Thursday 26th of November | २०८३ मङ्सिर १० बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राजु पाण्डेलाई मुद्दा लगाउने भूमिगत गिरोह कहाँ छ ? बालुवाटारमा मित्रता कि पुरानै षड्यन्त्रको पुनरावृत्ति ?

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १० बिहीबार |
newsabhiyan

पद फेरियो, सत्ता फेरियो, पात्र फेरिए; तर राजु पाण्डे र प्रदीप परिवारलाई दुःख दिने समूह अझै पर्दापछाडि सुरक्षित छ कि छैन? प्रधानमन्त्री बालेन शाहको सुरक्षा घेराभित्रै पुराना सञ्जालसँग सम्बन्ध गाँस्नेहरू छन् भने त्यसको खोजी कसले गर्ने ?

काठमाडौं, १० मंसिर । माननीय राजु पाण्डे कुलमान तामाङलाई हराएका व्यक्ति हुन् । उनीमाथि उठेका प्रश्नहरू कुनै सामान्य राजनीतिक मजाक मात्रै मान्न मिल्दैन् ।

 उनीमाथि विगतमा भएका भनिएका घटना, मुद्दा मामिला, आक्रमण र त्यससँग जोडिएका सम्भावित समूहहरूको पहिचान आज पनि उत्तिकै महत्त्वपूर्ण छ। 

तर प्रश्न उठ्छ– हिजो नगरपालिका तहमा रहँदा दुःख दिने, मुद्दा लगाउने र टाउको फुटाउनेसम्मका घटनामा संलग्न भनिएका समूहहरूको खोजी किन भएन? उनीहरू को थिए? कसको संरक्षणमा सक्रिय थिए? उनीहरूको राजनीतिक, आर्थिक र प्रशासनिक सम्बन्ध कहाँसम्म फैलिएको थियो?

आज परिस्थिति बदलिएको छ। हिजो स्थानीय तहमा सीमित रहेको शक्ति र पहुँच अहिले बालुवाटारसम्म पुगेको छ। सत्ता परिवर्तन भएको छ, नेतृत्व परिवर्तन भएको छ, प्रहरी संगठनको नेतृत्वसमेत फेरिएको छ।

 प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारसँग राज्यका सुरक्षा निकाय, अनुसन्धान संयन्त्र र प्रशासनिक शक्ति परिचालन गर्ने अधिकार छ। यस्तो अवस्थामा पुराना घटनाको निष्पक्ष अनुसन्धान गराउन नसक्नु वा त्यसप्रति चासो नदेखाउनु आफैँमा गम्भीर प्रश्न हो।

मुद्दा लगाउनेहरू को थिए, टाउको फुटाउनेहरू कहाँ छन् ?
राजु पाण्डे र प्रदीप परिवारलाई विगतमा दुःख दिएको भनिएका व्यक्तिहरूको पहिचान अहिलेसम्म किन हुन सकेन? उनीहरूविरुद्ध मुद्दा चलाउने आधार र त्यसका पछाडिका उद्देश्य के थिए?

कसले उजुरी तयार गर्योच, कसले त्यसलाई अघि बढायो र कसको प्रभावमा प्रहरी प्रशासन परिचालित भयो? यी प्रश्नको उत्तर खोज्नु कुनै व्यक्तिगत प्रतिशोध होइन, राज्यको अनुसन्धान प्रणालीमाथि उठेको प्रश्नको जवाफ खोज्नु हो।

कुनै व्यक्तिमाथि आक्रमण भएको छ भने त्यसको अनुसन्धान हुनुपर्छ। कसैले नियोजित रूपमा मुद्दामा फसाउन खोजेको हो भने त्यसको पनि छानबिन हुनुपर्छ। कानुनको शासन भनेको शक्तिशालीले चाहेको बेला कसैलाई मुद्दा लगाउने र सत्ता बदलिँदा पुराना फाइलहरू बन्द गरिदिने व्यवस्था होइन।

तर आजसम्म ती घटनाका वास्तविक योजनाकार, सहयोगी र सम्भावित संरक्षकहरू पहिचान भएका छन् कि छैनन्? भएका छैनन् भने किन छैनन्? अनुसन्धानका लागि आवश्यक प्रमाण, बयान, कागजात र प्रहरी प्रतिवेदन कहाँ छन्?

