त्रिपक्षीय शिखर सम्मेलन उपयोगी हुने पुटिनको अपेक्षा
सेन्जेन (चीन), २ मङ्सिर : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हुने त्रिपक्षीय शिखर सम्मेलनले प्रमुख शक्तिबीचको सम्बन्ध सुधार्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा व्यक्त गर्नुभएको छ ।
बुधबार चीनको सेन्जेनमा आयोजित एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनलाई सम्बोधन गर्दै उहाँले बिहीबार हुने तीन देशका नेताबीचको पहिलो त्रिपक्षीय बैठक अत्यन्त उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
पुटिनले वर्तमान विश्वमा बढ्दो सैन्य तथा राजनीतिक जोखिम र विश्व अर्थतन्त्रमा देखिएको विभाजनका बीच आपसी सहकार्य र संवादको आवश्यकता रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “विभाजनभन्दा एकता, आधिपत्यभन्दा समानता, अलगावभन्दा साझेदारी र अल्टिमेटमभन्दा संवादलाई प्राथमिकता दिनुपर्छ ।”
यसैबीच, सन् २०२२ मा युक्रेनमाथि रुसले आक्रमण गरेपछि मस्कोमाथि पश्चिमी मुलुकहरूले लगाएका आर्थिक प्रतिबन्ध असफल भएको पुटिनले दाबी गर्नुभयो । रुसले ती प्रतिबन्धको सामना गर्दै सम्मानपूर्वक आफ्नो अवस्था कायम राखेको उहाँको भनाइ थियो ।


