बाढी प्रभावित समुदायको अवस्था बुझ्न मन्त्री बादी रसुवामा
रसुवा, १० मङ्सिरः महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले भोटेकोशी बाढीबाट प्रभावित समुदायको अवस्था बुझ्न आज रसुवाको आमाछोदिङमो गाउँपालिकामा आउनुभएको छ ।
गाउँपालिकामा आयोजित विशेष कार्यक्रममा सहभागी हुँदै मन्त्री बादीले बाढीबाट महिला, बालबालिका तथा लैङ्गिक एवं यौनिक अल्पसङ्ख्यक समुदायमा परेको प्रभावबारे जानकारी लिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।
अनुगमनका क्रममा उहाँले बाढीपछिको अवस्था, प्रभावित समुदायका तत्कालीन आवश्यकता र उनीहरूले भोग्नुपरेका समस्याबारे स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला निकायसँग छलफल गर्नुभएको थियो ।
मन्त्री बादीले बाढी प्रभावित महिला, बालबालिका तथा लैङ्गिक एवं यौनिक अल्पसङ्ख्यक समुदायको संरक्षण, पुनःस्थापना र सामाजिक सुरक्षा सुनिश्चित गर्न आफ्नो तर्फबाट सक्दो सहयोग र पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
प्रभावित समुदायको तत्कालीन आवश्यकता सम्बोधन गर्नुका साथै दीर्घकालीन संरक्षण, पुनःस्थापना र सामाजिक सुरक्षाका लागि मन्त्रालयका विशेष कार्यक्रम तथा पहल आमाछोदिङमो गाउँपालिकाबाटै सुरु गरिने गाउँपालिका उपाध्यक्ष चण्डिका तामाङले बताउनुभयो ।