कसैले राजनीतिक पहुँचका आधारमा अनुसन्धान प्रभावित पारेको थियो भने त्यसको जिम्मेवारी कसले लिने? बालुवाटारमा पुगेपछि पुराना पीडा बिर्सन मिल्दैन। पद प्राप्त गर्नुको अर्थ विगतका घटनाप्रति मौन बस्ने छुट प्राप्त गर्नु पनि होइन।

बालुवाटारको घेराभित्र पुरानै सञ्जाल सक्रिय त छैन ?
अहिले प्रधानमन्त्री बालेन शाह वरिपरि विभिन्न राजनीतिक, प्रशासनिक र व्यक्तिगत स्वार्थ बोकेका मानिसहरूको पहुँच विस्तार भइरहेको चर्चा र आशंका सार्वजनिक वृत्तमा उठिरहेका छन्। हिजो विरोधी कित्तामा देखिएका कतिपय पात्र आज नजिकिएको देखिनु आफैँमा अनुसन्धानको विषय हुन सक्छ।

प्रधानमन्त्रीको निकटता पाउनु र प्रधानमन्त्रीको नीतिगत निर्णयमा प्रभाव पार्नु फरक कुरा हो। तर सत्ताको निकटतालाई व्यक्तिगत स्वार्थ पूरा गर्ने माध्यम बनाउने प्रवृत्ति पुरानै रोग हो।

हिजो एउटा सरकारलाई प्रयोग गर्नेहरू आज अर्को सरकारको ढोकामा पुगेका हुन सक्छन्। हिजो एउटा राजनीतिक नेतृत्वलाई घेराबन्दी गर्नेहरू आज नयाँ नेतृत्वको वरिपरि मित्रताको हात बढाइरहेका पनि हुन सक्छन्।

त्यसैले प्रश्न छ– बालुवाटारमा को को छन्? उनीहरूको विगत के हो? उनीहरूको व्यावसायिक, राजनीतिक र व्यक्तिगत सम्बन्ध कस्ता छन्? उनीहरू प्रधानमन्त्रीको सहयोगी हुन् कि प्रधानमन्त्रीको पहुँचलाई आफ्नो स्वार्थ पूरा गर्ने अवसरका रूपमा प्रयोग गरिरहेका छन्?

प्रधानमन्त्रीलाई घेराबन्दी गरेर आफ्नो स्वार्थ पूरा गर्नेहरूबाट जोगाउनु पनि सरकारकै जिम्मेवारी हो। नत्र बाहिरबाट विरोध गर्नेभन्दा भित्र बसेर निर्णय प्रभावित पार्ने समूह बढी खतरनाक हुन सक्छ।

हिजो राजु पाण्डे र प्रदीप परिवारलाई दुःख दिएको भनिएको समूह आज फेरि सक्रिय भएको हो भने त्यसको पहिचान हुनुपर्छ। प्रधानमन्त्री र उनका निकट सहयोगीलाई धम्की दिने वा आगो लगाउनेजस्ता अभिव्यक्ति र गतिविधि भएका छन् भने त्यसको पनि प्रमाणसहित अनुसन्धान हुनुपर्छ। यस्ता विषयलाई सामान्य राजनीतिक आरोप भनेर पन्छाउन मिल्दैन।

चोलेन्द्र शमशेर राणा प्रकरण र एउटै समूहको आशंका
अर्को गम्भीर प्रश्न चोलेन्द्र शमशेर राणासँग जोडिन्छ। राजु पाण्डे र प्रदीप परिवारलाई मुद्दामा तान्ने भनिएको समूह, चोलेन्द्र शमशेर राणालाई बालुवाटारविरुद्ध उभ्याउन खोज्ने समूह र सरकारलाई अस्थिर बनाउने गतिविधिमा संलग्न भनिएका पात्रहरूबीच कुनै सम्बन्ध छ कि छैन?

