Thursday 19th of November | २०८३ मङ्सिर ३ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

झापामा एकचालिस वर्षपछि ऐतिहासिक कोटी हवन महायज्ञ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ३ बिहीबार | रासस

 

झापा, ३ मङ्सिरः शिवसताक्षी नगरपालिका–११ स्थित प्रसिद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल सताक्षीधाममा आगामी २०८३ माघ ९ गतेदेखि ‘शतकुण्डीय गायत्री कोटी हवन महायज्ञ’ आयोजना हुने भएको छ । 

 

वैदिक सनातन धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ गोलोक गोवर्धन गौशालाको आयोजनामा यो बृहत् धार्मिक अनुष्ठान सञ्चालन हुन लागेको हो । 

 

झापाको धार्मिक इतिहासमा झन्डै चार दशकपछि यो दुर्लभ महायज्ञ हुन लागेको आयोजकले जनाएका छन् । यसअघि विसं २०४२ मा राष्ट्रगुरु योगी नरहरिनाथको अगुवाइमा झापाकै पवित्र कनकाई धाममा एक करोड गायत्री मन्त्रद्वारा हवन गरी कोटी हवन महायज्ञ सम्पन्न गरिएको थियो । 

 

करिब ४१ वर्षको लामो अन्तरालपछि झापाको भूमिमा पुनः कोटी हवन हुन लागेकाले यसलाई पूर्वी नेपालकै एक ऐतिहासिक आध्यात्मिक उत्सवका रूपमा हेरिएको छ ।

 

महायज्ञको पूर्वतयारीस्वरूप यही मङ्सिर ५ गते विशेष धार्मिक अनुष्ठानका साथ भूमिपूजन गर्ने कार्यक्रम तय भएको छ । गोलोक गोवर्धन गौशालाका संरक्षक एवम् अध्यक्ष आचार्य नन्दकिशोरजी भारद्वाजका अनुसार महायज्ञको मुख्य हवन कुण्ड निर्माणका लागि शनिबार  ‘सुनको हलो’ ले भूमि खनी वैदिक विधिअनुसार भूमिपूजन गरिनेछ । 

 

भूमिपूजन समारोहमा नेपालसहित भारत, भूटान, अमेरिका, क्यानडा, अस्ट्रेलियालगायत विश्वका विभिन्न मुलुकबाट आएका विशिष्ट सन्त, महात्मा तथा धार्मिक गुरुको उपस्थिति रहनेछ ।

 

महाभारतकाल र पौराणिक कथासँग जोडिएको शिवसताक्षीधाम पूर्वी नेपालको एक प्रमुख आस्थाको केन्द्र मानिन्छ । महाभारतकालमा पाण्डवले गुप्तवासका क्रममा यस क्षेत्रमा विचरण गरेको तथा सतीदेवीको अङ्ग पतन भई सताक्षी देवीको उत्पत्ति भएको धार्मिक किंवदन्ती रहेकाले यस धामको विशिष्ट आध्यात्मिक महत्व छ । 

 

चुरे पहाडको फेदीमा अवस्थित प्राकृतिक छटाले भरिपूर्ण यस धाममा २०७२ सालमा गोलोक गोवर्धन गौशाला स्थापना भएपछि धार्मिक पर्यटनको गतिविधि फस्टाएको छ । स्थापनाकालदेखि नै गौ संरक्षण र सनातन संस्कृतिको जगेर्नामा सक्रिय यस गौशालामा हाल दुई हजार ५०० गाईको संरक्षण भइरहेको छ । 

 

गौशालाको सक्रियतासँगै धामसम्म पुग्नका लागि सुविधासम्पन्न कालोपत्रे सडक निर्माण भएको छ । धाम परिसरमा दर्जनौँ मठमन्दिर, देवालय, अतिथिगृह, सुविधासम्पन्न गौशाला, रामदरबार तथा द्वादश ज्योतिर्लिङ्गलगायतका आकर्षक धार्मिक संरचना निर्माण भएका छन् ।

 

यहाँ सञ्चालन हुने शतकुण्डीय गायत्री कोटी हवन महायज्ञले शिवसताक्षीधामको धार्मिक तथा पर्यटकीय गरिमालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अझ उचो बनाउने विश्वास लिइएको छ । 

 

विश्व शान्ति, प्राणी कल्याण र वैदिक परम्पराको जगेर्नामा टेवा पु¥याउने यस महायज्ञले स्वदेश तथा विदेशका लाखौँ श्रद्धालु भक्तजनलाई एउटै आध्यात्मिक सूत्रमा जोड्ने आयोजक संस्थाका अध्यक्ष आचार्य भारद्वाजले जानकारी दिनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan