नेपाल पर्यटन पत्रकार सङ्घको अध्यक्षमा बाँस्तोला
कास्की, ४ मङ्सिरः देशको पर्यटकीय राजधानी पोखरामा पर्यटन क्षेत्रमा कलम चलाउने पत्रकारहरूको भेलाले नेपाल पर्यटन पत्रकार सङ्घ गठन गरेको छ । सङ्घको अध्यक्षमा हरिप्रसाद बाँस्तोला सर्वसम्मत चयन हुनुभयो । सङ्घको १५ सदस्यीय तदर्थ समिति शुक्रबार जिल्ला प्रशासन कार्यालय कास्कीबाट दर्ता प्रमाणपत्रसमेत प्राप्त गरेको छ ।
सङ्घको उपाध्यक्षमा गोविन्द सुवेदी र कृष्ण श्रेष्ठ (रोजी), महासचिवमा घनश्याम पाण्डे, सचिवमा एकराज गिरी तथा समावेशी सचिवमा विजय नेपाली र कोषाध्यक्षमा चन्द्रिका घिमिरे रहनुभएको छ । सङ्घको सदस्यमा पुष्पराज दाहाल, बालकुमारी पौडेल, बिनाकुमारी थापा, सरिता गुरुङ, दीननाथ बराल, राम गुरुङ, राजु गिरी र रामशरण नेपाली रहनुभएको छ ।
दर्ता प्रमाणपत्र हस्तान्तरण गर्नुहुँदै कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिङ गुरुङले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा सञ्चारमाध्यम तथा पत्रकारिताको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । “नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन पत्रकारिताले योगदान पुर्याउँदै आएको छ”, उहाँले भन्नुभयो ।
सङ्घका अध्यक्ष बाँस्तोलाले पर्यटन पत्रकारहरूको साझा संस्थाका रूपमा सङ्घलाई अघि बढाउने बताउनुभयो । पर्यटन क्षेत्रको विकासका लागि प्रचारप्रसारसँगै खोजमूलक पत्रकारितालाई प्राथमिकता दिइने उल्लेख गर्दै उहाँले सम्भावना भएर पनि ओझेलमा परेका पर्यटकीय गन्तव्य, कला, संस्कृति, प्राकृतिक सम्पदा तथा स्थानीय पर्यटन व्यवसायलाई राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा चिनाउन सङ्घले भूमिका खेल्ने बताउनुभयो ।
सङ्घका महासचिव घनश्याम पाण्डेले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा पत्रकारिताको भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यले सङ्घ स्थापना गरिएको बताउनुभयो । पर्यटकीय गन्तव्यको पहिचान, खोज तथा प्रचारप्रसार गर्दै पर्यटन क्षेत्रका सम्भावनालाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउने कामलाई प्राथमिकता दिइने पाण्डेले बताउनुभयो ।