यी सबै एउटै समूह हुन् भन्ने निष्कर्ष अहिले नै निकाल्न मिल्दैन। तर सम्भावित सम्बन्धबारे अनुसन्धान गर्नुपर्ने आधार छन् भने राज्यका निकायले त्यसलाई बेवास्ता गर्न पनि मिल्दैन।

चोलेन्द्र शमशेर राणालाई कसले, किन र कुन उद्देश्यले प्रयोग गर्न खोजिरहेको छ भन्ने प्रश्नको जवाफ खोजिनुपर्छ। न्यायिक, राजनीतिक र प्रशासनिक क्षेत्रमा पहुँच भएका व्यक्तिहरूबीचको सम्बन्ध के हो?

कुनै मुद्दा, नियुक्ति वा राजनीतिक निर्णयलाई प्रभावित पार्न पर्दापछाडिबाट कसैले भूमिका खेलेको छ कि छैन? यस्ता प्रश्नको उत्तर अनुमानबाट होइन, प्रमाणबाट आउनुपर्छ।

त्यसैगरी चुनाव सार्ने, सत्ता समीकरण बदल्ने, बालुवाटारको पद आफ्नो नियन्त्रणमा लिने वा प्रधानमन्त्रीकै पदमा पुग्ने उद्देश्यले कुनै समूहले गतिविधि गरेको आशंका छ भने त्यसको तथ्यगत परीक्षण हुनुपर्छ।

राजनीतिक प्रतिस्पर्धा लोकतन्त्रको स्वाभाविक पक्ष हो, तर षड्यन्त्र, धम्की र राज्य संयन्त्रको दुरुपयोग लोकतान्त्रिक प्रतिस्पर्धा होइन।

शोभा पाठकको प्रकरणमा पनि न्यायको प्रश्न
राजु पाण्डे र प्रदीप परिवारको विषय उठाउँदा शोभा पाठकको प्रकरणलाई पनि अलग राखेर हेर्न मिल्दैन। शोभा पाठकले उठाएका विषय के हुन्? उनीसँग जोडिएको मुद्दामा के कस्ता कानुनी प्रक्रिया अघि बढे? कसले कुन तहमा हस्तक्षेप गर्योड? कुनै पक्षलाई अनुचित लाभ पुग्ने गरी मिलापत्र वा अन्य प्रक्रिया अघि बढाइएको हो भने त्यसमा को जिम्मेवार छ?

शोभा पाठकले न्याय पाउनुपर्छ। तर न्याय भनेको कुनै एक व्यक्तिको पक्षमा निर्णय हुनु मात्रै होइन। घटनाको निष्पक्ष अनुसन्धान, प्रमाणको मूल्यांकन र कानुनअनुसारको निर्णय हो।

कसले शोभा पाठकको केस मिलाइदियो भन्ने प्रश्न उठेको छ भने त्यसको पनि तथ्यगत परीक्षण हुनुपर्छ। कसैले अनुचित प्रभाव पारेको हो भने नाम र प्रमाणसहित सार्वजनिक हुनुपर्छ। कसैले कानुनी प्रक्रियाअनुसार सहयोग गरेको हो भने त्यसलाई षड्यन्त्रको संज्ञा दिन मिल्दैन।

न्यायको मापदण्ड व्यक्ति र पदअनुसार फरक हुन सक्दैन। राजु पाण्डे हुन् वा शोभा पाठक, प्रदीप परिवार होस् वा अन्य कुनै नागरिक, सबैले समान न्याय पाउनुपर्छ।

नयाँ आईजीपीको वास्तविक परीक्षा अब सुरु हुन्छ ?
नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुनु आफैँमा उपलब्धि होइन। नयाँ महानिरीक्षक नियुक्त हुनु, दर्ज्यानी चिह्न लगाउनु र पदबहाली गर्नु नियमित प्रशासनिक प्रक्रिया हो। वास्तविक उपलब्धि भनेको अपराध नियन्त्रण, अनुसन्धानको निष्पक्षता, राजनीतिक हस्तक्षेपबाट प्रहरीलाई मुक्त राख्नु र पीडितलाई न्याय दिलाउनु हो।

