नेपाल सनातन धर्म संस्कृति संगठनमा खराल र सुवेदी
काठमाडौं, ६ मंसिर । नेपाल सनातन धर्म संस्कृति संगठनको दोस्रो महाधिवेशन काठमाडौंमा सम्पन्न भएको छ ।
नयाँबानेश्वर थापागाउँमा स्थित काठमाडौं ब्याङ्क्वेटमा सम्पन्न भएको सो महाधिवेशनले संगठनको केन्द्रीय अध्यक्षमा कास्कीका शङ्कर खराल र महासचिवमा बाँकेका दीपक सुवेदीको साथमा तीस जना केन्द्रीय सदस्यहरूलाई सर्वसम्मतबाट निर्वाचित गरेको छ ।
महेश सन्यास आश्रम देवघाटका पीठाधीश रमणानन्द गिरीजी महाराजकोप्रमुख आतिथ्यता, डा।योगी चिन्तामणि, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायतको विशिष्ट आतिथ्यता रहेको महाधिवेशनमा देशका सबै जिल्लाबाट प्रतिनिधिहरूको सहभागिता रहेको आयोजकले बताएका छन् ।
७७ वटै जिल्लामा संगठन भएको धार्मिक संस्था नेपालमा सो नेपाल सनातन धर्म संस्कृति संगठन मात्रै रहेको दाबी आयोजक संगठनका निवर्तमान अध्यक्ष पुष्पराज पुरुषले बताए ।
दुई कार्यावधि आफूले अध्यक्षता गरेर यो महाधिवेशनबाट आफूले जिम्मेवारी हस्तान्तरण गर्न पाएकोमा आफूलाई गर्व लागेको अभिव्यक्तिसमेत पुरुषले दिए ।
नेपालमा धर्मराजनीति जरुरी रहेको जिकिर गर्दै आएका सो संगठनका संस्थापक अध्यक्षसमेत रहेका पुष्पराज पुरुषले धर्मका नाममा अराजनीति हुन थालेकोले देशको राजनीतिलाई धर्मनीति अनुसार अघि बढाउन जरुरी रहेको र सोको लागि धर्मराजनीति आवश्यक परेको धारणा राखे ।
नेपाल हिन्दु अधिराज्य हुनुपर्छ, अभिभावकीय संस्थाको रूपमा राजसंस्था रहनुपर्छ भन्ने मान्यता राख्ने सो संगठनलाई जानकारहरू राप्रपाको भातृ संगठनको रूपमा हेर्ने गर्छन् ।
कतिपयहरूको बुझाई र बहुमत उपस्थिति राप्रपाप्रति आस्था राख्नेहरूको रहेपनि सो महाधिवेशनमा कुनै पनि राजनीति पक्ष नलिई केवल धार्मिक अभिप्राय राखेर आउने प्रतिनिधिहरू पनि भेटिएका थिए ।
धर्मराजनीति एवं हिन्दु अधिराज्य र राजसंस्थाको पक्षमा आवाज उठाउँदै आएको सो संगठनमा विश्व हिन्दु महासंघको बरिष्ठ उपाध्यक्ष रहेका शङ्कर खराललेअध्यक्ष पदको जिम्मेवारी सम्हाल्नु र विभिन्न प्रतिष्ठित धार्मिक संघसंस्थाहरूमा महासचिवको जिम्मेवारी वहन गरिसकेका दीपक सुवेदी पुनः सो संगठनको महासचिवमा आउनुलाई आउँदा दिनमा धर्मराजनीति, हिन्दु अधिराज्य र राजसंस्था संस्थापनको मुद्दामा सो संगठनले थप भूमिका खेल्नसक्ने पर्यवेक्षकहरू बताउँछन् ।
महासचिवको प्रतिवेदन प्रस्तुत गर्दै महासचिव सुवेदीले हिन्दुत्त्वको परिभाषा सबैले बुझ्न नखोज्दा धर्मको बारेमा अन्यौलता आएको बताए ।
सनातन धर्म मान्ने ॐकार परिवारको साझा घर हिन्दु रहेको हुनाले हिन्दुत्त्वप्रति ॐकार परिवारका वैदिक, बौद्ध, शिख, जैन, किरातलगायत सबैले अपनत्व लिनुपर्ने उनको तर्क थियो ।
धर्मराजनीति, राष्ट्रधर्म, हिन्दुत्त्व, राष्ट्र-राष्ट्रियता, स्वाभिमान, देश र जनताको समृद्धिको लागि अवलम्बन गर्नुपर्ने मार्ग, धर्मसंस्कृतिले रक्षा गरेको देशको मौलिकता र नागरिकहरूको पहिचान जस्ताविषयमा वास्तविक तत्त्व बुझ्नबुझाउन विशेष खालको प्रशिक्षणको आवश्यकता रहेको र त्यसको लागि संगठनले भावी कार्ययोजना तर्जुमा गर्ने महासचिवको प्रतिवेदनको आशय थियो ।
महाधिवशेनस्थलमा सहभागिहरूले रक्तदान पनि गरेका थिए ।
