Saturday 21st of November | २०८३ मङ्सिर ५ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पुतलीडाडा जोड्ने पदमार्ग पहिचान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ५ शनिबार | रासस

 

म्याग्दी, ५ मङ्सिरः म्याग्दीको धवलागिरी गाउँपालिका–५ मा रहेको पर्यटकीय सम्भावनायुक्त पुतलीडाडाँ जोड्ने पदमार्ग पहिचान भएको छ । 

 

मल्कबाङका जनप्रतिनिधि, अगुवा र प्राविधिकको टोलीले समुन्द्रि सतहदेखि तीन हजार ४५३ मिटर उचाईमा आकर्षक दृष्य अवलोकनस्थलको सम्भावना बोकेको पुतलीडाडा जोड्ने पदमार्ग पहिचान गरेका हुन् । 

 

परापुर्वकालदेखि नै मल्कबाङका बासिन्दा लेकको बुकीमा घरपालुवा जनावरको घुम्ती गोठ लैजान र गाउँ फर्काउन प्रयोग गर्दै आएको बाटो पछ्याउदै पर्यटकीय पदमार्ग पहिचान गरेको धवलागिरी गाउँपालिका–५ का वडा अध्यक्ष अमर छन्त्यालले बताउनुभयो । 

 

“प्रशस्त सम्भावना भएर पनि ओझेलमा परेको पुतलीडाडाँलाई पर्यटकीय गन्तब्यका रूपमा विकास गर्ने उद्देश्यले मल्कबाङदेखि मयालेडाडा हँुदै त्यहाँसम्म पुग्ने परम्परागत मार्ग पहिचान गरेका हौ,” उहाँले भन्नुभयो “पूर्वाधार निर्माण र प्रवर्द्धनका क्रियाकलापलाई सँगसँगै अघि बढाएका छौँ ।” 

 

मल्कवाङदेखि चार घण्टा उकालो पैदलयात्रा गरेपछि पुतलीडाडाँमा पुगिन्छ । पदमार्ग निर्माणका साथै पुतलीडाँडालगायत मल्कबाङको इतिहाँस झल्किने बृत्तचित्र तयार पार्न लागिएको वडा अध्यक्ष छन्त्यालले बताउनुभयो । 

 

गाउँपालिका र समुदायको साझेदारीमा मल्कबाङको इतिहाँस झल्काउने वृत्तचित्र निर्माणका लागि विवरण संकलनका साथै स्थलगत छायाङ्कन तीव्र पारिएको वडाअध्यक्ष छन्त्यालले बताउनुभयो । 

 

मल्कवाङको शिरमा रहेको उक्त पहाडको टाकुरा पुतलीआकारको भएकाले पुतलीडाँडा नामाकरण भएको स्थानीय दबहादुर छन्त्यालले बताउनुभयो । “चुचुरोमा पुगेर गाउँतिर हेर्दा उड्दै गरेको पुतलीको आकारको पहाडको अनौठो दृष्य देखिन्छ,” उहाँले भन्नुभयो “अनौठो पहाडका साथै सुर्योदय, हिमशृङ्खला र म्याग्दीका अधिकांश पहाडी भूगोलका साथै ग्रामिण बस्तिको अवलोकन गर्न सकिन्छ ।” 

 

गाउँका अग्रज र जेष्ठ नागरिकको भनाइका अधारमा पुतलीडाडाँको बिषयमा थप अध्ययन अनुसन्धानका साथै सम्भावनाको उजागर र प्रवर्द्धनमा जुटेको स्थानीय अगुवा भिमप्रसाद छन्त्यालले बताउनुभयो । 

 

खानी खन्ने परम्परागत पेशा भएका छन्त्याल समुदायको बाहूल्य बसोबास रहेको मल्कबाङका किसानले पुतलीडाडाँ क्षेत्र भएर बर्खायाममा धौलागिरि हिमालको फेदी र रिग बुकी क्षेत्रमा भेडाबाख्रा तथा गाईभैंसीको घुम्ती गोठ लैजाने चलन रहेको छ । 

 

बर्खामा लेकतिर लैजाने घुम्तिगोठ हिउँदयाममा बेशीमा झार्ने गरिन्छ । स्थानीय कृषक बलबहादुर बिकले पुतलीडाँडा, चेमली, भाङ्गे हुँदै धौलागिरि आधार शिविर र मुस्ताङ पनि जान सकिने बताउनुभयो । दृष्यका साथै घोरल, नाउर, घोरललगायत जन्यजन्तुको पनि अवलोकन गर्न सकिने यो क्षेत्र बसन्तयाममा लालीगुराँस फुलेर रङ्गिन बन्ने गर्छ । 

 

पुतलीडाडाँदेखि धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, गुर्जा, सिस्ने, चुरेन हिमालको नजिकबाट अवलोकन गर्न सकिन्छ । गुर्जा र धौलागिरि हिमालको आधार शिविर तथा चुरेन हिमालको आइसफलको मनमोहक दृष्य थप आकर्षण हो । 

 

पुतलीडाडा पुग्न कठिन भएपनि त्यहाँ पुगेपछि दृष्य र शान्त वातावरणले समय बितेको पत्तै नहुने आन्तरिक पर्यटक भिम सापकोटाले अनुभव सुनाउनुभयो । अर्का आन्तरिक पर्यटक रुपक गिरिले म्याग्दीको धेरै पहाड, बस्ति र पृष्ठभूमिको अवलोकन गर्न पाउँदा उकालो यात्राको थकान भुलेको प्रतिक्रिया दिनुभयो । 

 

धवलागिरी गाउँपालिका–५ को वडा सचिवको जिम्मेवारी सम्हालेका सवइञ्जिनियर सुर्यप्रसाद पोखरेलले विस्तृत परियोजना प्रतिवेदन तयार पारेर क्रमागत रूपमा पूर्वाधार निर्माणका कामलाई अघि बढाउन आवश्यक रहेको बताउनुभयो । भेडाबाख्रा र मानिस मात्रै हिड्ने पदमार्गलाई स्तरोन्नति गर्नुका साथै विभिन्न ठाउँमा आश्रयस्थल र खानेपानीको सुविधा आवश्यक देखिएको उहाँले बताउनुभयो । 

 

बस्तिदेखि टाढा रहेको पुतलीडाडा जाने पाहुनाहरु मयालेमा रहेको गोठ स्टेमा बास बस्ने गर्छन् । मयालेका बलबहादुर रोकाले गोठमा पाहुनालाई खाने बस्ने ब्यवस्था मिलाउने गर्नुभएको छ । प्रचारप्रसारको अभावमा सुन्दर र रमणीय पुतलीडाडाँको सौन्दर्य स्थानीय स्तरमै सिमति रहेको रोकाको गुनासो छ । 

–––

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan