Friday 27th of November | २०८३ मङ्सिर ११ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रधानमन्त्री कार्यालयबाट तिहार–छठयता १६ बुँदे कार्यसम्पादन, तल्लो अरुण परियोजनाको ठेक्का आह्वानदेखि ई–जीपी प्रणाली सञ्चालनसम्म

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ११ शुक्रबार |
newsabhiyan

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायले तिहार तथा छठ पर्वयता विभिन्न क्षेत्रमा महत्वपूर्ण कार्यसम्पादन गरेको जनाएको छ। प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार यस अवधिमा भारतसँगको उच्चस्तरीय कूटनीतिक सम्बन्ध विस्तारदेखि सुशासन, सार्वजनिक खरिद, लगानी प्रवर्द्धन, साइबर सुरक्षा तथा सरकारी सेवा प्रवाह सुधारसम्मका काम अघि बढाइएका छन्।

यस अवधिमा प्रधानमन्त्री शाहले मंसिर ६ र ७ गते मित्रराष्ट्र भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गर्नुभएको छ। भ्रमणका क्रममा दुई देशबीच उच्चस्तरीय भेटवार्ता हुनुका साथै विभिन्न महत्त्वपूर्ण सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

त्यस्तै, जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको पुनर्स्थापना, जीवनयापन र सामाजिक संरक्षणका लागि तयार गरिएको एकीकृत प्याकेज कार्यान्वयनको प्रगति समीक्षा गर्दै बाँकी काम शीघ्र सम्पन्न गर्न सम्बन्धित मन्त्रालय तथा निकायलाई निर्देशन दिइएको छ। नेपाल जेनजी परिषद् गठन तथा सञ्चालनसम्बन्धी आदेशको मस्यौदासमेत तयार गरी राय तथा परामर्शका लागि सम्बन्धित मन्त्रालयमा पठाइएको छ।

विपद् व्यवस्थापनतर्फ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १८ अर्ब ६२ करोड ८९ लाख ११ हजार ७४२ रुपैयाँ जम्मा भएको छ। उक्त रकममध्ये एक अर्ब रुपैयाँ विपद् व्यवस्थापन कोषमा निकासा गरिएको विवरणमा उल्लेख छ।

सङ्घ, प्रदेश र स्थानीय तहबाट सञ्चालन हुने वार्षिक योजना, बजेट तथा कार्यक्रमबीच नीतिगत सामञ्जस्यता कायम गर्न र दोहोरोपना हटाउन पछिल्ला तीन आर्थिक वर्षको तुलनात्मक अध्ययन गर्ने ढाँचा तयार गरिएको छ। राष्ट्रिय दूरसञ्चार नीति, २०८३ को मस्यौदामाथि विज्ञ तथा नीति प्रयोगशालाका पदाधिकारीबाट सुझाव लिएर परिमार्जन प्रक्रिया पनि अघि बढाइएको छ।

सरकारी निकायबाट सञ्चालन हुने सीपमूलक तालिमको गुणस्तर र प्रभावकारिता बढाउन तथा तीनै तहका सरकारका कार्यक्रमबीच दोहोरोपना हटाउन अध्ययन तथा सुझाव कार्यदल गठन गरिएको छ। नेपाललाई सूचना प्रविधि आउटसोर्सिङ र सफ्टवेयर विकासको आकर्षक गन्तव्य बनाउन विदेशी प्रविधि कम्पनीलाई द्रुतमार्गबाट स्वीकृति दिने विशेष लगानी सहजीकरण नीतिको तयारीसमेत भइरहेको छ।

साइबर सुरक्षाको क्षेत्रमा राष्ट्रिय साइबर सुरक्षा केन्द्रको आयोजनामा राष्ट्रिय संवेदनशील सूचना पूर्वाधारको पहिचान र संरक्षणसम्बन्धी कार्यशाला सम्पन्न भएको छ। कार्यशालामा विभिन्न नियामक तथा सुरक्षा निकायका प्रतिनिधिबीच साइबर सुरक्षा चुनौती र संरक्षणका विषयमा छलफल गरिएको थियो।

यसैगरी, सिंहदरबार प्रवेशद्वारमा लामो समयदेखि अवरुद्ध रहेको गेटपास प्रणाली आवश्यक प्राविधिक सुधारपछि पुनः सञ्चालनमा ल्याइएको छ।

ऊर्जा तथा पूर्वाधार विकासतर्फ लगानी सम्मेलन २०१९ मा प्रस्तुत गरिएको तल्लो अरुण जलविद्युत् परियोजना बीओओटी मोडलमा निर्माण गर्न विकासकर्ता छनोट गरिएको छ। नेपाल–भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीबाट संयुक्त रूपमा शिलान्यास गरिएको परियोजनाको पहिलो प्याकेजका लागि ११ अर्ब ४९ करोड २१ लाख भारतीय रुपैयाँको ठेक्का आह्वान गरिएको छ।

सार्वजनिक खरिदलाई पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यले निर्माण तथा परामर्श सेवा खरिदसम्बन्धी विषयमा २३ वटा सार्वजनिक निकायलाई आवश्यक राय तथा परामर्श प्रदान गरिएको छ। सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गरिएको छ।

त्यस्तै, सार्वजनिक खरिद प्रक्रियालाई व्यवस्थित बनाउन चारवटा मानक बोलपत्र तथा खरिदसम्बन्धी कागजात तयार गर्न परामर्शदातासँग सम्झौता गरी कार्यादेश दिइएको छ। नयाँ विद्युतीय सरकारी खरिद प्रणाली (ई–जीपी) समेत सञ्चालनमा ल्याइएको छ। उक्त प्रणालीमा कार्तिक महिनामा एक हजार ४५२ बोलपत्रदाता र ४९५ सार्वजनिक निकाय दर्ता भएका छन्।

सार्वजनिक निकायका प्राविधिक परीक्षण प्रतिवेदनमा औँल्याइएका बेरुजु तथा अनियमिततासम्बन्धी विषयको अनुगमन गर्न चितवन, मकवानपुर र सिन्धुलीमा प्राविधिक टोली परिचालन गरिएको छ। कर्मचारीको आचारसंहिता पालना, सेवा प्रवाह र सेवाग्राही सन्तुष्टिको अवस्था अनुगमन गर्न विभिन्न जिल्लामा टोली खटाउनुका साथै सदाचार शिक्षा तथा सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिएको छ।

नेपाल ट्रष्टको स्वामित्वमा रहेको सम्पत्तिको संरक्षण र व्यावसायिक सदुपयोगको सम्भावना अध्ययन गर्न धादिङको छत्रे देउरालीस्थित करिब १५ हजार रोपनी क्षेत्रमा अनुगमन गरिएको छ। उक्त सम्पत्तिको दिगो उपयोग सुनिश्चित गर्न लिजसम्बन्धी नियमावली तयार पार्न पाँच सदस्यीय समिति गठन गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार यी कार्यहरूले सुशासन, प्रशासनिक सुधार, सार्वजनिक सेवा प्रवाह, लगानी विस्तार र सरकारी सम्पत्तिको प्रभावकारी उपयोगलाई अघि बढाउने लक्ष्य राखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan