प्रेस स्वतन्त्रताको पक्षमा पत्रकार महासंघको आन्दोलन, मंसिर १३ देखि दलका कार्यालय घेराउदेखि देशव्यापी प्रदर्शनसम्म
काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र पत्रकारका अधिकार सुनिश्चित गर्न चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
महासंघले तय गरेको कार्यक्रमअनुसार मंसिर १३ गतेदेखि १८ गतेसम्म राजनीतिक दलका केन्द्रीय कार्यालयमा दैनिक एक घण्टा घेराउ गरिनेछ।
प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो १२ बजेसम्म घेराउ कार्यक्रम सञ्चालन हुनेछ। त्यसैगरी, मंसिर २० गते देशव्यापी विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ।
उक्त दिन पत्रकारहरूले कालो लुगा लगाउने, हातमा कालोपट्टी बाँध्ने र कालो मास्क लगाएर विरोध जनाउनेछन्।
काठमाडौंमा माइतीघर मण्डलामा प्रदर्शन गरिनेछ भने देशभरका जिल्ला सदरमुकाममा समेत एकैसाथ विरोध कार्यक्रम सञ्चालन गरिने महासंघले जनाएको छ।
प्रेस स्वतन्त्रतामाथि हुने हस्तक्षेप, पत्रकारमाथिको दबाब तथा सञ्चार क्षेत्रका अधिकार रक्षाका लागि आन्दोलनलाई देशव्यापी बनाउने महासंघको तयारी छ।
महासंघले पत्रकारिता क्षेत्रको स्वतन्त्रता, पेसागत सुरक्षा र नागरिकको सूचनाको हक संरक्षणका लागि सरोकारवाला पक्षलाई गम्भीर बन्नसमेत आग्रह गरेको छ।
चरणबद्ध आन्दोलनमार्फत राजनीतिक दल र राज्यका निकायलाई प्रेस स्वतन्त्रताको पक्षमा जिम्मेवार बनाउन महासंघले दबाब सिर्जना गर्न खोजेको छ।