त्यसैले नयाँ आईजीपीले पुराना फाइल पल्टाउनुपर्छ। राजु पाण्डे र प्रदीप परिवारसँग सम्बन्धित घटनाहरूको कानुनी अवस्था के छ, उजुरी कहाँ पुगेका छन्, अनुसन्धान किन रोकिएको छ वा कसैले प्रभाव पारेको छ कि छैन भन्ने विषयमा अध्ययन हुनुपर्छ।

राजनीतिक दबाबमा कसैलाई पक्राउ गर्ने होइन, प्रमाणका आधारमा दोषी पहिचान गर्ने प्रहरी नेतृत्व चाहिएको हो। कसैको निर्देशनमा प्रतिशोध साँध्ने प्रहरी होइन, कानुनको सीमाभित्र रहेर निष्पक्ष अनुसन्धान गर्ने प्रहरी चाहिएको हो।

प्रधानमन्त्रीले नयाँ आईजीपीलाई स्पष्ट निर्देशन दिन सक्नुपर्छ– पुराना घटनाको निष्पक्ष अनुसन्धान गर, दोषी जो भए पनि कानुनी दायरामा ल्याऊ, निर्दोषलाई अनावश्यक दुःख नदेऊ।

अब परिणाम हेरौँ। कसले के काम गर्छ, कसले पुराना फाइल खोल्छ र कसले पर्दापछाडिका सम्भावित सञ्जालको वास्तविकता बाहिर ल्याउँछ? यही नै नयाँ प्रहरी नेतृत्वको परीक्षाको विषय बन्नुपर्छ।

पद पाउनु ठूलो कुरा होइन, परिणाम देखाउनु ठूलो कुरा हो ?
राजनीतिमा पद प्राप्त गर्नु, शक्तिशाली व्यक्तिसँग फोटो खिचाउनु, बालुवाटारमा पहुँच बनाउनु वा प्रधानमन्त्रीको निकटस्थ कहलिनु कुनै असाधारण उपलब्धि होइन। उपलब्धि त त्यसले जनतालाई दिएको परिणामबाट मापन हुन्छ।

कसैले आईजीपी पद पायो, कसैले मन्त्री पद पायो, कसैले सल्लाहकारको जिम्मेवारी पायो भन्दैमा राज्य सञ्चालन प्रभावकारी भयो भन्न मिल्दैन। इमानदारिता, कार्यक्षमता र जवाफदेहिता नै नेतृत्वको वास्तविक परिचय हो।

प्रधानमन्त्री बालेन शाहले पनि आफ्नो वरिपरिका मानिसहरूको विगत र वर्तमान गतिविधिको मूल्यांकन गर्नुपर्छ। प्रशंसा गर्ने सबै शुभचिन्तक हुँदैनन् र आलोचना गर्ने सबै शत्रु पनि हुँदैनन्। कहिलेकाहीँ सबैभन्दा ठूलो जोखिम बाहिरबाट होइन, भित्रैबाट आउँछ।

त्यसैले प्रधानमन्त्रीले आफ्नो नजिकका व्यक्तिहरूको पृष्ठभूमि, स्वार्थ र सम्बन्धबारे जानकारी लिनुपर्छ। सरकारको निर्णय प्रक्रियामा कसले प्रभाव पारिरहेको छ भन्ने विषयमा सचेत हुनुपर्छ। राज्यका महत्त्वपूर्ण पदमा नियुक्त व्यक्तिहरूको मूल्यांकन उनीहरूको निकटता होइन, काम र इमानदारिताका आधारमा गर्नुपर्छ।

