Wednesday 18th of November | २०८३ मङ्सिर २ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एआई प्रयोगमा व्यवसायलाई जिम्मेवार बनाउँदै न्युजिल्यान्ड

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर २ बुधबार | (रासस/सिन्ह्वा)

न्युजिल्यान्डको कमर्स कमिसनले व्यवसायमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गर्दा प्रतिस्पर्धा तथा उपभोक्ता संरक्षणसम्बन्धी कानुनी व्यवस्था कसरी लागू हुन्छ भन्ने विषयमा नयाँ निर्देशिका जारी गरेको छ । कमर्स कमिसनकी उपाध्यक्ष एनी क्यालिननले बुधबार जारी गरेको विज्ञप्तिमा एआईले व्यवसाय सञ्चालनको शैलीमा परिवर्तन ल्याए पनि यसले व्यवसायको कानुनी दायित्वमा कुनै परिवर्तन नगर्ने बताउनुभएको छ । उहाँका अनुसार निर्णय मानिसले गरे पनि, एल्गोरिदम वा एआई प्रणालीमार्फत भए पनि त्यसबाट उत्पन्न परिणामको जिम्मेवारी सम्बन्धित व्यवसायले नै लिनुपर्नेछ ।

क्यालिननले एआई प्रयोगका कारण व्यवसायको जवाफदेहिता र जिम्मेवारी कम नहुने उल्लेख गर्दै उपभोक्तालाई उपलब्ध गराइने सूचना सही र विश्वसनीय हुनुपर्ने, व्यावसायिक निर्णय कानुनअनुरूप हुनुपर्ने तथा उपभोक्ताप्रति निष्पक्ष व्यवहार सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।
पछिल्लो समय व्यवसायहरूले व्यावसायिक निर्णय प्रक्रिया, उपभोक्तासँगको अन्तरक्रिया, कारोबार सञ्चालन तथा बजार प्रतिस्पर्धामा एआईको प्रयोग बढाउँदै लगेका छन् ।

नयाँ निर्देशिकाले सन् १९८६ को फेयर ट्रेडिङ एक्ट र कमर्स एक्ट एआई प्रयोग गर्ने व्यवसायमा कसरी लागू हुन्छन् भन्नेबारे स्पष्ट पारेको छ । यसमा सम्भावित कानुनी जोखिम तथा तिनको व्यवस्थापनका व्यावहारिक उपायसमेत समावेश गरिएको छ ।
आयोगले एआई प्रविधिलाई मात्र नियमन गर्नु आफ्नो उद्देश्य नभएको स्पष्ट पार्दै यसले उपभोक्ता, प्रतिस्पर्धा र बजारमा पार्ने प्रभावलाई प्राथमिकतामा राखेको जनाएको छ ।

साथै, व्यवसायका सञ्चालक समिति तथा वरिष्ठ व्यवस्थापन अधिकारीहरूलाई एआईको प्रयोगलाई संस्थागत सुशासनको महत्त्वपूर्ण विषयका रूपमा लिन र यसको प्रयोग तथा प्रभावबारे निरन्तर अनुगमन गर्न आयोगले आग्रह गरेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan