देउवा समूहमा सभापतिको दौड : विमलेन्द्र निधिको सक्रियता देउवा, शशांक र प्रकाशमानको साथ खोज्दै
काठमाडौं, १० मंसिर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पूर्वसभापति शेरबहादुर देउवा समूहबाट पार्टीको सभापति पदमा उम्मेदवारी दिने तयारी तीव्र बनाएका छन्।
मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा हुने देउवा पक्षको १५औँ महाधिवेशनलाई लक्षित गर्दै निधिले आफ्नो पक्षमा समर्थन जुटाउन शीर्ष नेताहरूसँग संवाद र आन्तरिक छलफल अघि बढाएका हुन्।
सभापतिमा उम्मेदवारी दिने आफ्नो तयारी बारे निधिले महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालालाई समेत जानकारी गराइसकेका छन्।
बुधबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा महाधिवेशन तयारी समितिको बैठक बस्नुअघि निधिले कोइरालासँग भेटवार्ता गरेका थिए। उक्त भेटमा उनले सभापति पदमा आफूलाई सहयोग र समर्थन गर्न आग्रह गरेको निधिनिकट एक नेताले बताएका छन्।
निधिले विगतको राजनीतिक सहकार्य स्मरण गराउँदै यसपटक आफूलाई नेतृत्वमा पुग्न सहयोग गर्न कोइरालासँग आग्रह गरेको बताइएको छ। १४औँ महाधिवेशनमा आफूले देउवासँग प्रतिस्पर्धा गरेको र त्यसअघि देउवालाई सभापति बनाउन आफूहरूले सहयोग गरेको प्रसंगसमेत उनले उठाएका थिए। तर, निधिको प्रस्तावमा कोइरालाले तत्काल कुनै स्पष्ट प्रतिक्रिया नदिएको उनीनिकट स्रोतको भनाइ छ।
निधिको रणनीति शशांक कोइरालाको समर्थनमा मात्रै सीमित छैन। उनले पूर्वसभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहको साथसमेत खोज्ने तयारी गरेका छन्। देउवा समूहभित्र आफ्नो उम्मेदवारीलाई स्वीकार्य बनाउँदै शीर्ष नेताहरूको साझा समर्थन जुटाउने उनको प्रयास देखिन्छ।
तर, देउवा समूहभित्र सभापति पदका आकांक्षी एक जना मात्रै छैनन्। महाधिवेशन तयारी समितिका संयोजक शशांक कोइराला स्वयं पनि सभापतिका आकांक्षी हुन्। त्यसैगरी पूर्वमहामन्त्री प्रकाशशरण महत र नेता एनपी साउदको नाम पनि सभापतिको सम्भावित उम्मेदवारका रूपमा चर्चामा छ। प्रकाशमान सिंहले भने अहिलेसम्म आफ्नो उम्मेदवारीबारे स्पष्ट धारणा सार्वजनिक गरेका छैनन्।
निधि, शशांक र प्रकाशमानबीच यसअघि पनि कांग्रेस नेतृत्वका लागि सहकार्य गर्ने विषयमा पटक–पटक छलफल हुँदै आएको थियो। १३औँ महाधिवेशनदेखि नै उनीहरूबीच एक जना साझा उम्मेदवार बनाएर अघि बढ्ने प्रयास भएको थियो। तर, १४औँ महाधिवेशनमा निधि र सिंह दुवैले सभापति पदमा उम्मेदवारी दिएका थिए। अहिले फेरि नेतृत्वको प्रतिस्पर्धामा उनीहरूबीच सहकार्य हुन्छ वा अलग-अलग बाटो रोज्छन् भन्ने चासो बढेको छ।
यता, देउवा समूहले महाधिवेशनका लागि आवश्यक समिति गठन तथा व्यवस्थापनको जिम्मेवारी शशांक कोइरालालाई दिएको छ। महाधिवेशन सम्पन्न गर्न १५ देखि २० वटासम्म समिति गठन गर्ने तयारी छ। मतदानका लागि विद्युतीय मेसिन प्रयोग गर्ने निर्णयसमेत गरिएको छ।
यसैबीच, कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन छ। निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार्यसमितिलाई अद्यावधिक गरिसकेको अवस्थामा देउवा समूहले छुट्टै महाधिवेशनको तयारी अघि बढाइरहेको छ।
त्यसैले निधिको उम्मेदवारी केवल सभापति पदमा प्रतिस्पर्धा गर्ने व्यक्तिगत तयारी मात्र नभई देउवा समूहभित्रको भावी नेतृत्व र शक्ति सन्तुलनसँग पनि जोडिएको छ। देउवाको अन्तिम रणनीति, शशांकको निर्णय र प्रकाशमानको भूमिकाले महाधिवेशनअघिको राजनीतिक समीकरणलाई थप स्पष्ट पार्नेछ।