सूचना नजिकैका मानिससँगै हुन्छ
कुनै पनि राजनीतिक वा आपराधिक सञ्जालको वास्तविकता पत्ता लगाउन सधैँ टाढा जानुपर्दैन। कतिपय सूचना घटनासँग प्रत्यक्ष जोडिएका व्यक्ति, प्रशासनिक तहमा काम गरेका कर्मचारी, प्रहरी अधिकारी, राजनीतिक सहयात्री र नजिकका सहयोगीहरूसँग हुन सक्छन्।

तर सूचना दिन्छन् भन्दैमा त्यसलाई प्रमाण मान्न मिल्दैन। सूचनाको स्रोतको विश्वसनीयता जाँच्नुपर्छ, त्यसलाई स्वतन्त्र रूपमा पुष्टि गर्नुपर्छ र अनुसन्धानको दायरामा ल्याउनुपर्छ।

राजु पाण्डे र प्रदीप परिवारलाई मुद्दा लगाउने भनिएको समूह को हो? त्यसका योजनाकार को थिए? चोलेन्द्र शमशेर राणासँग जोडिएका गतिविधिमा त्यही समूहको कुनै भूमिका छ कि छैन?

चुनाव सार्ने, बालुवाटारको शक्ति कब्जा गर्ने वा प्रधानमन्त्रीलाई हटाउने उद्देश्यले कुनै सञ्जाल सक्रिय थियो कि थिएन? यी सबै विषयको उत्तर खोज्ने जिम्मेवारी सरकार र अनुसन्धान निकायको हो।

हामीले रिपोर्ट दिने होइन, अनुसन्धान गर्नुपर्ने विषय औँल्याएका हौँ। कसैलाई दोषी घोषणा गर्ने अधिकार पत्रकारिता वा राजनीतिक टिप्पणीलाई छैन। तर प्रश्न उठाउने, प्रमाण खोज्न दबाब दिने र राज्यलाई जवाफदेही बनाउने जिम्मेवारी अवश्य छ।

बालेनलाई पनि समयमै सचेत हुन आवश्यक छ
बालेन शाहलाई धेरैले परिवर्तनको प्रतीकका रूपमा हेरेका छन्। पुरानो राजनीतिक संस्कार, पहुँचका आधारमा हुने नियुक्ति, प्रशासनिक मिलेमतो र दण्डहीनताको अन्त्य गर्ने अपेक्षा उनीसँग जोडिएको छ। तर नयाँ नेतृत्वले पुरानै प्रवृत्तिलाई संरक्षण गर्न थाल्यो भने परिवर्तनको नाराको अर्थ समाप्त हुन्छ।

धेरै नमात्तिनुहोस्। बालेन शाह भनेका बालेन हुन्, तर प्रधानमन्त्रीको पद कुनै व्यक्तिको निजी सुरक्षा कवच होइन। जनताको विश्वासबाट प्राप्त जिम्मेवारी हो। त्यो विश्वास जोगाउन आफ्ना नजिकका मानिसमाथि पनि प्रश्न उठाउन सक्ने साहस चाहिन्छ।

कसैले प्रधानमन्त्रीलाई पक्राउ गर्ने धम्की दिएको छ, राज्यविरुद्ध षड्यन्त्र गरेको छ वा हिंसात्मक गतिविधिको योजना बनाएको छ भन्ने सूचना छ भने त्यसलाई गम्भीरतापूर्वक लिनुपर्छ। तर त्यस्ता सूचना प्रमाणित नगरी कसैलाई अपराधी घोषणा गर्नु पनि हुँदैन। कानुनको शासनमा सबैका लागि एउटै मापदण्ड लागू हुनुपर्छ।

राजु पाण्डे र प्रदीप परिवारसँग जोडिएका पुराना घटनाको निष्पक्ष अनुसन्धान गराउनुहोस्। शोभा पाठकले उठाएका न्यायका प्रश्नको सम्बोधन गर्नुहोस्।

चोलेन्द्र शमशेर राणासँग जोडिएका राजनीतिक गतिविधिको तथ्यगत परीक्षण गर्नुहोस्। सरकारलाई अस्थिर बनाउने वा राज्य संयन्त्र कब्जा गर्ने कुनै सञ्जाल छ भने त्यसलाई प्रमाणका आधारमा सार्वजनिक गर्नुहोस्।

