जनताको भरोसा अभिवृद्धि गर्ने गरी कार्यसम्पादन गर्नुपर्ने : महानिरीक्षक डा. मनोज कुमार केसी
काठमाडौं, ११ मंसिर : प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीले नागरिकमैत्री, नागरिकप्रति उत्तरदायी, पारदर्शी एवम् प्रभावकारी र छिटोछरितो सेवा प्रवाह गरी जनताको भरोसा अभिवृद्धि गर्ने गरी कार्यसम्पादन गर्न निर्देशन दिनुभएको छ ।
हालै सरूवा भई आ-आफ्नो कार्यक्षेत्रमा जान लाग्नु भएका प्रहरी उपरीक्षकहरूलाई शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनको क्रममा उपलब्धिपूर्ण एवम् उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै प्रहरी महानिरीक्षक केसीले उक्त निर्देशन दिनुभएको हो ।
प्रहरी महानिरीक्षक केसीले आ-आफ्नो क्षेत्रको सम्भावित सुरक्षा चुनौतीहरूको पहिचान तथा विश्लेषण गरी आवश्यकता अनुरूप सुरक्षा योजना एवम् रणनीति अवलम्बन गर्दै योजनाबद्ध तवरले प्रभावकारी प्रहरी परिचालन गर्नुपर्ने बताउनुभयो ।
साइबर अपराध, सीमा अपराध, तस्करी नियन्त्रण, हातहतियार बरामद, फरार प्रतिवादी पक्राउलाई प्राथमिकतामा राखि थप व्यावसायिक, अनुशासित, निष्ठावान एवम् इमानदार भई कार्यसम्पादन गर्नुपर्ने उहाँले बताउनुभयो ।
महिला बालबालिका,ज्येष्ठ नागरिक तथा अल्पसंख्यक प्रति थप संवेदनशील भई पीडितहरूको गुनासोको उचित सम्बोधन गरी प्रहरी कार्यालयबाट प्रवाह हुने सेवाहरूलाई थप सहज र सरल बनाउँदै लैजानुपर्नेमा उहाँले जोड दिनुभयो ।
प्रहरी महानिरीक्षक केसीले आधारभुत तहका प्रहरी कर्मचारीहरूको गुनासोलाई विशेष प्राथमिकतामा राखि उचित सम्बोधन गर्नुपर्ने उल्लेख गर्दै सामुहिक भावना एवम् नवीनतम सोचका साथ प्राप्त जिम्मेवारीलाई उत्कृष्ट रूपमा सम्पादन गर्न उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिनुभयो ।
साथै कार्यालय व्यवस्थापनलाई अझ उत्कृष्ट बनाउँदै लैजानुपर्ने उल्लेख गर्दै भिड नियन्त्रणमा बल प्रयोगको सिद्धान्तलाई अवलम्बन गरी थप संवेदनशील भई कार्य गर्नुपर्ने उहाँले बताउनुभयो ।
साथै उहाँले आ-आफ्नो क्षेत्रको शान्ति सुव्यवस्था प्रभावकारी बनाउन तथा अपराध नियन्त्रण गर्न स्थानीय तह एवम् अन्य सरोकारवाला निकायहरू सँग समन्वय र सहकार्य गरी कार्यसम्पादन गर्न समेत निर्देशन दिनुभयो ।
कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।
