Thursday 19th of November | २०८३ मङ्सिर ३ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एपेक सम्मेलनमा ट्रम्प र सीबीच द्विपक्षीय वार्ता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ३ बिहीबार | (रासस/एएनआई)

सेन्जेन (चीन), ३ मङ्सिर : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बिहीबार चीनको सेन्जेनमा आयोजित ३३औँ एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका अवसरमा द्विपक्षीय वार्ता भएको छ ।

विश्व व्यापार, आणविक हतियार नियन्त्रण र अन्तर्राष्ट्रिय सुरक्षा चुनौतीबीच भएको यस भेटलाई दुई शक्तिराष्ट्रबीचको सम्बन्ध सुधारका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

यसअघि ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि द्विपक्षीय भेट गर्नुभएको थियो । उहाँले पुटिनसँगको भेटबाट सकारात्मक परिणाम आउने विश्वास व्यक्त गर्दै त्यसपछि अर्को बैठकसमेत हुन सक्ने बताउनुभएको थियो ।

ट्रम्पले सी र पुटिनसँग तीनै देशको साझा हित तथा अन्तर्राष्ट्रिय अवसरबारे छलफल गर्न प्रस्तावित त्रिपक्षीय बैठकको प्रतीक्षा गरिरहेको बताउनुभएको थियो । उहाँले यसलाई ऐतिहासिक अवसरको संज्ञासमेत दिनुभएको थियो ।

तीन नेताबीच आणविक हतियार नियन्त्रण, इरानसँग जारी द्वन्द्व, विश्व व्यापार तथा रुस–युक्रेन युद्धलगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

यसअघि सी र पुटिनबीच पनि सेन्जेनमा द्विपक्षीय वार्ता भएको थियो । भेटमा दुवै नेताले चीन–रुस सम्बन्धको सुदृढीकरण र बहुध्रुवीय विश्व व्यवस्थालाई अघि बढाउने प्रतिबद्धता दोहोर्‍याउनुभएको थियो ।

सीले दुई देशबीचको सम्बन्धलाई प्रतिकूल परिस्थितिमा पनि पहाडझैँ अडिग रहेको बताउनुभएको थियो भने पुटिनले चुनौतीपूर्ण अन्तर्राष्ट्रिय परिस्थितिका बाबजुद आपसी राजनीतिक सहकार्य रचनात्मक रहेको उल्लेख गर्नुभएको थियो ।

प्रस्तावित त्रिपक्षीय छलफल अमेरिका र रुसबीचको नयाँ स्टार्ट आणविक हतियार नियन्त्रण सन्धि समाप्त भएपछि अन्तर्राष्ट्रिय हतियार नियन्त्रणको विषयले पुनः महत्त्व पाएका बेला हुन लागेको हो ।

अमेरिकाले चीनलाई पनि व्यापक आणविक हतियार कटौतीसम्बन्धी वार्तामा सहभागी गराउन खोजिरहेको छ । तर चीनले अमेरिका र रुससँग तुलनात्मक रूपमा निकै ठूलो आणविक हतियार भण्डार रहेको भन्दै प्रत्यक्ष वार्तामा सहभागी हुन अनिच्छा देखाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan