Saturday 28th of November | २०८३ मङ्सिर १२ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको फैलावट बढ्न सक्ने अध्ययनको निष्कर्ष

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १२ शनिबार | रासस/सिन्ह्वा

वैज्ञानिकहरूले उच्च तापक्रममा मलेरिया सार्ने लामखुट्टेको प्रजनन क्षमता बढाउन मद्दत गर्ने एउटा जीनको भिन्नता पत्ता लगाएका छन् । नयाँ अध्ययनअनुसार यो जीनको भिन्नताले भाले लामखुट्टेलाई गर्मीमा बढी प्रजनन गर्न सहयोग गर्छ भने पोथी लामखुट्टेलाई मलेरियाको परजीवीबाट संक्रमित हुने जोखिम बढाउँछ ।

चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गतको अनुसन्धान केन्द्रका वैज्ञानिकहरूले गरेको यो अध्ययन हालै ‘सेल’ नामक वैज्ञानिक जर्नलमा प्रकाशित भएको हो । यस अध्ययनले अफ्रिकामा मलेरिया सार्ने एक प्रकारको लामखुट्टे तीव्र गतिमा फैलिनुको कारण बुझ्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

मलेरिया संक्रमित पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो । यो विश्वका घातक संक्रामक रोगमध्ये एक मानिन्छ। अध्ययन गरिएको एनोफिलिज स्टेफेन्सी नामक लामखुट्टे अन्य मलेरिया सार्ने लामखुट्टेभन्दा फरक छ । यो ग्रामीण क्षेत्रमा मात्र नभई सहरमा पनि सजिलै बस्न र प्रजनन गर्न सक्छ । यसले घरमा राखिएका पानीका भाँडा, ट्याङ्की तथा अन्य पानी जम्ने ठाउँमा अण्डा पार्छ ।

यो लामखुट्टे सन् २०१२ मा अफ्रिकी देश जिबुटीमा पहिलोपटक भेटिएको थियो। त्यसपछि यो अफ्रिकाका विभिन्न देशमा फैलिएको छ । बढ्दो तापक्रम सहन सक्ने भएकाले जलवायु परिवर्तनसँगै यसको विस्तार अझ बढ्न सक्ने वैज्ञानिकहरूको चिन्ता छ ।

अनुसन्धानका क्रममा वैज्ञानिकहरूले लामखुट्टेको शरीरमा हुने ‘टाइमलेस’ नामक जीनमा प्राकृतिक परिवर्तन फेला पारेका छन् । यो जीनले शरीरको जैविक घडी अर्थात् सुत्ने, उठ्ने र दैनिक गतिविधिको समय नियन्त्रण गर्न मद्दत गर्छ ।

अध्ययनअनुसार उक्त जीनमा परिवर्तन भएका भाले लामखुट्टेले उच्च तापक्रममा सामान्य लामखुट्टेको तुलनामा ३.६ देखि ४.७ गुणासम्म बढी प्रजनन सफलता हासिल गरेका छन् । उनीहरू बढी सक्रिय भएर उड्न सक्छन् र पोथीलाई आकर्षित गर्ने रासायनिक पदार्थ पनि बढी उत्पादन गर्छन् ।

तर पोथी लामखुट्टेमा भने यसको असर फरक देखिएको छ । उक्त जीनमा परिवर्तन भएका पोथी लामखुट्टे मलेरिया परजीवीबाट सामान्य पोथीको तुलनामा बढी संक्रमित हुने अध्ययनले देखाएको छ। यसको कारण उनीहरूको रोगसँग लड्ने क्षमता कमजोर हुनु हो ।

अनुसन्धानकर्ता वाङ सिबाओका अनुसार अब लामखुट्टेको फैलावटसँगै त्यसमा हुने आनुवंशिक परिवर्तनको पनि निगरानी गर्न आवश्यक छ ।

उहाँले यस अध्ययनले जलवायु परिवर्तनले रोग फैलाउने लामखुट्टेको विकासमा कस्तो प्रभाव पार्छ भन्ने बुझ्न मद्दत गर्ने बताउनुभयो । साथै, यसले मलेरियाको जोखिम पहिचान गर्न र नियन्त्रणका कार्यक्रम प्रभावकारी बनाउन वैज्ञानिक आधार प्रदान गर्ने उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan