Thursday 19th of November | २०८३ मङ्सिर ३ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

फिजी र टोङ्गामा एल निनो खडेरी सङ्कट घोषणा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ३ बिहीबार |

सिड्नी, ३ मङ्सिर : एल निनो मौसम प्रणालीका कारण दक्षिण प्रशान्त क्षेत्रमा खडेरी गम्भीर बन्दै गएपछि फिजी र टोङ्गाले सङ्कट घोषणा गरेका छन् । लामो समयदेखि वर्षा नहुँदा खानेपानी, कृषि तथा पशुपालन प्रभावित भएपछि दुवै देशले आपत्कालीन कदम चालेका हुन् ।

एल निनोका कारण प्रशान्त महासागरका केही भागमा समुद्री सतहको तापक्रम बढ्ने र त्यसले हावा, तापक्रम तथा वर्षाको नियमित चक्रमा परिवर्तन ल्याउने गर्छ । यस क्षेत्रमा देखिएको खडेरी पनि यही मौसमी प्रणालीसँग जोडिएको छ । यसले सामान्यतः हरियाली रहने उष्णकटिबन्धीय टापुहरूमा समेत पानीको अभाव सिर्जना गरेको छ । विज्ञहरूले अहिलेको एल निनो रेकर्डकै शक्तिशालीमध्ये एक हुन सक्ने चेतावनी दिएका छन् ।

फिजी सरकारले खडेरी सङ्कट गम्भीर बनेपछि देशव्यापी विपद् घोषणा गरेको छ । प्रधानमन्त्री सिटिभेनी राबुकाले पानीको उपलब्धता, किसानका बाली तथा पशुधनको अवस्थालाई लिएर सर्वसाधारणमा चिन्ता बढेको बताउनुभएको छ ।

आपत्कालीन व्यवस्थाअन्तर्गत सरकारले पानीको वितरणमा सीमा तोक्ने, प्रभावित बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने तथा विपद् राहतका लागि सार्वजनिक कोष पुनः विनियोजन गर्न सक्नेछ । स्थानीय सञ्चारमाध्यमका अनुसार देशका अधिकांश जलस्रोतको सतह घटेको छ भने पानी अभाव भएका गाउँमा ट्याङ्करमार्फत पानी पुर्‍याउन थालिएको छ ।

प्रधानमन्त्री राबुकाले जलवायु परिवर्तनलाई तत्काल नियन्त्रण गर्न नसकिए पनि उपलब्ध स्रोतको जिम्मेवार उपयोग र सामूहिक प्रयासबाट यसको प्रभाव न्यूनीकरण गर्न सकिने बताउनुभएको छ ।

यसैगरी, लामो समयको खडेरीका कारण देशभर पानीको अभाव भएपछि टोङ्गाले २७ दिने आपत्काल घोषणा गरेको छ । कार्यवाहक प्रधानमन्त्री भिलियामी लाटूले यस घोषणाले आपत्कालीन सेवाको समन्वय र खडेरी प्रभावितलाई राहत उपलब्ध गराउन सहज हुने बताउनुभएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार पछिल्ला प्रतिवेदनहरूले खडेरीका कारण सर्वसाधारण, जलस्रोत, कृषि तथा पशुपालन क्षेत्रमा गम्भीर असर परेको देखाएका छन् । यसले टोङ्गाभरिका नागरिकको स्वास्थ्यमा समेत प्रतिकूल प्रभाव पार्न सक्ने चेतावनी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan