एक्स्ट्रिम दोस्रो झापा महिला गोल्डकपमा तीन देशका आठ टोलीबीच प्रतिस्पर्धा
झापा, २ मङ्सिरः दोस्रो संस्करणको एक्स्ट्रिम झापा महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपाल, भारत र भुटानका सहित आठ टोलीबीच प्रतिस्पर्धा हुँदैछ ।
शिवसताक्षी नगरपालिका–११ स्थित दुधे रङ्गशालामा हुने प्रतियोगितमा नेपालका तीन विभागीयसहित ती टोलीबीच प्रतिस्पर्धा रहने झापा महिला गोल्डकपका अध्यक्ष सन्तोष थोप्रा लिम्बूले जानकारी दिनुभयो ।
यही मङ्सिर ५ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभागीय टिमका रूपमा नेपाल पुलिस फुटबल क्लब, सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबको सहभागिता रहनेछ ।
प्रतियोगितामा झापा–११ फुटबल क्लब, भारत नयाँ दिल्लीको एभी फुटबल क्लब, भुटानको थिम्पु राभेन महिला फुटबल क्लब, पोखराको आरएस पोखरा फुटबल क्लब र सर्लाहीको बागमती युथ क्लबले प्रतिस्पर्धा गर्ने उहाँले बताउनुभयो ।
प्रतियोगीताका विजयी टोलीलाई रु ११ लाख नगदसहित ट्रफी र मेडल तथा उपविजेताले नगद रु पाँच लाख ५० हजार, ट्रफी र मेडल प्रदान गरिने छ । अघिल्लो संस्करणको तुलनामा यसपटक विजेताको पुरस्कार राशिमा रु ९० हजार र उपविजेताको रु ५० हजारले वृद्धि गरिएको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाइ रु ५० हजारसहित ट्रफी तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही रु २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको पहिलो संस्करणको उपाधि नेपाल पुलिस फुटबल क्लबले हात पारेको थियो । यसपटक भारत र भुटानका टोलीको सहभागिताले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको अध्यक्ष थोप्राले बताउनुभयो । उहाँका अनुसार बिक्री हुने प्रत्येक टिकटबाट १० जना आदिवासी दृष्टिविहीन तथा अटिजम भएका बालबालिकाको सहयोगमा खर्च गरिनेछ ।
प्रतियोगितालाई व्यवस्थित र सहज रूपमा सञ्चालनका लागि रङ्गशालामा अस्थायी प्यारापिटसमेत निर्माण गरिएको छ । उक्त प्यारापिट करिब सात हजार दर्शक क्षमताको छ ।


