पञ्चकोटमा ठडिँदै १०८ फिट अग्लो विश्वशान्ति कलश
बागलुङ, ७ मङ्सिरः धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको बागलुङको पञ्चकोटमा १०८ फिट अग्लो विश्वशान्ति गण्डकी कलश निर्माणले गति लिएको छ ।
बजेट अभावका कारण लामो समय रोकिएको कलश निर्माण अहिले सङ्घीय सरकारको बहुवर्षीय योजनामार्फत अघि बढाइएको छ । बागलुङ नगरपालिका–६ स्थित सर्वसिद्धिधाम पञ्चकोटमा सङ्घीय सरकारको सहरी विकास तथा भवन निर्माण विभागमार्फत रु सात करोड लागतमा कलश निर्माण भइरहेको छ । तेह्र तलाको संरचना निर्माण गरिने कलशको अहिले तेस्रो तलाको ढलान तयारी भइरहेको छ ।
स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाको परिकल्पनामा पञ्चकोटलाई विश्वस्तरको धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले १२ वर्षअघि कलश निर्माणको शिलान्यास गरिएको थियो । विसं २०७१ मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालासहित विशिष्ट व्यक्तिको उपस्थितिमा शिलान्यास भए पनि बजेट अभावका कारण निर्माणले गति लिनसकेको थिएन । तर पञ्चकोटमा करोडौँका अन्य सहायक संरचना निर्माण भएर धार्मिक पर्यटकहरू भने तान्दै आएको छ ।
पञ्चकोट विकास परिषद्का अध्यक्ष जगन्नाथ आचार्यका अनुसार एक वर्षयता बहुवर्षीय योजनामार्फत रु सात करोड बजेटमा ठेक्कामार्फत कलश निर्माणले गति लिएको हो । आगामी दुई वर्षभित्र बाहिरी संरचनाको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
लिफ्टसहित १३ तलाको कङ्क्रिट संरचना निर्माण गरी बाहिरबाट १०८ फिट अग्लो देखिने कलश बनाउने गुरुयोजना छ । बाहिरी संरचना निर्माण ठेक्का प्रक्रियामार्फत सम्पन्न गरिनेछ भने कलशको स्वरूप र भित्री संरचना निर्माणका लागि दान तथा सहयोग जुटाउने योजना रहेको आचार्यले बताउनुभयो ।
कलश पूर्ण रूपमा निर्माण सम्पन्न गर्न रु ४५ करोडभन्दा बढी खर्च लाग्ने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा उल्लेख छ । सरकारी सहयोग, विभिन्न समयमा आयोजना गरिएका महायज्ञ र भक्तजनबाट प्राप्त दान तथा सहयोग जुटाएर निर्माण पूरा गर्ने लक्ष्य राखिएको छ ।
जलसम्पदाको संरक्षण र संवर्द्धनको सन्देश प्रवाह गर्ने उद्देश्यले निर्माण गर्न लागिएको विश्वशान्ति गण्डकी कलशलाई नदी तथा जलका विभिन्न स्वरूपको प्रतीकका रूपमा विकास गरिनेछ । गण्डकी सभ्यता र जल संरक्षणको महत्त्व उजागर गर्दै विश्वकै ठूलो र अग्लो कलश बनाउने लक्ष्य रहेको परिषद्ले जनाएको छ ।
कलश निर्माण सम्पन्न भएपछि पञ्चकोटको धार्मिक तथा पर्यटकीय आकर्षण थप बढ्ने र वैदिक सनातन धर्मावलम्बीका लागि आस्थाको महत्त्वपूर्ण केन्द्र बन्ने अपेक्षा गरिएको छ । यसले स्थानीय आर्थिक तथा सामाजिक विकासमा समेत योगदान पुर्याउने विश्वास गरिएको छ ।
पञ्चकोटमा अहिले दैनिक सयौँ पर्यटक अवलोकन तथा भ्रमणका लागि आउने गरेका छन् । स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाले पाँचकोटको सङ्गमस्थललाई आधार बनाएर पञ्चकोट धामको परिकल्पना गर्नुभएको थियो । त्यसपछि यहाँ विभिन्न धार्मिक तथा पर्यटकीय संरचना निर्माण हुँदै आएका छन् ।
हाल पञ्चकोटमा सुविधासम्पन्न तीनतले आवासीय भवन, गण्डकी माता मन्दिर, शिशमहल, पाँच हजार ५५५ किलोको महाघण्ट, हनुमान शिला, गरुड शिलालगायत संरचना निर्माण भइसकेका छन् । कलश निर्माणले पूर्णता पाएसँगै पञ्चकोट धार्मिक पर्यटनको थप आकर्षण बन्ने अपेक्षा गरिएको छ ।
–––