समयमै सचेत हुनुहोस्, पछुताउने अवस्था नआओस्
राजनीतिक इतिहासले एउटा कुरा बारम्बार सिकाएको छ– सत्ता सधैँ स्थायी हुँदैन। पद, उमेर, रूप, सम्पत्ति र शक्तिको प्रभाव पनि सधैँ रहँदैन। आज वरिपरि देखिने भीड भोलि नदेखिन सक्छ। आज मित्रता गाँस्नेहरू भोलि जिम्मेवारीबाट पन्छिन सक्छन्।

त्यसैले पदमा रहँदा नै सही र गलत छुट्याउने विवेक आवश्यक हुन्छ। आफ्नो वरिपरि रहेका व्यक्तिहरूको वास्तविकता बुझ्नुपर्छ। व्यक्तिगत स्वार्थलाई राष्ट्रिय स्वार्थको आवरणमा प्रस्तुत गर्ने प्रवृत्तिबाट जोगिनुपर्छ।

राज्यका जिम्मेवार व्यक्तिहरूले आपत्कालीन अवस्था आउँदा के गर्ने भन्ने तयारी राख्नु स्वाभाविक हो। तर झोला तयार पारेर सुत्नुपर्ने राजनीतिक चेतावनीभन्दा पनि जनताले खोजेको कुरा स्पष्ट छ– कानुनी शासन, पारदर्शिता, निष्पक्ष अनुसन्धान र जवाफदेही सरकार।

बंगलादेशको राजनीतिक घटनाक्रमलाई उदाहरण बनाएर कसैलाई त्रसित पार्नु उचित हुँदैन। तर जनताको असन्तुष्टि, सत्ताभित्रको स्वार्थको द्वन्द्व र संस्थागत कमजोरीलाई समयमै सम्बोधन नगरे राजनीतिक संकट गहिरिन सक्छ भन्ने पाठ भने बिर्सनु हुँदैन।

अन्ततः प्रश्न एउटै हो– राजु पाण्डे र प्रदीप परिवारलाई विगतमा दुःख दिने भनिएका समूहको वास्तविकता के हो? ती समूह अहिले कहाँ छन्? बालुवाटारसम्म उनीहरूको पहुँच छ कि छैन?

चोलेन्द्र शमशेर राणासँग जोडिएका गतिविधिमा उनीहरूको कुनै सम्बन्ध छ कि छैन? र प्रधानमन्त्री बालेन शाहलाई नै संकटमा पार्ने उद्देश्यले कुनै समूह सक्रिय छ कि छैन? यी प्रश्नको जवाफ भाषणले दिँदैन, अनुसन्धानले दिन्छ। आश्वासनले दिँदैन, परिणामले दिन्छ।

त्यसैले प्रधानमन्त्रीज्यू, नजिकका मानिसको प्रशंसामा मात्रै रमाउने होइन, उनीहरूको विगत पनि हेर्नुहोस्। नयाँ आईजीपीलाई निर्देशन दिनुहोस्, पुराना फाइल खोल्न लगाउनुहोस्।

कसैले अपराध गरेको छ भने कानुनी दायरामा ल्याउनुहोस्, कसैलाई षड्यन्त्रपूर्वक फसाइएको छ भने न्याय दिनुहोस्।

किनकि पद पाउनु ठूलो कुरा होइन, पदमा बसेर न्याय दिन सक्नु ठूलो कुरा हो। सत्ता चलाउनु ठूलो कुरा होइन, सत्ता चलाउँदा पनि इमानदार रहन सक्नु ठूलो कुरा हो।

बालुवाटारमा मित्रताको माला गाँस्नेहरूको अनुहार होइन, उनीहरूको वास्तविक चरित्र पहिचान गर्नुहोस्। नत्र परिवर्तनको नाममा पुरानै खेल दोहोरिन सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan