मलेसिया रोजगारी ठगी प्रकरण : पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी
काठमाडौं, ३ मंसिर । मलेसियामा वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि भएको ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पनि अनुसन्धानको दायरामा तानिनुभएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ परेका व्यक्तिहरूमाथि अनुसन्धान गर्ने क्रममा अर्यालको समेत संलग्नता देखिएको जनाएको छ ।
प्रहरीको उच्च स्रोतका अनुसार उहाँविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । तर, अर्याल भने हाल फरार रहनुभएको छ ।
प्रकरणसँग सम्बन्धित कागजातमाथि अनुसन्धान अघि बढेपछि उहाँ सम्पर्कविहीन हुनुभएको स्रोतको दाबी छ ।
यसै प्रकरणमा सीआईबीले बुधबार दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय रहनुभएको छ ।
त्यस्तै, श्रम मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ पनि पक्राउ पर्नुभएको छ ।
मलेसिया रोजगारीका नाममा श्रमिकमाथि भएको ठगी प्रकरणमा सीआईबीले थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।


