिने नरैनापुरबाट अहिले आधा घण्टामै नेपालगञ्ज पुग्न सकिने नरैनापुरका स्थानीय अगुवा सोहनलाल यादवले बताउनुभयो ।

    “पहिले भारतको बाटो हुँदै नेपालगञ्ज पुग्नुपथ्र्यो, अहिले आधा घण्टामै पुगिन्छ,” उहाँले भन्नुभयो, “हुलाकी सडक नरैनापुरवासीका लागि जीवनरेखा बनेको छ ।”

    उहाँका अनुसार बाँकेमा राप्ती सोनारीको फत्तेपुरस्थित कुण्डादेखि बैजापुरको नारायणपुरसम्म २१ किलोमिटर, नेपालगञ्ज–गुलरिया सडकखण्डको २८ किलोमिटर र नेपालगञ्जको पुष्पलाल चोकदेखि पूर्वतर्फ १० किलोमिटर हुलाकी सडक निर्माण भएपछि ग्रामीण क्षेत्रको आवागमन सहज भएको हो ।

    हुलाकी सडक निर्माणसँगै राप्ती नदीपारिका बैजापुर, बिनौना र फत्तेपुर क्षेत्रमा आर्थिक तथा व्यावसायिक गतिविधि बढेको राप्ती सोनारी गाउँपालिका–३ का वडाध्यक्ष मीनकुमार चौधरीले बताउनुभयो । “हुलाकी सडक बनेपछि सोनारी क्षेत्रका जनताले विकासको अनुभूति गर्न पाएका छन् । व्यावसायिक कारोबार बढेको छ,” उहाँले भन्नुभयो, “मानिसको आवागमन र चहलपहल बढेसँगै घरेलु तथा साना उद्योग र व्यवसाय पनि फस्टाउँदै गएका छन् ।”

    सडक निर्माणपछि राप्तीपारिका धार्मिक तथा पर्यटकीयस्थलमा आन्तरिक पर्यटकको आवागमन पनि बढेको उहाँले बताउनुभयो । बैजापुरस्थित प्रसिद्ध भुवरभवानी मन्दिर, बाबा बर्फानी तथा बिनौनास्थित धुमैया उद्यान र नवनिर्मित राप्ती पुलमा घुम्न जानेको सङ्ख्या बढ्दै गएको उहाँको भनाइ छ ।

    हुलाकी सडकसहितका पूर्वाधार विकासले सोनारी क्षेत्रका बासिन्दाको आर्थिक तथा सामाजिक जीवनस्तरमा सकारात्मक प्रभाव पारेको राप्ती सोनारी–५ बिनौनास्थित भुवरभवानी माध्यमिक विद्यालयका प्राचार्य चेतबहादुर बिष्टले बताउनुभयो ।

    नेपालगञ्ज–बघौडा हुलाकी सडकसँगै राप्ती सोनारी गाउँपालिका–६ को कुण्डादेखि नारायणपुर हुँदै अगैयामा पूर्व–पश्चिम राजमार्ग जोड्ने सडक विस्तार भएपछि साना तथा ठूला सवारी साधनको आवागमन बढेको उहाँले बताउनुभयो । नेपालगञ्जबाट कोहलपुर हुँदै अगैया पुग्ने मुख्य राजमार्गको तुलनामा यो सडक छोटो पर्ने भएकाले सवारी साधनले उक्त मार्ग प्रयोग गर्न थालेका हुन् ।

    हुलाकी सडकसहितका पूर्वाधार निर्माणले राप्ती सोनारी क्षेत्रमा व्यावसायिक गतिविधि बढाएको स्थानीय अगुवा जमानसिंह वलीले बताउनुभयो । सडकले बाँकेका बासिन्दालाई विकासको अनुभूति गराएको उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan